खबर

माओवादीको गतिविधिमा कमी

लक्ष्मण दर्नाल
काठमाडौँ । सङ्घ र प्रदेशको निर्वाचनलगत्तै सङ्गठन सुदृढीकरण र परिचालनमा सक्रियता देखाएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को दलगत आन्तरिक गतिविधि सुस्ताएको छ।

सङ्घ र प्रदेशको निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्न छानबिन समितिले प्रतिवेदन बुझाए पनि कार्यान्वयन भने भएको छैन। दुईमहिने सङ्गठन सुदृढीकरण अभियानमा केन्द्रीय नेताहरू गाउँ जाने भनिए पनि त्योसमेत प्रभावकारी हुन सकेको छैन। विभिन्न कम्युनिस्ट पार्टीहरूसँग एकता र कार्यगत एकता गर्न गठित वार्ताटोलीको नतिजा पनि खासै देखिएको छैन।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएपछि त्यसको असर पार्टी गतिविधिमा देखिएको हो।

असार १३ गते बसेको स्थायी समिति बैठकले पार्टी अनुशासन आयोगका अध्यक्ष टङ्क राईको संयोजकत्वमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेको तीन सदस्यीय समिति गठन गरी निर्वाचनमा अन्तर्घात गर्नेहरूको छानबिन गर्न कार्यादेश दिएको थियो। समितिले गत भदौ ६ गते नै अध्यक्ष ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएको थियो तर हालसम्म उक्त प्रतिवेदन सार्वजनिक भएको छैन।

संयोजक राईले केही काम भने भएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “प्रतिवेदनको गाइडलाइनलाई फलो गरिएको छ। प्रवृत्तिगत कमजोरीलाई हामीले औँल्याएका थियौँ।

त्यसो नगर्न पार्टीले परिपत्र गरिरहेको छ। दुईमहिने अभियानको प्रतिवेदन आएपछि थप प्रभावकारी काम हुन्छ।”

सङ्घको निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको भन्दै माओवादी केन्द्रले माघ २२ गते दुईमहिने सङ्गठन सुदृढीकरण अभियान थाल्ने निर्णय गरेको थियो। पार्टीका पदाधिकारी र केन्द्रीय नेताहरू जनता र कार्यकर्ताको घरघरमा पुग्ने योजनासहित बनाएको सो अभियान प्रभावकारी रूपमा सञ्चालन हुन सकिरहेको छैन तर महासचिव देव गुरुङले भने अभियान प्रभावकारी रूपमै चलिरहेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, “दुईमहिने अभियान पार्टीको वैचारिक आन्तरिक अभियान हो। पार्टी च्यानलमा चलिरहेको छ। अभियानबाट साङ्गठनिक अवस्थाको यथार्थ स्थिति आउनेछ। सबै जिल्लाको प्रतिवेदन आउनेछ र त्यहीअनुसार केन्द्रले नीति र अभियान बनाउनेछ।”

पुस २३ गतेको पदाधिकारी बैठकले वाम एकता गर्न उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ताटोली गठन गरेको थियो। विचार र सिद्धान्त मिल्ने कम्युनिस्ट पार्टीहरूसँग एकता गर्न गठित वार्ताटोलीले पनि अझै परिणाम दिन सकेको छैन। महासचिव गुरुङले भन्नुभयो, “विभिन्न पार्टीसँग कुराकानी र वार्ता भइरहेकै छ तर देखिने गरी प्रगति भएको छैन।”

विशेषगरी डा. बाबुराम भट्टराईको नेतृत्वको नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी (माओवादी), माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आमजनता पार्टीलगायतसँग मोर्चाबन्दी वा एकता गर्न वार्ताटोली बनाइएको हो।

माओवादीका सक्रिय सदस्य सङ्ख्या आठ लाख छन्। पार्टीको प्रदेश र जिल्ला समितिलाई सक्रिय बनाउन, जनस्तरबाट सुझाव लिने र केन्द्रीय नीति स्थानीय तहसम्म लैजान दुईमहिने अभियान थालिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button