
काठमाडौँ
प्रतिनिधिसभाले नयाँ सभामुख चयन गरेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। सत्ता गठबन्धनकोे प्रमुख घटक एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीले खडा गर्ने उम्मेदवार नै नयाँ राष्ट्रपति बन्ने दाबी गरेको छ। एमालेले उठाउने उम्मेदवारमै राष्ट्रिय सहमति बन्ने दाबी पार्टी अध्यक्ष केपी ओलीले गरेका छन्।
सभामुखको निर्वाचनपछि संसद् भवनबाट बाहिरिने क्रममा ओलीले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयनको सम्भावना नटरेको बताए। ‘राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउँछ,’ उनले भने, ‘त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ। त्यस्तो हुन सक्छ।’ तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस पनि नयाँ राष्ट्रपति आाफूअनुकूल बनाउने दाउमा छ। सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको समर्थनमा राष्ट्रपति निर्वाचन परिणाम आफ्नो पार्टीले उठाएका उम्मेदवारको पक्षमा पार्ने कांग्रेस रणनीति छ। सोही रणनीतिअनुसार पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको कांग्रेस निर्वाचनअघिको गठबन्धन ब्युँताउने प्रयासमा छ। कांग्रेस र माओवादी शीर्ष नेताहरूबीच राष्ट्रपति निर्वाचनमा मिलेर अघि बढ्ने र प्रधानमन्त्रीमा दाहाललाई कांग्रेसले विश्वासको मत दिने समझदारी बनेको निकटहरूको दाबी छ।
कांग्रेसले दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि एमाले अध्यक्ष ओलीसहितका नेताहरूले संशय व्यक्त गर्दै आएका छन्। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले एमाले आशंकालाई बल पुग्नेगरी आफू सहमतिमै राष्ट्रपति चयनको पक्षमा रहेको बताएका छन्।
प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयनमा निर्वाचन हुने भए पनि राष्ट्रपति र उपराष्ट्रपतिका लागि सहमतिको प्रयास भइरहेको बताउँदै दाहालले भने, ‘राष्ट्रपतिको निर्वाचनका लागि समय अझै बाँकी छ। छलफल भइरहेको छ। सत्ता साझेदार दल र मैले पनि एउटा समझदारी बनिदिए हुन्थ्यो भन्ने कोसिस हो। हामी प्रयास गरिरहेका छौं।’ एमालेको समर्थन लिएर प्रधानमन्त्री बन्ने क्रममा दाहालले सभामुख र प्रधानमन्त्री आलोपालो गर्ने र राष्ट्रपतिमा एमाले उम्मेदवारलाई समर्थन गर्ने समझदारी गरेका थिए।
तर कांग्रेससमेतले विश्वासको मत दिएपछि परिस्थिति फेरिएको बताउँदै आएका प्रधानमन्त्री दाहाल पार्टीभन्दा बाहिरका स्वतन्त्र व्यक्तिलाई राष्ट्रपतिमा अघि सार्ने रणनीतिमा छन्। त्यसमा कांग्रेस र एमाले दुवैलाई मनाउने दाहाल रणनीति छ। त्यसको पूर्वसंकेत पाएका एमाले उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपति निष्पक्ष हुनुपर्छ भन्ने नाममा दलभन्दा बाहिरबाट ल्याउने कुरा उपयुक्त नभएको बताएका छन्।नागरिक दैनिकमा खबर छ ।



