झापा / पूर्वको सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ लागुऔषध भित्र्याउन सक्रिय रहेको गिरोहले पछिल्लो समय ‘ब्राउन सुगर’ को अत्यधिक भित्र्याउने क्रम बढेको छ ।
सुईबाट लिन सकिने र खान मिल्ने लागुऔषधहरु बढी भित्र्याउने गिरोहले अहिले ब्राउन सुगर भित्र्याउन थालेको स्रोतको दावी छ । अन्य लागुऔषधको दाँजोमा ओसारपसार गर्न सजिलो हुने र बिक्री गर्दा फाइदा पनि सबैभन्दा धेरै हुने भएपछि कारोबारीहरुले यसको कारोबार बढाएका छन् ।
लागुऔषध नियन्त्रणका क्षेत्रमा काम गरिरहेका संघ–संस्थाका अनुसार पछिल्लोसमय ओसारपसारकर्ता र सेवनकर्ताहरुले ब्राउन सुगर नै बढी मात्रामा भित्र्याइरहेका छन् । ‘पहिले ब्राउन सुगर सबैभन्दा कम्ती भेटिने लागुऔषधमा पथ्र्यो’, एक प्रहरी अधिकारीले भने अचेल सबैभन्दा धेरै चाहिँ ब्राउन सुगर नै भेटिएको छ । यसको कारोबारी र प्रयोगकर्ता दुवै बढेको देखिन्छ ।’
नेपालको पूर्वी नाकासँग जोडिएका भारतीय बजारहरु पानीट्यांकी, नक्सलबाडी, खोरीबारी, बतासी, अधिकारी लगायतका स्थान नेपालमा प्रतिबन्धित लागुऔषध सजिलै पाइने क्षेत्र बनेका छन् । नेपाली कारोबारीहरुले तिनै ठाउँलाई आफ्नो कारोबार सञ्चालनको सुरक्षित र भरपर्दो थलो बनाएका छन् । ती बजारहरुमा पूर्वका मात्रै नभई नेपालभरीका कारोबारीहरु पुग्ने गरेका छन् । प्रहरीले पक्राउ गरेका कारोबारीमध्ये धेरै मध्य तथा पश्चिम नेपालका समेत छन् । यसले पनि देखाउँछ, सीमावर्ती भारतीय बजारहरु लागुऔषध भित्र्याउन सहज बनिरहेको छ ।
नेपाली कारोबारी र प्रयोगकर्ताको ‘हब’ बनेका ती बजारमा पनि अहिले ‘ब्राउन सुगर’ नै चल्तीको ‘आइटम’ बनेको छ ।
लागुऔषध नियन्त्रणको क्षेत्रमा काम गरिरहेका संघ–संस्था तथा प्रहरीको यस्तो दाबी र अनुमान सही सावित हुने घटना नाकामा बाक्लै रुपमा देखिन पनि थालेको छ । हालै मात्र झापा प्रहरीले ५ सय ७० मिलिग्राम (आधा ग्राम) ब्राउन सुगरसहित काठमाण्डौंका एक व्यक्तिलाई पक्राउ गरेको छ । तर, प्रहरीले थप अनुसन्धान र कारोबारका मुख्य गिरोहको खोजीमा विशेष अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार केहीदिन पछाडि सार्वजनिक गर्ने बुझिएको छ । यो घटनाले पूर्वी नाकालाई अन्य क्षेत्रबाट आएर लागुऔषध भित्र्याइरहेको पुष्टि हुन्छ । यसअघि पक्राउ परेकाहरुले प्रहरीसँगको प्रारम्भिक बयानमा भारतीय बजार पानीट्यांकीबाट विभिन्न लागु पदार्थ किनेर ल्याउने र नेपाली बजारमा त्यहाँको मूल्यभन्दा चौगुणा बढीमा बेच्ने गरेको बताउने गरेका छन् ।
यसरी सानो परिमाणमा मात्रै होइन, एकैपटक ठूलो परिमाणको ब्राउन सुगर नेपाल भित्र्याउनेहरु पनि नाकामा सक्रिय नै छन् । प्रहरीका अनुसार ओसारपसारमा संलग्नहरु काठमाडौं, पोखरा, धरानलगायत शहरका हुने गरेका छन् । जहाजमा महँगो भाडा तिरेर आउने र काठमाडौं, पोखरासम्म पुर्याउँदा फाइदा हुने भएपछि धेरै कारोबारीले अहिले ब्राउन सुगर नै रोज्न थालेको प्रहरीको अनुमान छ । लगातार प्रयोग गर्नुपर्ने र सेवनका लागि व्यग्र रहने प्रयोगकर्ताहरु एक डोजका लागि पनि जतिसुकै मूल्य तिर्न तयार हुने भएका कारण कारोबारीहरु खर्च र जोखिमको परवाह नगरी भारतीय बजारमा ब्राउन सुगर लिन पुग्ने गरेका छन् ।
प्रहरीको बाक्लो उपस्थितिमा चौबीसै घण्टा कडा निगरानी हुने मुख्य प्रवेशद्वार मात्रै हुन् । १ सय १८ किलोमिटर लामो खुला सीमा भएको झापाकै नाकाहरुबाट पनि यस्ता लागुऔषध भित्रने सम्भावना उच्च छ । ‘धेरै कारोबारीहरुले मुख्य नाकाभन्दा अन्य सहायक नाकालाई ओसारपसारको बाटो बनाउँदै आएका छन्’, लागुऔषध नियन्त्रणको क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय अभियन्ता गोविन्द न्यौपाने भन्छन्–‘मुख्य नाकाबाट त नयाँहरु र झुक्किएर आइपुग्नेहरु मात्रै हुन् ।’ उनको भनाईलाई आधार मान्ने हो भने मात्रै पनि भन्न सकिन्छ, अन्य बाटो हुँदै नेपाल भित्रने लागुऔषधको मात्रा झन् धेरै छ । यसलाई प्रहरी स्वयम्ले पनि स्वीकारेको छ ।
न्यौपाने भन्छन्–‘ब्राउन सुगरको कारोबार र प्रयोगकर्ता बढ्नुको कारण बोक्न सजिलो, बेच्दा दोब्बर–तेब्बरसम्म हुने फाइदाले नै हो ।’ जानकारहरुका अनुसार ब्राउन सुगर त्यस्तो लागुऔषध हो, जो माटो जस्तै हुन्छ । अफिमको बोट सुकाउने र पिसेर धुलो बनाएपछि त्यो खैरो धुलो बन्छ । त्यसैलाई ब्राउन सुगर भनिन्छ । ५० मिलिग्रामले एकजना प्रयोगकर्तालाई एक डोज पुग्ने यसको ओसारपसार अरुभन्दा सुरक्षित हुन्छ । ‘इन्जेक्सन, ट्याब्लेटहरु बोक्दा भारी हुने, छामछुम गर्दा बज्ने, कराउने हुन्छ’, एक प्रहरी अधिकृत भन्छन्– ‘तर, ब्राउन सुगर धुलो हुने भएकाले बज्ने, कराउने केही हुँदैन । थोरै–थोरै ल्याउने हुँदा प्रहरीले पनि फेला पार्न सक्दैन । त्यसैले यसको कारोबार बढेको हो ।’
प्रयोगकर्ताहरुले प्रहरीसँग दिएको बयान अनुसार ब्राउन सुगरको माटोजस्तै धुलोलाई पहिले सिसामा वा धातुजन्य वस्तुमा राखेर हातले दल्ने गरिन्छ । दलेर अझै मिहिन पारेपछि त्यसलाई चुरोटको बट्टामा हुने टल्किने कागज वा त्यस्तै खालको चुइगमको खोलमा खन्याइन्छ । कागजको टल्किने भागमा ब्राउन सुगर राखेर अर्कोतिरबाट लाइटर झोसिन्छ । जब कागज जल्दै जान थाल्छ, ब्राउन सुगर पनि जलेर धुँवामा परिणत हुन्छ।
प्रयोगकर्ताले पैसाको नोट (कागज)को पाइप बनाएर त्यही धुँवा सेवन गर्ने प्रहरीको भनाई छ । ब्राउन सुगरको सन्दर्भमा केही कारोबारी नै पक्राउ गर्न सफल भए पनि ज्यालामा लागुऔषध ओसार्न खटिनेहरु समातिने तर, मुख्य धन्दावालाहरु प्रहरी पहुँचबाट सधैँ जोगिने समस्याले तस्करीको जालो तोड्न प्रहरी असफल बन्दै आएको छ । जसका कारण झापालाई ट्रान्जिट बनाएर हुँदै आएको लागुऔषध कारोबार थप फराकिलो बन्दै गएको जानकारहरु बताउँछन् ।janasamsadonline



