खबर

संविधानको पुनःमूल्याङ्कन गर्ने बेला भएको छैन : प्रथम राष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव ।

गोरखापत्र अनलाइन
काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनःमूल्याङ्कन गर्ने बेला नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रथम राष्ट्रपति यादवले अहिले नै संविधानको पुन:मूल्याङ्कनको बेला नभएको भन्दै अहिले पूर्ण रुपमा संविधान लागू गरेर जाने समय रहेको औंल्याउनुभयो । उहाँले वर्तमान संविधानको कार्यान्वयन सही ढङ्गबाट गर्न बाँकी नै रहेको बताउनुभयो ।

प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गर्नुभयो । उहाँले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, लोकतान्त्रिक व्यवस्था र कानुनको शासनलाई सोचेर नै संविधान बनाइएको भन्दै यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न जरुरी रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘संविधानलाई पुन:मूल्याङ्कन गर्ने बेला भएको छैन । यसलाई लागू गर्नेतिर हामी जाऔँ । एकाध चुनावहरु हुन्, राम्रोसँग यो लागू होस् त्यो हामी चाहन्छौँ । यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ । हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानूनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।’’

कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरुले संविधान अनुकूल काम नगर्दा पुस्तकबाट जनतामा सुसूचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताउनुभयो । उहाँले नेपालमा शासकले विधिलाई शासन गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘जनताले जुन मत दिन्छन्, प्रतिनिधि पठाउँछन् त्यो प्रतिनिधिले आफ्नो संविधान अनुकूल काम गर्दैनन्, रुल अफ ल हुनुपर्नेमा रुल बाइ ल हुन्छ, शासकले विधिलाई शासन गरिरहेको छ, विधिले शासकलाई शासन गर्नुपर्ने हो । तर यसरी विधिलाई शासकले शासन गर्दा किताबबाट भएर पनि जनसमक्ष लेखेर जनतामा ल्याउनुपर्छ भनेर लेख्ने गरेको छु ।’’वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले विधिलाई शासकले शासन गर्नेकुरा सह्य हुन नसक्ने बताउनुभयो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button