कला

कस्तो होला ‘घामड शेरे’ को ओपनिङ ?

काठमाण्डौ,
गएको कात्तिक ८ गते नै प्रदर्शनमा आउनु पर्ने फिल्म हो, ‘घामड शेरे’ । तर, बलिउड फिल्म ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्सहरुले अपेक्षाभन्दा कम सोज दिएपछि निर्माण टिमले फिल्म दुई हप्ता पछाडि सार्‍यो । अब, यो फिल्म यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। हेमराज विसी निर्देशित फिल्ममा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् ।

शुक्रबारका लागि नेपालका अधिकांश मल्टीप्लेक्सहरुले फिल्मको बुकिङ बुधबारबाटै खुल्ला गरेका छन् । मल्टीप्लेक्समा फिल्मले राम्रो सोज हात पारेको छ । कात्तिक ८ गतेका लागि नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्समा ‘घामड शेरे’ ले राजधानीको पाँच स्टेशनमा ६ सोज पाएको थियो । कात्तिक २२ गतेलाई १७ सोज हात पारेको छ । त्यस्तै, उपत्यका बाहिरको ४ स्टेशनमा फिल्मले १२ सोज पाएको छ ।

क्यूएफएक्स च्यानलमा मात्र २९ सोजमा प्रदर्शन आरम्भ गर्न लागेको यो फिल्मलाई राजधानीको विग मुभिजले ५ सोज बाँड्दा क्यूज सिनेमाज्, सिडिसी सिनेमाज् र विएसआर सिनेमाज्ले समान्तर ३/३ सोज प्रदान गरेका छन् । त्यस्तै, वान सिनेमाज् र एफक्यूब सिनेमाज्मा फिल्मले ४ सोज हात पारेको छ । फिल्म देशैभर ८५ बढी हलमा प्रदर्शन हुने बताइएको छ । मल्टीप्लेक्स सोज र हल संख्या हेर्दा फिल्मको ओपनिङ आक्रामक हुने देखिन्छ ।

रिलिजपूर्व गीतसंगीतका कारण फिल्मले राम्रो हाइप निर्माण गरेको छ, जसको फाइदा बक्सअफिसमा पर्नसक्छ । पहिलो पटक ‘रियल कपल’ निश्चल र स्वतिमाले अनस्क्रिन रोमान्स गरेका कारण पनि फिल्मको इनिसियल व्यापार आक्रामक हुने फिल्म पण्डितहरुको अनुमान छ । तर, प्रदर्शन मिति फेरबदल भएका कारण त्यसको असर बक्सअफिसमा पर्न सक्ने आँकलन पनि गरिएको छ ।

खोलालाई मुद्धा हाल्ने विषयमा केन्द्रित ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । फिल्ममा निश्चलको श्रीमतीको भूमिकामा सुष्मा निरौला छिन् । गौरी मल्लको अतिथी भूमिका रहेको फिल्ममा बादल भट्ट, लोकेन्द्र लेखक, सरोज अर्याललगायतका कलाकारहरुको पनि अभिनय छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मको कथा तथा पटकथा निर्देशक विसीले नै लेखेका हुन् ।

फिल्मीखबर,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button