मूल खबर

ठुलो दुर्घटनाको जोखिम

केशब राज पौडेल
राजमार्ग निर्माणकै क्रममा भएको प्राविधिक त्रुटिका कारण दस वर्षमा तीन सयभन्दा बढी घटना भइसकेका छन् ।
आइतबार राति अचानकको वर्षाले बिपी राजमार्गको काभ्रेस्थित रोसी गाउँपालिका–११ को कालढुङ्गामा बगेर आएको गेग्य्रानले चार वटा सवारीसाधनपुरिए  मूल वर्षा सुरु नहुँदै जेठ लाग्दै गरेकै दिनको उक्त घटनामा कुनै मानवीय क्षति भने भएन । सोमबार दिउँसोदेखि यातायात पनि दुईतर्फी नै खुलिसकेको छ।

बिपी राजमार्गको सो स्थानमा यस्तो समस्या पहिलो पटक आएको होइन । राजमार्ग निर्माणकै व्रmममा भएको प्राविधिक त्रुटिका कारण बर्सेनि यस्ता घटना भइरहन्छन् । दस वर्षमा तीन सयभन्दा बढी यस्ता घटना भइसकेका छन् । अहिलेसम्म मानवीय क्षति नभए पनि समाधान नखोज्दा कुनै समय गम्भीर दुर्घटना हुने जोखिम बढेको छ ।

यस्तै घटनामा परेका यात्रुको अनुभव पनि नमिठो छ । नमोबुद्ध नगरपालिका भकुन्डेबेँसीका अशोक खनाल २०७८ असोज १७ गते विराटनगरबाट बेहुली लिएर फर्कंदै गर्दा भ्याकुरे खोलामा आएको बाढीमा १७ घण्टा रोकिनुभएको थियो । विवाह भोजका लागि ११ बजे इस्टमित्र, आफन्त बोलाएको तर आफूहरू भने बाढीमा फसेको खनालले बताउनुभयो । “विवाहकै दिन १७ घण्टासम्म चाउचाउ र पानीको भरमा बस्नुपर्दाको तनाव र पीडा व्यक्त गर्न सकिँदैन,” उहाँले भन्नुभयो ।

उहाँ मात्र होइन वर्षा हुन थालेपछि सडक विभागले बिपी राजमार्गमा खटाएका साइट इन्चार्ज चन्द्र लामालाई पनि निकै चिन्ता लाग्छ । हरेक वर्ष भ्याकुरे, फेदी र चिउरीबासमा खोलामा गेग्य्रानसहितको लेदो बाढीले एम्बुलेन्ससमेत रोकिने गरी सडक अवरुद्ध पार्ने भएपछि उहाँ चिन्तामा पर्नुहुन्छ । दुई वर्षअघि गाडी रोकिएपछि एक महिलाले सडकमै बच्चा जन्माएको घटना उहाँ सुनाउनु हुन्छ । एक वर्षमा १५ पटकसम्म लेदो गेग्य्रानसहितको बाढी आएर सवारीसाधन जाममा पर्छन् या पुरिन्छन् ।

यात्रुको उद्धार भने सजिलै गर्न सकिन्छ तर गाडी भने निकाल्न सकिँदैन । दलदलमा फसेका जनावरको जस्तै हालत गाडीको हुन्छ । दस वर्षमा तीन सयभन्दा बढी पटक यस्ता घटना भएका छन् । मानिसलाई उद्धार गर्न सकेकोमा भने लामा खुुसी नै हुनुहुन्छ ।बाढी आउन थालेपछि गाडीका टायर ‘लक’ भइहाल्छन् । त्यसपछि विस्तारै त्यसको सतह बढ्छ । विस्तारै ढुङ्गा, माटो र लेदोको मिश्रण ढलान गर्न तयार पारिएको बालुवा, गिट्टी र सिमेन्टको मिश्रण जस्तै हुन्छ । प्रायजसो असार, साउन र भदौमा दुःख दिने खोलाले कहिलेकाहीँ चैतदेखि नै दुःख दिने गरेको लामाको अनुभव छ ।

२०७८ चैत ३० गतेको बाढीले तीन दिनसम्म सडक अवरोध पारेको थियो भने दर्जनौँ सवारीसाधन पुरिएका थिए । त्यसबेला गाउँपालिकाले यात्रुका लागि खानेपानी र खानेकुराको व्यवस्थापन गरिदिएको थियोे । रोसी गाउँपालिकामा पर्ने सो स्थानमा बाढी आएपछि धेरै रात नसुतेर उद्धार कार्यमा खटेको अनुभव गाउँपालिकाका पूर्वअध्यक्ष डिबी लामाको पनि छ । राति सयौँ यात्रु अलपत्र परेको सूचना आउँदा डोजर लिएर उद्धारको कार्यमा खट्ने गरेको बताउँदै उहाँले यात्रुका लागि कम्तीमा पानी र चाउचाउको जोहो गरिदिने गरेको सुनाउनुभयो । इलाका प्रहरी कार्यालय मङ्गलटारको समन्वयमा यात्रुलाई सुरक्षित रहेको महसुस गराउन धेरै रात सडकमै बसेको उहाँले बताउनुभयो ।

मङ्गलटार क्षेत्रको समस्या राजमार्ग निर्माणको प्राविधिक भए पनि टोलटोलमा गरिएका डोजरे विकासका कारण यस्ता समस्या हरेक वर्ष बढिरहेको उहाँले बताउनुभयो । आफू अध्यक्ष हुँदा धेरैजसो माग सडकको आउँदा आफूले पनि त्यसैमा बजेट विनियोजन गरेको तर अहिले त्यही कारणले राजमार्ग नै अवरुद्ध हुने थाहा पाएपछि नराम्रो लागेको उहाँले स्पष्ट गर्नुभयो । उहाँले सडकभन्दा माथिल्लो भागमा अन्धाधुन्ध प्रयोग भएको डोजरले माटो खुकुलो बनाएको र त्यसकै असरका रूपमा गेग्य्रानसहितको बाढी आएको बताउनुभयो । यो समस्याको दीर्घकालीन समाधान खोज्न ढिला भएको उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रे, बनेपाका प्रमुख सुरेश थापाले हरेक वर्ष बिपी राजमार्गमा आउने लेदोसहितको बाढीले ट्राफिक व्यवस्थापनमै चुनौती थपेको बताउँदै यसको दीर्घकालीन समाधान आवश्यक रहेको बताउनुभयो । उहाँले एक वर्षमा १५ पटकसम्म बाढीले सडक अवरोध पारेको बताउनुभयो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गरेको सो सडकमा बाढीका कारणबाट हुने समस्या समाधानका लागि जाइकाका प्रतिनिधि र सडक विभागका प्रतिनिधिले पटक पटक अनुगमन गरेको छ । रोसीको माथिल्लो भागबाट आउने भेलको वैकल्पिक निकासको ठाउँ नभएकाले कसरी समस्या समाधान गर्न सकिन्छ भनेर अध्ययन गरिरहेको सडक विभागअन्तर्गत बनेपा–बर्दिबास सडक आयोजनाका प्रमुख राजेन्द्रमान दासले जानकारी दिनुभयो ।

अहिले यो निकै ठुलो समस्या भएकाले जाइकासहितको टोलीले अध्ययन थालेको जानकारी उहाँले दिनुभयो ।गोरखापत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button