मूल खबर

यती एयर दुर्घटना: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति आशंका उब्जिने खतरा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर।
सन्तोष पोखरेल
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको १५ दिनमै त्यही विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार आन्तरिक हवाई उडानको सबैभन्दा ठुलो दुर्घटना भयो। ठुलो मानवीय क्षति हुने गरी भएको यो दुर्घटनाले अहिले मुलुक नै शोकमा छ। यती एयरलाइन्सको ९एन एएनसी कल साइनको एटिआर ७२–५०० सिरिजको विमान दुर्घटनामा मुलुकले ५७ जना नागरिक गुमायो भने १५ जना विदेशीको ज्यान गयो।

दुर्घटनाले दुई साताअघि (सन् २०२३ जनवरी १) मात्र सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलप्रति पनि प्रश्नचिह्न उठ्ने खतरा बढेको सरोकारवालाको चिन्ता छ। विमानस्थलका भौतिक पूर्वाधार बेलैमा निर्माण सम्पन्न भए पनि सञ्चालनका बेला गरिएको हतारोले नागरिकप्रति गुनासो थियो। वर्षाैंअघि गर्नुपर्ने काम पनि पूरा नगरी अन्तिममा हतारहतार गरिनुले सरकारी निकायप्रति नागरिकले प्रश्न उब्जाएका थिए। अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन अन्तर्राष्ट्रिय उडानबिना नै भएको भनेर सामाजिक सञ्जालमा सबैभन्दा बढी गुनासो पोखिएको थियो। अन्तर्राष्ट्रिय उडानका लागि गरिएको पहल नै प्रभावकारी हुन नसकेको र कतै यो विमानस्थलले नामको मात्र अन्तर्राष्ट्रिय मान्यता पाउने तर उडान सबै आन्तरिक मात्र हुने पो हो कि भनेर आलोचनासमेत भएको थियो।

त्यसबाहेक विमानस्थलको सुरक्षाप्रति पनि सरोकारवालाले बढी हेलचक्र्याइँ गरेको गुनासो थियो। सुरक्षाप्रति प्रश्न उठ्नुको कारण भने पोखरा महानगरपालिकाले विमानस्थलनजिकैको ल्यान्डफिल साइट व्यवस्थापनमा गरेको ढिलाइ थियो। किनकि ल्यान्डफिल साइटका कारण चरा आकर्षित हुने र त्यसले हवाई उडानमा जोखिम निम्तिन सक्ने सम्भावनाको चर्चा भएको थियो।

हुन त पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको पहिलो दिन नै बुद्ध एयरले पोखराबाट भारतको वनारससम्म डेमो उडान तयारी गरेको थियो। तर त्यो बेलादेखि अहिलेसम्म पनि भारतले उडान स्वीकृति दिएको छैन। जसले गर्दा अन्तर्राष्ट्रिय उडानको बाटो खुलेकै छैन। त्यसबाहेक नेपालको हवाई आकाश असुरक्षित ठहर गर्दै युरोपेली संघ (इयु)ले नेपाली विमानलाई लगाएको प्रतिबन्ध अझै हटिसकेको छैन।नागरिक दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button