चितवन,
राष्ट्रियता र सीमा सुरक्षाका बारेमा आवाज उठाउँदै आएका नेकपाका नेता साध्यबहादुर भण्डारीले भारतको नयाँ नक्सा बाहिरिनु नेपाललाई समस्या नभई अवसर भएको बताएका छन् ।
पत्रकार महासंघ चितवनमा भएको छलफल कार्यक्रममा भण्डारीले नेपालको पूर्वदेखि पश्चिमसम्म जति भूमि भारतले अतिक्रमण गरेको छ सबै भूमि अब एकैसाथ फिर्ता गर्ने नेपालले अवसर प्राप्त गरेको बताए । उनले नेपाली सीमा अतिक्रमण भएको घटना देशभित्र र बाहिर रहेका पाँच करोड नेपाली भाषीहरुको चासोको विषय भएकोले भारतले नेपालीको मागको सम्बोधन गर्नुपर्ने विचार राखे । उनले भने, ‘हामी अतिक्रमित सबै भूमि एकैसाथ भारतबाट फिर्ता चाहन्छौं ।’
त्यस्तै नेता भण्डारीले सीमा सुरक्षामा कयौं नेपालीहरुले रगत बगाएकोले हाम्रो एक इन्च भूमि पनि छाड्न सक्दैनौं । पूर्वको अन्तुडाँडादेखि सन्दकपुर, महेशपुर, नवलपरासीको सुस्ता, कञ्चनपुर र दार्चुलासम्म गरेर जम्मा ६० हजार ६२७ हेक्टर जमिन भारतले अतिक्रमण गरेको नेता भण्डारीले तथ्यहरु पेस गरे ।
सीमा अतिक्रमणबारे भएको छलफलमा लिम्पियाधुरा र लिपुलेकसम्म आठवटा सैनिक क्याम्पमा ३२ हजार सेना राखेर नेपाली भूमि अतिक्रमण गरे पनि हाम्रो भूमि हो भन्ने यथेष्ट प्रमाणहरु रहेको नेता भण्डारीले अवगत गराए । उनले भने, ‘स्थानीयले भोगचलन गर्दै आएको जग्गाको कर बुझाएको रसिद, भारतका पूर्वमुख्य सचिव जे आदमले स्थानीयलाई सम्बोधन गरेर लेखेको पत्र, १८१६ मा नेपाल र भारतबीच भएको सुगौली सन्धी, नेपाल र भारतले निकालेका नक्साहरु मुख्य आधार रहेको भण्डारीले तयार गरेको प्रतिवेदनमा उल्लेख छ ।नारायणी अनलाइन



