मूल खबर

सहमतिको खाका आज आउन सक्ने

गोरखापत्र अनलाइन

काठमाडौँ । राष्ट्रपति पदका लागि उम्मेदवारी मनोनयन दर्ताको समय तीन दिन बाँकी रहँदा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सक्रियता तीव्र भएको छ । राष्ट्रपति निर्वाचनकै सन्दर्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न चरणमा संसद्का मुख्य दलहरूसँग छलफल भइरहेको छ । आज (बुधबार) चार दलबीच धेरै विषयमा कुरा भयो । पार्टी–पार्टीबीच कुरा भएको छ। दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ ।”

प्रधानमन्त्री प्रचण्डसँगको भेटअघि कांग्रेस सभापति देउवाले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरू र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग राष्ट्रपति निर्वाचनकेन्द्रित छलफल गर्नुभएको थियो ।

छलफलमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालले कांग्रेससँगको बैठकमा संविधान र लोकतन्त्रको रक्षार्थ उभिएका शक्ति एक ठाउँमा उभिएर राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्र पक्षधर शक्तिबीच हुँदै आएको सहकार्यलाई निरन्तरता दिने विषयमै छलफल भएको छ । यो राष्ट्रपति निर्वाचनसँग पनि जोडिएको छ । राष्ट्रपतिको आवश्यकता पनि यसैका निम्ति हो भन्ने दुवै दलको निष्कर्ष छ ।”

सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो तर्फबाट उम्मेदवार नउठाए पनि राष्ट्रिय सहमतिका आधारमा ‘सर्वस्वीकार्य व्यक्ति’को खोजी गरिरहेको छ । माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रिय सहमतिकै आधारमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने निष्कर्ष निकालेको छ।

पार्टी–पार्टीबीच कुरा भएको छ । दलहरूको धारणा लिने काम भयो । अब फेरि सबै एकै ठाउँमा बसेपछि सहमतिको खाका तयार हुन्छ ।
संसद्को पहिलो दल नेपाली कांग्रेसले प्रतिपक्षी दलहरूसँग छलफल चलाइरहेको छ । राष्ट्रपति पदमा आफ्नै पार्टीका उम्मेदवारलाई जिताउने रणनीतिका साथ कांग्रेसले छलफल अघि बढाएको छ ।

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सरकार गठनका क्रममा पुस १० गते भएको समझदारीअनुसार राष्ट्रपति पद आफूले पाउनुपर्ने अडान दिइरहेको छ ।

प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल

प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति पदको निर्वाचनका सन्दर्भमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राष्ट्रपतिको निर्वाचनमा कसरी जाने भन्ने विषयमा कुराकानी भएको छ । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राष्ट्रपति निर्वाचनको सन्दर्भमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल भइरहेको बताउनुभयो ।

उहाँले उम्मेदवार कसलाई बनाउने, राष्ट्रिय सहमति कायम गर्ने विषयमा छलफल कसरी अघि बढाउने भन्ने सन्दर्भमा छलफल भए पनि निष्कर्ष आइनसकेको बताउनुभयो ।

एमाले नेता देवेन्द्र दाहालले प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपतिको उम्मेदवारका सन्दर्भमा छलफल भएको बताउनुभयो । उहाँले सहमतिका साथ अघि बढ्ने गरी छलफल अघि बढिरहेको बताउनुभयो ।

बुधबारको बैठकमा प्रधानमन्त्री प्रचण्डसमक्ष एमाले अध्यक्ष ओलीले एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति पदको उम्मेदवार बनाउन प्रस्ताव गर्नुभएको हो ? भन्ने प्रश्नमा नेता दाहालले भन्नुभयो, “प्रधानमन्त्रीज्यू र अध्यक्षज्यूबीच विभिन्न चरणमा, विभिन्न व्यक्तिको विषयमा छलफल भइरहेको छ । हाम्रो अध्यक्षको प्रस्ट धारणा ‘एमालेले प्रस्ताव गरेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ’ भन्ने छ ।”

कांग्रेस छलफलमा

माओवादी केन्द्रलाई राष्ट्रपति निर्वाचनमा सहयोग मागेको कांग्रेसले बुधबार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतासँग छलफल गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको छलफलमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापासहित केन्द्रीय नेताहरू सहभागी हुनुहुन्थ्यो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल र नेता घनश्याम भुसाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा सहभागी हुनुहुन्थ्यो ।

यसैबीच एकीकृत समाजवादीले राष्ट्रपति निर्वाचनको विषयमा सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपति निर्वाचनको सन्दर्भमा संविधान, लोकतन्त्र र राष्ट्रियताका पक्षधर सबैसँग संवादमार्फत अघि बढ्ने निर्णय गरेको हो । महासचिव डा. भुसालले भन्नुभयो, “हामीले को उम्मेदवार बन्ने वा कसलाई सहयोग गर्ने भन्ने विषयमा छलफल गरेनौँ तर परिवर्तन पक्षधरसँग संवाद गरेर राष्ट्रपति सहमतिमा राष्ट्रपतिको निर्वाचनमा जानुपर्ने हाम्रो निष्कर्ष हो ।”

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button