खबर

नक्कली शरणार्थी प्रकरणले तात्यो संसद्, कसले के भने ?

सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पछिल्लो भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे।

काठमाडौं : संघीय संसद्को बर्षे अधिवेशन आइतबारबाट सुरु भयो। विभिन्न चर्चित काण्ड र घटना भइरहेको समयमा सुरु भएको अधिवेशनमा सांसदका बोल्ने कुरा धेरै भएर होला अन्य समयभन्दा फरक दृश्य आइतबारको बैठकमा देखियो।

बैठकको सुरुमै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आकस्मिक समय लिएर बोल्ने अनुमति मागे। लगत्तै स्वतन्त्र सांसद अमेरशकुमार सिंहले उभिएर केही भन्न खोज्दै थिए। त्यही बीचमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले पनि बोल्नका लागि सभामुखतिर इसारा गरे। सबै बोल्न आतुर देखिन्थे। यस्तो अवस्थामा सभामुखले पटक–पटक बैठक सञ्चालनका लागि सहजीकरण गरिदिन सांसदहरूलाई आग्रह गर्नुपरेको थियो। सांसद्मा को बोल्ने सांकेतिक जुहारी करिब १० मिनेट चलेको थियो। सभामुखले बैठक प्रारम्भ भएको घोषणा गर्दै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाए।

बैठकमा पहिलो वक्ताका रूपमा सांसद प्रेम सुवालले भुटानी शरणार्थीका विषयमा दोषीलाई कानुनी दायरामा ल्याउनेदेखि नागरिकता र खोप इञ्जिनियरिङ कलेजको विषय उठाए।

सांसद अमरेशकुमार सिंहले सर्वदलीय भ्रष्टाचार हुने गरेको आरोप लगाउँदै पछिल्लो भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने जिकिर गरे।

एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भ्रष्टाचारका सवालमा ‘यो टेलर मात्रै हो फिल्म देखाउन बाँकी नै छ’ भन्ने विषयको प्रसंग उल्लेख गर्दै मुलुकमा भएका सबै किसिमका भ्रष्टाचार र अनियमितताप्रति आफ्नो पार्टी एकताबद्धका साथ दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ भन्ने पक्षमा रहेको बताए।

एमालेकै सचेतक महेशकुमार बर्तौलाले यतिबेला सिंगो देशको ध्यान नेपालीलाई भुटानी शरणार्थी बनाएर अर्बौ घोटाला गर्ने र दोषीलाई उम्काउने खेल भइरहेको भन्दै यस्ता घटनाको सत्यपक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे।

एमाले सांसद सूर्य थापाले भ्रष्टाचारको फिल्म हेर्न आफू पनि तयार रहेको बताए। जवाफमा सत्तारूढ नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रतिपक्षी दलका सांसदहरूले छापामार शैलीमा आफ्ना कुरा राखेको भन्दै प्रमुख प्रतिपक्ष साँच्चिकै भ्रष्टाचारीलाई कारबाही गर्न चाहेको हो भने इमानदार हुन आग्रह गरे।

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ‘नेपालको राजनीतिमा जो बढी बदमास त्यही बढी डकार्छ’ भन्दै भ्रष्टाचार र अनियमिततामा दोषी जोकोहीलाई संसदीय समिति बनाएर कारबाही गर्न माग गरे।

एमाले सांसद रघुजी पन्तले आरोप–प्रत्यारोप चलेको भन्दै पार्टी संविधान र कानुनको पालनामा प्रतिबद्ध रहेको बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले भ्रष्टाचारीलाई उम्कन दिन नहुने बताए।

कांग्रेसका सांसद सुनील शर्मा भुटानी शरणार्थीका विषयमा पक्राउ परेकालाई संसद्मा ल्याएर बयान दिलाउन सभामुखको ध्यानाकर्षण गराए। सांसद सरिता प्रसाईंले भ्रष्टाचारीलाई कुनै पनि पार्टीले संरक्षण गर्नु हुन्न, निर्दोष उम्कनु हुन्न।

सांसद रञ्जुकुमारी झाले भ्रष्टाचारको मामिलामा सबै पार्टीले समान धारणा बनाएर दोषीलाई कानुनी दायरामा ल्याइनुपर्ने बताइन्।

सांसद आरजु राणाले आफ्नो चरित्र हत्या गर्ने अभिप्रायले विभिन्न टीकाटिप्पणी भइरहेको बताइन्। उनले सबै नेता र सांसदको सम्पत्ति विवरण सार्वजनिक गर्न पनि माग गरिन्। सांसद दीपकबहादुर सिंहले सत्तापक्ष र प्रतिपक्षले भ्रष्टाचार र अनियमितताको विषयलाई प्रभावकारी ढंगले उठाउन नसकेको बताए।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कोही पनि बच्न नसक्ने बताएका छन्। आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी कोही बच्न नसक्ने र निर्दोष कोही पनि नपर्ने बताएका हुन्।

उनले संसद्मा यस प्रकरणमा भएको बहसले सरकारको मनोबल बढाउने काम भएको जिकिर गरे। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैले कुनै दबाब दिएर केही नहुने स्पष्ट पारे। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई भनेको जानकारी दिए।

पूर्वप्रधानमन्त्री एवम् प्रमुख प्रतिपक्ष दलका नेता ओलीले प्रहरीको छानबिनमा सरकारले कतैबाट हस्तक्षेप गर्ने, बयान फेराउने काम नगर्न पनि प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिएको बताए। उनले एमाले नेता टोपबहादुर रायमाझी एमालेको सम्पर्कमा नरहेको जिकिर गरे।अन्नपूर्ण पोष्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button