कला

‘बादशाह जुट’ ले राहत देला सुशीललाई ?

आकर्षक शरीर र लोभलाग्दो हाइटका कारण अभिनेता सुशील श्रेष्ठलाई दर्शकमाझ आफूलाई परिचित गराउन समय लागेन । सफल फिल्म ‘होस्टेल’ को दोस्रो श्रृंखलाबाट अभिनयमा डेब्यू गरेका उनको अहिलेसम्म तीन फिल्मले दर्शकसँग साक्षात्कार गरिसकेका छन् । डेब्यू फिल्म ‘होस्टेल रिर्टन्स’ बक्सअफिसमा सफल रह्यो । तर, दोस्रो फिल्म ‘सायद २’ र तेस्रो फिल्म ‘कारखाना’ लाई दर्शकले ‘रेड कार्ड’ देखाए । जसले उनको करिअरमा ठूलो धक्का पुग्यो ।

ब्याक टू ब्याक दुई फिल्मबाट असफलता भोग्दा उनी डिप्रेसनमा समेत गएका थिए । उनी, अब फिल्म नै नगर्ने मनस्थितिमा पनि नपुगेका होइनन् । तर, फिल्ममेकरको नजर उनीबाट हटेको थिएन । केही समय फिल्मबाट ब्रेक लिने सोचमा रहेको बेला उनलाई यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बादशाह जुट’ अफर भएको थियो । कथावस्तुले आकर्षित गरेपछि उनी यो फिल्म गर्न राजी भए । फिल्ममा उनी पत्रकारको भूमिकामा छन् ।

ब्रेकिङ न्यूज खोजिरहेको एक पत्रकार र पदले हवल्दार भए पनि आफूलाई ठूलो अफिसर ठान्ने एक प्रहरी जवानको वरिपरि फिल्म घुमेको छ । आफूलाई बादशाह सम्झने दुई पात्रको जीवनमा आउने उतारचढावमा फिल्म केन्द्रित छ । फिल्ममा सुशीलका अलावा आमिर गौतम, रोषी खड्का, केइषा राउत, रश्मी पाण्डे, रोबिन तामाङलगायतको अभिनय छ । थुप्रै बलिउड फिल्ममा सहायक निर्देशकको रुपमा काम गरेका जोनी सिंह राणाले यसको निर्देशन गरेका हुन् ।

अभिनेता सुशीललाई यो फिल्मप्रति निकै ठूलो आशा छ । ‘बादशाह जुट’ ले बक्सअफिसमा राम्रो व्यापार गर्न सफल भएको खण्डमा उनको डुब्न लागेको करिअरको नाउ किनारा लाग्नेछ । नभए, उनले फ्लप फिल्ममा ह्याट्रिक गर्नेछन् । यसकारण, यो फिल्मले उनको करिअरलाई कुन रुप दिने भन्नेमा ठूलो भूमिका खेल्नेछ । उनी, यस फिल्मले आफूलाई निराश नबनाउनेमा विश्वस्त छन् । सुशील आफ्नो भूमिका र अभिनय दर्शकलाई मनपर्नेमा पनि आशावादी देखिएका छन् ।

अभिषेक शशी कुमारको लेखन रहेको ‘बादशाह जुट’ मा कृष्ण भारद्धाज/कोशिश क्षेत्रीको संगीत, विक्रम स्वाँरको कोरियोग्राफी, राजकुमार उप्रेतीको एक्सन, राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन छ । हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठ यो फिल्मका लगानीकर्ता हुन् । एच एण्ड बी फिल्मको प्रस्तुतिमा तयार भएको फिल्मको निर्माणमा ग्राफिक्स फिल्मस् एण्ड इन्टरटेन्मेन्टले पनि सहकार्य गरेको छ । फिल्म कमेडी विषयवस्तुमा बनेको हो ।फिल्मीखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button