
डा असीम महत
पानी थोरै पिउने, चर्को घाममा दैनिक काम गर्ने, माछा-मासु र जंकफुडमा बढी लगाव भएका र व्यस्त जीवनशैली भएका मानिसहरुमा देखिने समस्या हो, मिर्गौलामा पत्थरी।
पत्थरी बनावटका हिसाबले धेरै खालका हुने भए तापनि सबैभन्दा धेरै देखिने प्रकार हो, ‘क्याल्सियम अक्जालेट’। यसका अलावा युरिक एसिड, स्ट्रुभाइट र सिस्टिनका पत्थरी हुने गर्छ। मिर्गौलामा पत्थरी बन्ने धेरै प्रक्रिया छन्, जसमा मुख्य प्रक्रिया हो, घोलक (पिसाब) र घुलित वस्तु (क्याल्सियम,युरिक एसिड, अक्जालेट) बीच तालमेल नमिल्नु।
घोलक कम भएमा वा घुलित वस्तु धेरै भएमा पत्थरी बन्ने गर्छ। लामो समय पिसाबको सक्रमण, केही वंशानुगत रोग तथा केही किसिमका औषधिको सेवनबाट पनि पत्थरीको जोखिम बढ्न जान्छ।
मिर्गौलाका पत्थरीका बिरामी निम्न लक्षण लिएर अस्पताल आउने गर्छन्
– कोखा चस्किराख्ने
– मूत्रमार्गमा पत्थरी अड्किएर समयसमयमा कम्मर वरिपरिको भागमा खप्नै नसकिने दुखाइ हुने
– पिसाबमा रगत देखिने या पत्थरी देखिने
– ज्वरो आउने, वाकवाकी लाग्ने र उल्टी हुने
– पिसाब पोल्ने, पिसाब छिटोछिटो लाग्ने र साबिकभन्दा थोरै पिसाब हुने
यदि माथि उल्लेखित समस्याका बाबजुद आवश्यक जाँच र उपचार गर्न हिच्किचाएमा खतरापूर्ण जटिलताहरु निम्तिन सक्छन्। जस्तै-
– मिर्गौला सुन्निदै जाने र कालान्तरमा फेल हुनसक्ने
– पिसाबको संक्रमण फैलिएर मिर्गौला हुँदै रगतमा पुग्न सक्ने
– मूत्रमार्गमा फिस्टुला बन्न सक्ने
– मिर्गौलामा खत देखिने र मूत्रमार्ग साघुँरिने
मिर्गौला, मूत्रमार्ग र मूत्रथैलीको पत्थरी पत्ता लगाउनुका साथसाथै यसबाट जटिलता भए-नभएको थाहा पाउन केही जाँचहरु गर्न सकिन्छ जस्तै-
– पिसाब तथा रगत जाँच
– पेटको सादा एक्स-रे तथा पेटको भिडियो एक्स-रे
– रगतको नशाबाट रासायनिक कन्ट्रास्ट हालेर आइभिपी वा सिटी स्क्यान
– केही हर्मोनल तथा मेटाबोलिक अवस्थाको जाँच
मिर्गौलामा या मूत्रमार्गमा बनिसकेका पत्थरीलाई धेरै तरिकाले उपचार गर्ने सकिन्छ। अधिक दुखाइ भएमा दुखाइ कम गर्ने औषधि सेवन गर्न सकिन्छ। पिसाबमा संक्रमण भएमा एन्टिबायोटिकको प्रयोग गर्नुपर्छ। ५ मिमीभन्दा सानो पत्थरी प्रशस्त पानी खाएर झार्न सकिन्छ भने १० मिमीसम्मका पत्थरी झार्न औषधिको सहायता चाहिन सक्छ।
१० मिमीभन्दा ठूला पत्थरीलाई निकाल्न शल्यक्रिया तथा अरु पद्धतिको खाँचो पर्छ। मूत्रमार्गको अवस्था, पत्थरीको आकार, पत्थरी रहेको भाग र प्रक्रिया सफलताको सम्भावना अनुसार निम्न उपचार पद्धति अपनाउन सकिन्छ, जस्तै-
– सोनोग्रामका तरङ्ग पैदा गरेर पत्थरी फुटाउने
– दूरबिनको सहायता लिएर पत्थरी निकाल्ने
– पेटमा सानो प्वाल बनाएर पत्थरी झिक्ने
– पेटको चिरफार गरेर पत्थरी निकाल्ने
मिर्गौलामा पत्थरी दोहोरिने समस्या रोक्न या नयाँ पत्थरी बन्न नदिन हामीले प्रशस्त पानी (दैनिक २९३ लिटर) पिउनुपर्छ। माछामासु, जंकफुड, नुनिलो खानेकुरा खान कम गर्नुपर्छ। क्याल्सियमयुक्त खानेकुरा खानुपर्छ तर क्याल्सियम चक्की भने खानु हुँदैन। मदिरा सेवन गर्नुहुँदैन। बढी गुलियो खानेकुरा पनि खानु हुँदैन। भिटामिन सी पाउने खानेकुरा प्रशस्त खानुपर्छ।swsthyakhabarpatrika



