कृषि र किसानहेड लाइन

आज धान दिवस

यो वर्ष उत्पादन बढ्ने विश्वास

फाइल तस्बिर

चाँदनी हमाल

काठमाडौँ, असार १५ गते । असार १५ अर्थात् धान दिवस । मानो रोपेर मुरी उब्जाउने दिनका रूपमा नेपालमा मनाइँदै आएको छ । जस अनुसार देशभर उत्सवका रूपमा धान रोपाइँ हुँदै छ ।

प्रमुख खाद्यान्न बाली धान नेपालको खाद्य सुरक्षाको प्रमुख आधार मानिन्छ । धान एक बाली मात्र नभई औसत नेपालीको जीवन पद्धतिमा अभिन्न रहँदै आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले पनि हरेक वर्ष उल्लासपूर्ण उत्सवका रूपमा धान रोपाइँ गरिने कृषि विभागका महानिर्देशक तथा धान दिवस मूल समारोह समितिका अध्यक्ष प्रकाशकुमार सञ्जेल बताउनुहुन्छ।

यो वर्ष प्रिमनसुनदेखि नै वर्षा राम्रो भएकाले धान राम्रो उत्पादन हुने अनुमान कृषि विज्ञले गर्नुभएको छ । कृषि मौसमविद् रामेश्वर रिमालका अनुसार पूर्वी नेपालमा धान रोपाइँ धमाधम सुरु भइसकेको छ । उहाँका अनुसार असार १५ अघि नै पर्याप्त पानी पुगेका स्थानमा धान रोपाइँ सुरु भएको हो ।

पश्चिम नेपाल र तराईका अधिकांश भूभागमा पनि यस वर्ष छिट्टै धान रोपाइँ हुने अनुमान रहेको कृषि मौसमविद् रिमाल औँल्याउनुहुन्छ । जल तथा मौसम विज्ञान विभागका अनुसार असार १५ देखि कर्णाली, सुदूरपश्चिम, लुम्बिनीसहित तराईका भूभागमा राम्रो वर्षा हुँदै छ । यसले पनि धान रोप्न तयार भएका किसानमा खुसी छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ को नारा ‘धान बालीमा सघनता : खाद्यसुरक्षा र आत्मनिर्भरता’ रहेको छ ।

धान दिवस मूल समारोह समितिका अध्यक्ष सञ्जेलका अनुसार जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिको प्रयोग गर्दै सघन धान खेती (बर्खे र चैते) मार्फत उत्पादन एवं उत्पादकत्व बढाउँदै देशलाई खाद्यान्नमा आत्मनिर्भर र खाद्य सुरक्षातर्फ अग्रसर गराउने लक्ष्य लिइएको छ ।

चालु आर्थिक वर्षमा कुल १४ लाख २० हजार ६३६ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा कुल ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा १.२८ प्रतिशत कम क्षेत्रफलमा धान रोपाइँ भए पनि हालसम्मको उच्चतम औसत उत्पादकत्वसँगै अघिल्लो वर्षभन्दा ४.०४ प्रतिशतले धान उत्पादनमा बढोत्तरी भएको मन्त्रालयले जनाएको छ । अब पनि सोही अनुपात धान रोपाइँ हुँदै छ ।

नेपाललाई आवश्यक पर्ने करिब ७० लाख मेट्रिक टन धानमध्ये करिब १० लाख मेट्रिक टन धान अझै अपुग छ । फलस्वरूप गत जेठमा करिब ३८ अर्ब ९४ करोड रुपियाँ बराबरको धान, चामल र कनिका आयात गरिएको थियो ।

आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउने उद्देश्य यस वर्षको बजेटमा उद्घोष भएको छ । त्यसका लागि चैते धानमा क्षेत्रफल विस्तार गर्दै बर्खे धानमा उत्पादकत्व वृद्धि कार्यक्रम तिनै तहमा लैजाने मन्त्रालयले जनाएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) बाट धानबालीका विभिन्न १४० भन्दा बढी जात दर्ता छन् । नेपालमा हाइब्रिड धानका जातको विकास भइरहेको र यसरी विकास भएका धानका जातको बिउको उपलब्धता सुनिश्चित गर्न बिउ वृद्धिका कार्यक्रम तिनै तहका सरकारमार्फत प्रवर्धनमा जोड दिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित धानका २१ जोन र पाँच सुपरजोनमार्फत बर्से र चैते दुवै सिजनमा धानको सम्पूर्ण मूल्य शृङ्खला विकासमा कार्यक्रम सञ्चालन गरिने भएको छ ।

राष्ट्रपतिको शुभकामना

राष्ट्रपति रामचन्द्र पौडेलले असार १५ को राष्ट्रिय धान दिवसका अवसरमा सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले नेपालमा कृषिको महत्व बढाउँदै राष्ट्रिय खाद्य सुरक्षामा धानको भूमिकालाई बढाउने गरी धानको उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभएको छ ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई खाद्यसम्बन्धी हकको व्यवस्था गरे अनुसार खाद्यवस्तुको अभाव झेल्न नपर्ने गरी मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि धान खेतीको प्रवर्धन गर्नु आवश्यक रहेको उहाँले प्रस्ट पार्नुभएको छ ।

त्यसै गरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले दिनुभएको शुभकामना सन्देशमा यो दिवस आत्मनिर्भर र समृद्ध नेपाल निर्माण गर्ने साझा लक्ष्यसहित उन्नत कृषि प्रणालीको विकास र आधुनिकीकरणप्रति दृढ सङ्कल्पको प्रतीक हो भन्नुभएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button