कृषि र किसानमूल खबर

तयार हुँदै चिया परीक्षण केन्द्र

गोरखापत्र अनलाइन
कोकिला ढकाल

इलाम। नेपाली चियाका लागि अहिले चिया परीक्षण तथा प्रवद्र्धन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सूर्योदय नगरपालिकास्थित कन्याममा निर्माण भइरहेको केन्द्रको निर्माण हालसम्म ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

प्रदेश सरकारको ८० प्रतिशत र सूर्योदय नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण भइरहेको केन्द्र सञ्चालनमा आएपछि नेपाली चियालाई बजारीकरणका ठूलो सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

कुल १५ करोड २३ लाख रुपियाँको लगानीमा निर्माण भइरहेको केन्द्रको अहिलेसम्म पाँचवटा ‘ब्लक’को निर्माण भएको र हाल आन्तरिक व्यवस्थापन तथा फिनिसिङको काम भइरहेको भवन निर्माण आयोजनाका इन्जिनियर दिपेश आचार्यले जानकारी दिनुभयो । “म्युजियम, क्यान्टिन, कप टेस्टिङ, सेमिनार हल र प्रयोगशालाको निर्माण गरिएको छ,” आचार्यले भन्नुभयो, “असार मसान्तसम्ममा भवनका सबै काम सकिने छ ।” भवन निर्माणपछि प्रयोगशालाका सामग्री, मेसिनहरू र अन्य आवश्यकीय व्यवस्थापन गर्ने उहाँले बताउनुभयो ।

विसं १९२० मा इलामबाट सुरु गरिएको नेपाली चियाको उत्पादनको इतिहासमा पहिलो पटक चियाको गुणस्तर परीक्षणका लागि निर्माण थालिएको केन्द्रलाई निकै महìवका साथ हेरिएको सूर्योदय नगरपालिका प्रमुख रनबहादुर राई बताउनुहुन्छ ।

केन्द्र सञ्चालनमा आएपछि नेपाली चियाको गुणस्तर मापन, परीक्षण र अन्तर्राष्ट्रिय बजारीकरणका लागि सहयोग पुग्ने राईको भनाइ छ । “केन्द्र स्थापनापछि परीक्षणका लागि मान्यता प्राप्त निकायबाट स्वीकृति लिएर नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा पठाउन सहज बनाउने लक्ष्य छ,” उहाँले भन्नुभयो, “नेपाली अर्थोडक्स चियाका सबै उत्पादनको परीक्षण हुनेछ, अर्थोडक्स चियाको टेस्टिङका विदेशी खरिदकर्तालाई यहीँ बोलाएर अन्तर्राष्ट्रिय बजारमा चिया पठाउन सहज बनाइने छ ।”

राईले धेरै उद्योगहरूले उत्पादन गरेको तयारी चियाको स्टल यहीँ राखेर प्रचार–प्रसार तथा बजारीकरण गर्ने लक्ष्य रहेको बताउनुभयो ।

नेपाल चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले चियाका लागि सरकारी प्रयासलाई थप बलियो बनाउन सक्दा विश्व बजारमा नेपाली चियालाई एक नम्बरको गुणस्तरमा राख्न सकिने दाबी गर्नुभयो । “चियाका लागि इमानदारिता, अनुसन्धान र गुणस्तर भयो भने विश्व बजारमा नेपाली चिया एक नम्बरका पु-याउन सकिन्छ,” डा. भट्टराईले भन्नुभयो, “केन्द्रको निर्माणले चिया किसानको भाग्य र भविष्य निर्धारण गर्नेछ ।”

यसअघि नेपालमा उत्पादित चियाको स्वदेशमै विषादी तथा गुणस्तर परीक्षण गर्न नसक्दा लाखौँ रुपियाँ खर्च गरेर विदेशमा परीक्षणका लागि पठाउनुपर्ने बाध्यता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button