मूल खबर

प्रदेश प्रमुख चयनले नेकपामा विवाद, नेपालको फरक मत

सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सोमबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रदेश १ मा सोमनाथ प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं, गण्डकीमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द प्रसाद कलौनी र सुदूरपश्चिममा शर्मिला त्रिपाठी नियुक्त भएका हुन् । नयाँ पत्रिका दैनिकका अनुसार नयाँ प्रमुखहरुले मंगलबार शपथपछि सम्बन्धित प्रदेश जाने तयारीमा छन् ।

तर, प्रदेश प्रमुख नियुक्ति सिफारिसलाई लिएर सत्तारुढ दल नेकपाभित्र विवाद भएको छ । नागरिक दैनिकका अनुसार नयाँ नियुक्तिका लागि दुई अध्यक्षले भागबन्डा गरेर आफूहरुलाई साक्षीमात्र राखेको भन्दै नेकपा सचिवालय सदस्य एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताले असन्तुष्टि जनाएका छन् । नेपालले प्रदेश प्रमुख तय गर्न सोमबार बसेको पार्टी सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखेका छन् ।

कान्तिपुर दैनिकका अनुसार नेपालले आफूले प्रस्ताव गरेका व्यक्ति प्रदेश प्रमुखमा परेनन् । ‘हिजो हामी नेताहरुले आ–आफ्नो तर्फबाट नाम प्रस्ताव गरेका थियौँ, उहाँले प्रस्ताव गरेका चार–पाँचवटा नाममध्ये एउटा पनि परेन,’ एक सचिवालय सदस्यको भनाइ उद्धृत गर्दै कान्तिपुरले लेखेको छ ।’

‘सबै निर्णय ओलीजीले भनेर मात्रै हुने भो, पार्टी एकलौटी भयो भने कसरी हुन्छ,’ नेपालको भनाइ उद्धृत गर्दै एक सचिवालयका एक नेताले भने, ‘क्षमतावान् कमरेडहरु जिम्मेवारीविहीन हुने, पटक–पटक चुनाव हारेका प्रदेश प्रमुख हुने, यस्तो निर्णय मान्य छैन ।’ नेपालले विश्वकान्त मैनाली, रघुजी पन्त, वेदुराम भुसाल, श्रीमाया थकालीको नाम अघि सारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button