कथा

जी एन शर्मा
टाउकोको गम्छा निकालेर छेउको बेन्च पुछ्यो , खल्तीबाट खैनीको डब्बा झिक्यो चुना मिसाएर मस्काउन थाल्यो । खैनी मस्काकै तालमा मुण्टो कोल्टे पारेर रामभरोसले फेरि प्रश्न ग¥यो ‘ अच्छा दाजु पत्रिकाले पनि लिखि सकेछ बादमा आद्मी पुलीसको पासमा छ लेकिन ताजुबको बात त यो छ कि उत्ना आद्मीको जलानेमा उसलाई फाँसी हुन्छ कि नाँई ? छेवैमा बसेका बिरे काकाले भने — फाँसीसाँसी केही पनि हुदैन हाम्रो देशमा त्यस्तो कानुननै छैन । कथमकाल भैहाल्यो भने अलिक दिन झ्यालखानमा बस्छ उस्तै परे केही पनि हुदैन , सानालाई लगाउने काकुन ठूलालाई लाग्दैन । रामभरोसले एक पल्ट मज्जाले खैनी पड्कायो फेरि मस्काउन थाल्यो , अहिले भने अलिक ठाडाकान लगाएर काका तिर फर्केर भन्यो ‘ साला, त्यो त आद्मी नामको शैतान हो, अरे काका मेरो जिम्मा दिन्छ त म के गर्छ उसको मलाईनै मालुम छैन , बहुत सालको बादमा फेला त परेको छ लेकिन काका भन्दैछ कि उसको कुछ नहुन पनि सक्छ , एक कुरा भन्नु काका शैतानको फाँसी चडानुमा के को दिक्कद छ ?’
टोपीले निधार सप्काउदै बिरे काकाले अल्छिअल्छि पारामा उत्तर दिए — के अकडो र छ यो रामभरोसे , ताल परे भोली फूलमाला गर्दै जयजयकार गर्न बेर छैन , के ठेगान छ दोषी हो की होइन नी ? प्रमाण चाहिन्छ अरे , ।
हत्केलाको खैनी मज्जाले पड्काउँदै तल्ला ओठमा आँटी न आँटी पारेर , तिख्खर पारामा रामभरोसले म तिर फर्केर भन्यो ‘ अरे दाजु , ओ सब आद्मीको भट्टामा गिराईलिएको देख्ने छ भन्छ, आफ्नो दामादको ससुरा बापु भन्दैछ कि आँखोदेखा, त कौनसा प्रमाणको बात गर्छ ?’
बिचमै बिरे काका बोले — कानुनका नौ सिङ्ग भनेको त्यही हो, तँ ,हामी भाको भए अस्ति पाता कस्थे, पार्टीका मान्छे भनेका पार्टीकै हुन् । यो कानुन तँ र म जस्तालाई चेप्न ल्याको हो ठूला बडालाई हो र ?
जिब्राका टुप्पाले खैनीलाई ठेलेर प्याच्च थुक्दै रामभरोसले फेरि जिज्ञासा राख्यो ‘ अच्छा काका तपाई एक बात भन्नुहोस त, चुनावको टाइममा नेता भन्थ्यो कि सब बराबर हो, कोही किसीके तकलिफ दिदैन जो दिन्छ उसको कारबाही हुन्छ फिर बात त पुर्ना सिस्टमवाला जस्तै छ , कथि लोकतन्त्र भन्छ साला काम कर्छ उ पुर्नावाला को सिस्टमको !’
रामभरोसको कुरामा सहि थप्दै बिरे काकाले भने— हेर , रामे ब्यबस्थाको नाम जे राखे पनि हुन्छ, तर कामचै राम्रो हुनु पर्ने हो, नाम राम्रो राखेर के गर्नु काम सबै पातकी र छेदकीको छ , तँ हामीले मुख दुखाउनु बेकार छ ।
रामभरोसले अलिक जोसीदै भन्यो ‘ साला, नारा जुलुषको टाइममा भन्छ कि जनता से उपर कोही छैन, भोटको टेममा भन्छ आप सभ हमारा भगवान जैसा है लेकिन कुर्सीमा जब मस्ति लिन्छ सबका सब भुलि लिन्छ ,अरे काका ! जिन्दा आद्मीको पकडकर भट्टामा डाली दिन्छ , उसको दिखने वाला आद्मी छ, उ बेचरा भन्छ हाम्रो दामादको भी डाली दियो, आर बहुत आद्मीको डाली दियो फिर कौन सा प्रमानको चाहियो ?’
राभरोसको आक्रोस मिश्रित जिज्ञासालाई काकाले निक्कै ध्यान दिएर सुने र संझाउदै भने — हेर , रामे यहाँको चलननै यस्तै हो, देख्नेका आँखा फुटे सुन्नेका सही भन्ने उखान त तराई मधेशमा पनि चल्तिमा छ नि त्यस्तै हुन्छ । लाटा,सिधा, निर्धा र निमुखा मनुख्खेका बोली दिने कोही पनि हुदैनन् । गरीबलाई त उस्तै परे आफैले पालेका गाईवस्तुले त हेप्छन् मान्छेको त कुरै छोडन् ।
रामभरोसले मुण्टो हल्लाउँदै काकाको कुरामा सहि थप्दै भन्यो ‘ बहुत समझमा आयो काका, साला एक नम्मर दो नम्मर प्रदेशउरदेश भन्छ अरे परदेशको बात बरु चाहिएन न्यायको काम करनु साला एक नम्मरको, बडिया काम कर्नु थोडी पाहाड मधेशको बात छ । सब नेपालमा छ सब नेपालीको बात हुन्छ , जुलुषको टेममा भन्छ साला हक अधिकारको बात कर्छ मराउँछ उ सालाहरु मर्छ झुपरपट्टिवाला छोट्का झण्डी ल्याके छोपी दिन्छ तकरबाद खेल खत्तम हो कि होइन काका ?’
बिरेकाका र रामभरोसको निक्कै राम्रो थलामारी गफ चलिरहेकोछ । वास्तवमा यो आम सोझा नेपालीको वर्तमानको राजनीतिक दृश्यमा देखेभोगेको मनोविज्ञान पनि हो । रामभरोसले जिब्रोलेनै खैनी निकाल्यो, अलि पर सरेर थुक्यो ,त्यही मेसोमा काकाले पनि हातको ईसाराले रामभरोसको खैनीको डिब्बा मागे । दुबै आआफ्ना तालमा खैनी मस्काउन थाले ।
काका पटि फर्केर रामभरोसले फेरि सोध्यो ‘ काका तपाई भनिलिनु त , यो उपरवाला नेता बड्का बड्का पाप करिलिन्छ लेकिन उसको कोनु कानुन सानुन पकड लिदैन , कथि कानुनमे वो सब लिखेको छ ?’
हत्केलाको खैनी औलाले मज्जाले च्यापेर ओठमा राख्दै काकाले भने— के को त्यस्तो हुनु , लेख्नका लागि त सबैलाई बराबर छ नि, तर यो कानुन लाग्दा ठूलालाई बेग्लै गरि लाग्छ सानालाई बेग्लै लाग्छ ।
रामभरोसले अलिक आक्रोसित भावमा भन्यो ‘ अब देखलिन्छ साला घुष, कामिसन आर जो भट्टावाला कान्डको जो छ हामी पनि देख लिन्छ कानुन कैसेकैसे पकडलिन्छ , साला जो पापीवाला छ उसको पावरसे छोडिलिन्छ त हाम सबको कथिसे पकड लिन्छ ’
काकाले यसैबीचमा थपे— हेनु मात्रै पर्छ रामे यहाँ रमिता धेरैखालका देख्न पाईन्छ, त्यो पन्त केटीको खै के भो त ? सुन भन्थे त्यो पनि सेलाएर गयो, हवाईजहाज भन्थे त्यो कता उडेर गयो, अर्को के जाती सरकारको जग्गानै के के भन्थे ।
हातको खैनी जोडले पड्काउँदै रामभरोसले भन्यो ‘ हँ त काका, रामदयालके बेटा धनिराम छ न, उ पनि भनिलिन्थ्यो वो केटीवाला कान्ड , अरे काका के भनिलिनु साला जिन्दा आद्मीको जलादिन्छ , बड्का बड्का कान्ड करलिनेको कोनो मतलबछैन , अरे काका यो उपरवाला नेता हाम्रो देश कसरी बडिया बनाउँछ ? गावँमे कोनो निमनवाला अस्पतालको बात तो दुरको छ एक छोट्का जाँचको चौकी छैन, निमनवाला रास्ता छैन साला भोटमे भन्छ यो कर्छु वो कर्छु जितकेबादमे ओक्राके न नाक हे ना मुख है हम सब साला बुढबक बनाके चल्छ ’
ओठमा जिब्राले खैनी ठेल्दै काकाले भने — यीनी तँ हाम्रा लागि माथि गका हुन् र ? यी सब आफ्नो दुनो सोझ्याउन गका हुन् । पोरपरार देखिनस हाम्रै गाउँमा पहाडे र मधेशे भनेर कत्रो ठूलो हुलदुङ्गा गराए धन्न हाम्रा गाउँमा केही भएन बेलैमा सबैको एकमतो भयो । त्यो बेला त्यो रामदयालको छोरो धनीरामले निक्कै राम्रो काम गरेथ्यो । केटो चतुरो रहेछ , बेलैमा मलाई आएर भन्यो — काका यो सब राजनीति हो, हामीलाई फुटाएर हाम्रा बीचमा लडाई गराएर कुर्सीमा बस्ने दाउ हो भनेथ्यो ।
रामभरोसले हौसिदै थप्यो ‘ हाँ काका , ओ टेमको बात छ न , साला दाजुभाई दाजुभाई दोनोको मारपिट कर्नको चाल थियो , तो हाम सबको समझमा आयो त कुछ भएन । भाषणमे तो ओ अथि सब बताको लेकिन काका आर भतिजको मारपिट कर्नेको कोही काम करिलिन्छ ? हम सब तो नेपालके सन्तानछे कथिके मधेशी आर पाहाडीको बात छ , ’
रामभरोसको कुरामा मुण्टो हल्लाउँदै काकाले थपे— नेता भन्नेको लहैमा हामी कुदनु हुदैन के रामे , यीनले त आफ्नो स्वार्थका लागि जे पनि गर्छन् भन्ने कुरा त पोरपरारको हुलदुङ्गाबाट सबैले थाहा पायौँ नि , तँ हामीले यीनको करामत हेर्नु पर्छ त्यति हो तर सोझा जनतालाई अहिले थाङ्नामा सुताएर क कसले कति पातकी काम गरेकाछन् पापको घैँटो फुटेका दिन सबै हिसाब किताब हुन्छ , पर्खनु चैँ पर्छ के ।
गम्छा टिप्दै रामभरोसले काकालाई सोध्यो ‘ अच्छा काका , यो पापवाला जो घैँटा छ ओ कब फुटिलिन्छ ?’
गम्भीर भावमा काकाले रामभरोसको अनुहारमा हेरेर भने — एक दिन यसरी फुट्छ जुन दिन पापी जतिलाई चिनेर चुनावमा यी सबैको जमानजफत जनता मिलेर गरिदिन्छन् । त्यो दिन फुट्छ राजनीतिलाई जाल ,झेल र कपटको खेल बनाएर सोझा नेपालीको रगत र आँशुमा टेकेर मोज गरेका कथित नेताहरुका पाईपाईको अपराध जनताले खुल्ला सडकमा गर्नेछन् त्यही दिन फुट्छ त्यो पापको घैँटो जुन दिन यीनीहरुले जता फर्के पनि आफ्नो अपराधको छायाँ बाहेक केही देख्दैनन् !
रामभरोस दङ्ग प¥यो एक पटक क्षितिजलाई नियाल्यो र भन्यो ‘ भोटके समयमा त सब लिच्चडको चखाईदिन्छु कि पत्तेपत्तेका हिसाबकिताबको तब मालुम पाउँछ !’ दुबै जना उठेर आ आफ्नोे बाटो लाग्छन् ।

