मूल खबर

नाराबाजी गर्ने विद्यार्थीलाई देउवाले अश्लील शब्दसहित मुख छाडे 

फोटो : सुनित डंगोल/फोटो पत्रकार

काठमाडौं : विधान मिचेर नेपाल विद्यार्थी संघमा ५० वर्ष पुगेका नेतालाई सभापति बनाउन खोजेको भन्दै विरोधामा उत्रेका विद्यार्थीहरूलाई गाली गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले मुख छाडेका छन्। पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएपछि पुगेका सभापति देउवाले विद्यार्थीहरूलाई गाली गर्दै मुख छाडेका हुन्। ‘मूलगेटमै बसेर नेविसंघलाई विधानअनुसार चलाउन मागसहित नारा लगाइरहेका थियौँ’, सहभागी एक विद्यार्थी नेताले भने, ‘गाडीबाट ओर्लिएपछि देउवा कार्यालयतर्फ छिर्दै गर्दा हामीतिर औँला उठाउँदै मुख छाड्नु भयो।’ सानेपामा कुन्दनराज काफ्ले समूहका विद्यार्थीहरू प्रदर्शनमा उत्रेका थिए। देउवाले नेविसंघमा ५० वर्षका राजीव ढुंगानालाई सभापति बनाउन खोजेपछि पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको अगुवाइमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए। ‘नाराबाजी गरिरहेका हामीतिर औँला ठड्याउँदै देउवाले अश्लील शब्दसमेत प्रयोग गरेर गाली गर्नुभयो’, ती विद्यार्थी नेताले भने, ‘त्यसपछि हामीले प्रतिरोध गर्दै पार्टी कार्यालय भित्रैसम्म नाराबाजी गर्दै गयौँ।’ कुन्दन काफ्ले समूहका विद्यार्थीहरूले देउवालाई घेरेर नाराबाजी गरेका थिए। उनीहरूले टीके प्रथा खारेज गर, हनुमान नेता चाहिँदैन, विधान मिच्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए। नाराबाजीमा सहभागीहरूले उमेर हदअनुसार ३२ वर्ष तलको नेतृत्व संगठनमा ल्याउनुपर्ने माग गरे। विद्यार्थीहरूले चर्का नाराबाजी गरेपछि देउवा आक्रोशित भएर गाली गर्दै पार्टी कार्यालय भित्र छिरेका थिए।

thahakhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button