सृजनाको चौतारी

“मेरो पार्टी परित्याग”

कविता:
– देवेन्द्र किशोर ढुङगाना

म आज घोषणा गर्छु—
म मेरो पार्टी परित्याग गर्छु।
यो कुनै आवेगको क्षण होइन,
यो लामो मौनताको विस्फोट हो।

कहिल्यै विश्वासले रोपेको बिरुवा
आज आफ्नै छायाँले निलेको देख्दा,
मेरो आस्था चुप लागेन—
त्यसैले म छुट्टिन
बाध्य भएँ।

पार्टी,
तिमी कहिल्यै केवल संगठन थिएनौ,
तिमी सपना थियौ—
न्याय, समानता र परिवर्तन थियौ ।

तर समयसँगै
तिमीले आफ्नो
ऐना हरायौ,
सिद्धान्तलाई नारा बनायौ,
नारालाई व्यापार बनायौ।

निष्ठाको राजनीति
कागजका पानामा सीमित भयो,
आन्दोलनका गीतहरू
मञ्चका औपचारिक धुन बन्यो ।

जनताको पीडा
तिमीलाई अब आँकडामा मात्र देखिन्छ,
समाजको स्वर
तिमीले कागजमा थुन्न सिक्यौ।

राष्ट्रको सेवा?
त्यो त अब भाषणको शीर्षक मात्र रह्यो,
व्यवहारमा त
सत्ता र स्वार्थको खेल चलिरह्यो।

नेतृत्व—
जसलाई हामीले मार्गदर्शक ठान्यौं,
उहीहरू बाटो बिराए,
आदर्शको नाममा
आफ्नै खल्ती भरयौ।

हामी युवाहरू,
हामीले सपना देख्यौं—
एक न्यायपूर्ण भोलिको,
तर तिमीले त्यो सपनामाथि
कुठाराघात गर्यौ।

हाम्रो ऊर्जा
तिमीले प्रयोग गर्यौ,
हाम्रो आवाज
तिमीले दबायौ,
हाम्रो भविष्य
तिमीले सम्झौतामा बेच्यौ।

हामी जेन–जी,
हामी केवल अनुयायी होइनौं,
हामी प्रश्न हौं—
र प्रश्न कहिल्यै चुप लाग्दैन।

हामी डिजिटल स्क्रिनबाट
सत्य खोज्छौं,
हामी ट्रेन्डभन्दा
सत्यलाई अगाडि राख्छौं।

हामीलाई थाहा छ—
नयाँ युगमा पुराना झूठहरू टिक्दैनन्,
हामीलाई थाहा छ—
क्रान्ति अब केवल सडकमा होइन,
विचारमा पनि हुन्छ।

त्यसैले आज
म पार्टी होइन,
पुरानो सोच परित्याग गर्दैछु।

म त्यो संरचना छोड्दैछु
जहाँ प्रश्न अपराध हुन्छ,
जहाँ आलोचना विद्रोह ठानिन्छ,
जहाँ सत्य असहज हुन्छ।

म मेरो यात्रा
फेरि सुरु गर्दैछु—
जनताको बीचबाट,
समाजको
धड्कनसँगै छु ।

म त्यो बाटो रोज्दैछु
जहाँ सेवा केवल शब्द होइन,
व्यवहार हुन्छ,
जहाँ नेतृत्व पद होइन,
जिम्मेवारी हुन्छ।

यो परित्याग
पलायन होइन,
यो पुनर्जन्म हो—
एक सचेत नागरिकको
अदम्य संघर्ष हो ।

म पार्टी छोड्दैछु,
तर मेरो विचार जिउँदै छ,
मेरो प्रतिबद्धता अडिग छ,
मेरो आवाज
अझै बलियो छ।

किनकि
साँचो राजनीति
कुनै झण्डामा
सीमित हुँदैन,
त्यो त हरेक
सचेत मनमा बाँच्छ।

र अन्त्यमा—
म फेरि भन्छु,
म मेरो पार्टी
परित्याग गर्दैछु ,
तर देश होइन,
जनता होइन,
सपना होइन।

म परित्याग गर्छु
भ्रष्ट संरचना,
म अँगाल्छु
नयाँ चेतना।

किनकि
क्रान्ति अब सुरु भएको छ
हाम्रो सोचमा,
हाम्रो स्वरमा,
र हाम्रो साहसमा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button