मूल खबर

घिमिरेको पक्षमा बहुमत प्रतिस्पर्धामा न्यौपाने

ईश्वरी सुवेदी
काठमाडौँ
प्रतिनिधिसभाको सभामुखका लागि एमालेका सांसद देवराज घिमिरेको पक्षमा बहुमत सांसदको समर्थन देखिएको छ। प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा कुनै नाटकीय परिवर्तन भएबाहेक झापा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित घिमिरे सभामुखमा निर्वाचित हुनेछन्।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बुधबार सभामुख पदका लागि उम्मेदवारी दर्ता भएको छ। दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मको समयमा दुईजनाको उम्मेदवारी परेको हो। एमाले नेता र कार्यकर्ताको दलबलसहित घिमिरे उम्मेदवारी दर्ता गर्न पुगेका थिए। उनको उम्मेदवारीको प्रस्तावकमा एमाले उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका नेता रवि लामिछाने र राप्रपा संसदीय दलका नेता राजेन्द्रप्रसाद लिङ्देन छन्। घिमिरेविरुद्ध नेपाली कांग्रेसले पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका तर विपक्षी बेन्चमा बसेका दलहरूलाई समेटेर निर्धारित समय सकिनुभन्दा १० मिनेटअघि ईश्वरीदेवी न्यौपानेलाई सभामुखका लागि उभ्याएको छ। उनको प्रस्तावकमा कांग्रेसका विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला छन्।

प्रतिनिधिसभाका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुने व्यवस्था छ। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमत प्राप्त गर्न १३८ मत आवश्यक पर्छ। सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्य राप्रपाका पशुपतिशमशेर राणाले भोट हाल्न नपाउने भएकाले घिमिरेको पक्षमा १४४ सांसदको समर्थन देखिएको छ। प्रतिनिधिसभामा एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २० र राप्रपाका १४ सांसद छन्।

न्यौपानेलाई कांग्रेसका ८९ र नेकपा एकीकृत समाजवादीका १० सांसदको समर्थन छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले पनि न्यौपानेलाई समर्थन गर्ने संकेत गरेका छन्।

प्रनिनिधिसभामा लोसपाका ४ र जनमोर्चाका १ सांसद छन्। जनता समाजवादी पार्टीका १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीका ३, नेपाल मजदुर किसान पार्टीका १, आम जनता पार्टीका १, स्वतन्त्र ३ गरी २६ सांसद बुधबारसम्म कतै खुलेका छैनन्। सभामुखमा उम्मेदवारी दर्ता गराएका ६७ वर्षीय घिमिरे झापा अर्जुनधारा नगरपालिका–६ का स्थायी बासिन्दा हुन्। उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा २ बाट निर्वाचित भएका हुन्। उनी एमाले अध्यक्ष केपी ओलीनिकट मानिन्छन्।नागरिक दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button