मूल खबर

कावासोती नगरपालिकाको वडाबाटै योजना सम्झौता

मीना कँडेल

कावासोती । कावासोती नगरपालिकाले योजना सम्झौता वडाबाट नै गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०।८१ को नीति, कार्यक्रम तथा बजेटबमोजिम चालु आवमा सञ्चालन हुने विभिन्न योजना वडास्तरमै पुगेर सम्झौता गरिने भएको हो ।

स्थानीयवासीलाई घरदैलोबाटै सेवा दिने उद्देश्यका साथ वडामा पुगेर योजना सम्झौताको अभियान सञ्चालन गरिएको नगरप्रमुख विष्णुप्रसाद भुषालले बताउनुभयो । उपभोक्ता समितिबाट हुने योजना सम्झौताका लागि नगरपालिका धाउनुपर्ने बाध्यता हटाउन यस्तो गर्न लागिएको योजना शाखाका प्रमुख दिनेश भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “उपभोक्ता समितिबाट सञ्चालन हुने सबै योजनाहरु अबदेखि वडाबाटै सम्झौता हुनेछन् । उपभोक्तालाई सहजताका लागि नगरपालिकाले वडाबाट योजना सम्झौताको काम अघि बढाएको छ ।”

अनलाइन सफ्टवेयरबाट उपभोक्तामार्फत हुने सबै काम वडामा सम्झौता हुनेछन् । वडाबाटै सबै काम सकेपछि भुक्तानीको चरणमा एकपटक मात्रै नगरपालिका आए हुने शाखा प्रमुख भण्डारीले बताउनुभयो ।

योजना सम्झौता नगरभित्रका १७ वटा वडामा हुनेछन् । कार्यक्रम कार्यान्वयन पूर्व वडाका जनप्रतिनिधि र वडा सचिवलाई योजना सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

उप प्रमुख फुलकुमारी थनेतले भन्नुभयो, “वडामै पुगेर योजना सम्झौता गर्दा सम्झौताका लागि आवश्यक पर्ने कागजपत्र व्यवस्थापन गर्न पनि स्थानीय उपभोक्तालाई सहज भयो”।

यस्तै, नगरपालिकाबाट प्रदान गरिने सेवालाई सेवाग्राही मैत्री, सरल रुपमा प्रदान गर्ने उद्देश्य अनुसार नगरपालिका अघि बढेको उहाँले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button