
राजकरण महतो
काठमाडौंको शान्तिवाटिकास्थित खुला आकाशमा रात काट्न बाध्य आन्दोलनरत मिटरब्याजपीडित । बेमौसमी वर्षाले उनीहरूलाई खान, बस्न निकै सकस भइरहेको छ ।
‘जति दुःख हुन्छ होस्। हाम्रो माग पूरा नभएसम्म घर जाँदैनौं’
काठमाडौं : मिटरब्याजपीडित कोही खुला आकाशमा त कोही रूखको फेदमुनि रात काटिरहेका छन्। पानी पर्न थालेपछि उनीहरूलाई खुला आकाशमा रात कटाउन निकै सास्ती छ। नवलपरासीको सुस्ताका मिटरब्याजपीडित ६४ वर्षीय रामसुभक मुसहरलाई काठमाडौंको चिसोले सताउन थालेको छ। दुई रात चिसो भुइँमा सुत्नुपर्दा रुघाखोकी लागेको बताए। ‘बर्षातको समय छ। झरी पर्छ बस्न र खान समस्या भइरहेको छ’, उनले भने, ‘हामी पटक–पटक आन्दोलन गर्न गाउँबाट काठमाडौं आउँछौं। सरकारले सुनवाइ नै गर्दैन। आश्वासन मात्रै दिन्छ।’
सरकारले आफूहरूसँग सम्झौता गरेर ठग्ने गरेको उनले सुनाए। ‘हामीसँग असोज १ गतेको सम्झौता कार्यान्वयन हुन्छ भन्दै कुर्दा–कुर्दा ६÷७ महिना बित्यो। अनि बाध्य भएर फेरि आन्दोलन गर्न काठमाडौं आएका हौं’, उनले भने। छिन्छिन्मा हुने बर्षातले उनीहरूलाई बास बस्ने निकै कठीन हो। उनीहरू शान्तिवाटिकामा बास बसिरहेका छन्। न्यानो कोठाको अभावमा रूखको फेदमुनि सुतेर रात काटिरहेका छन् त कोही भिजेरै मिटरब्याज साहुविरुद्ध अनिदो संघर्षमा छन्। सोमबार तराईका २० जिल्लाबाट न्यायका लागि उनीहरू काठमाडौं आएका थिए।
nullछिन्छिन्मा हुने बर्षाले खाना पकाएर खान र राति सुत्न निकै समस्या भइरहेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सघर्ष समितिका संयोजक अवधेश कुशवाहाले जनाए। उनका अनुसार खाना पकाउने भाँडा, त्रिपाल, ओड्ने, ओछ्याउने, खानेपानीको अभावले पीडितहरूलाई समस्या भइरहेको छ। ‘पीडितहरू घरबाटै पोकापोका चामल लिएर आएका छन्। खानाका लागि तत्कालै समस्या छैन। तर, सुत्ने ओछ्यान र ओड्नेको समस्या छ’, उनले भने, ‘त्यसैमाथि वर्षा भइरहेकोले त्रिपालको अभाव भयो। केही त्रिपाल सहयोगमा हामीले पायौं। त्रिपालको पानी चुइएर त्रिपालभित्रै पस्छ। पीडितहरूलाई रात काट्नै समस्या भयो।’
शान्तिवाटिकामा ६ वाटा कोठा र २ वटा प्रतीक्षालय छ। त्यसमा अटाउँदैन। पीडितहरू बाहिर रूखको फेदमा सुत्न बाध्य छन्। बर्षा भएर त्यहाँ पनि सुत्न नसकिएको महोत्तरीका संजिला मण्डलले दुःखेसो पोखिन्। पीडितहरूलाई बर्षासँगै चल्ने चिसो हावाले काठमाडौंको खुला आकाशमा बस्न झनै समस्या भइरहेको छ। सरकारले पीडित जनतालाई न्याय दिलाएर तुरुन्त घर पठाउनुपर्ने उनीहरूले सरकारसँग माग राखेका छन्।अन्नपूर्ण पोष्टमा खबर छ ।



