कृषि र किसानखबरहेड लाइन

मधेशमा मनसुन सक्रिय

काठमाडौँ, असार ३२ गते । खडेरीले आक्रान्त रहेको नेपालको मधेश प्रदेशमा लामो समयपछि वर्षा सुरु भएको छ । मधेश नेपालको अन्न भण्डार र खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख क्षेत्र मानिन्छ ।

मनसुनको न्यूनचापीय प्रणाली सक्रिय भएसँगै मधेशमा वर्षाको सुरुवात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिदेखि नै बादल मधेश प्रदेशका आकाशमा गड्गडाउन सुरु गरिसेकेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो ।

मधेशमा यस वर्षको मनसुन भित्रिएदेखि नै राम्रोसँग मनसुनी प्रणाली फैलिन नसक्दा कोशी प्रदेशका केही र मधेशका अधिकांश भूभागमा वर्षा हुन सकेको थिएन । वर्षा नहुँदा किसान बिउबिजन र श्रमसहित खाद्य असुरक्षा बढ्ने भयमा थिए । कँडेलले भन्नुभयो, “अब मधेशमा लगातार जसो नै वर्षा गराउने प्रणाली विकसित हुँदै गएकाले किसानले खुसी मनाउने दिनहरू आउने आशा राखेका छौँ ।”

कतिपय स्थानमा भीषण वर्षाको लक्षण पनि देखिएकाले सतर्क रहनुपर्ने उहाँले सुझाउनुभयो । उहाँका अनुसार गत २४ घण्टामा वर्षाको अनुभूति दिलाउने गरी मधेशका केही स्थानमा वर्षा भएको छ । कर्मैयास्थित वर्षा मापन केन्द्रमा ४६ मिलिमिटर वर्षा रेकर्ड भएको छ । त्यस्तै अन्य केन्द्रले पनि ३० देखि ३२ मिलिमिटरसम्मको वर्षा भएको देखाएको छ । मधेशमा वर्षाको क्रम अझ राम्ररी बिहीबारदेखि फैलने जानकारी महाशाखाले दिएको छ ।

धान रोपाइँको समय रहेका बेला राम्रो वर्षा नहुँदा नेपालको प्रमुख कृषि उपज धान बाली प्रभावित हुन पुगेको कृषि मौसमविद् रामेश्वर रिमालले जानकारी दिनुभयो । नदी, तलाउका पानीले सिँचाइ गरेर लगाएका धानका बिउ खडेरीले सुक्न थालेका थिए । वर्षा नभए पनि अहिलेसम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत धान रोपाइँ भएको छ । मधेशमा तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ । गत वर्ष असार मसान्तसम्म ६१.५ प्रतिशत धान रोपाइँ भएको थियो । हालसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ९३.१ प्रतिशत रोपाइँ भएको छ ।

त्यस्तै कोशी प्रदेशमा हालसम्म ४१.३२, बागमतीमा ७५.३१, गण्डकीमा ६६.९९, लुम्बिनीमा ७३.६८ र कर्णाली प्रदेशमा ८३.२३ प्रतिशत रोपाइँ भएको छ । धान रोपाइँ सकिएका अधिकांश स्थानमा बढी वर्षा हुँदा खेतमा हालेको पोषण तत्व बगाउने, आली भत्कने, धानका बोट डुबानमा पर्ने सम्भावना रहेकाले पानीको निकास खुलाउन रिमालले सुझाउनुभयो । उहाँले भन्नुभयो, “जरा गाडिसकेका धानका बिरुवा सुके पनि वर्षा सुरु भएपछि त्यो तङ्ग्रेर आउँछ, किसानहरूले धन्दा मान्नु पर्दैन ।”

देशभरको रोपाइँको तथ्याङ्क अनुसार ५९ प्रतिशत मात्र रोपाइँ भएको छ । नेपालमा १३ लाख ८३ हजार ७३२.९८ हेक्टर क्षेत्रफलमा धन रोपाइँ हुने गरेको छ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button