मूल खबरहेड लाइन

मेलम्ची बाढीको पीडा : वारिपारि हेर्दै चित्त बुझाउँदै

तस्बिर : कविन अधिकारी

चाँदनी हमाल

मेलम्ची, असार ३२ गते । विसं २०७८ असारमा आएको बाढीले थिलथिलो बनाएको मेलम्ची बजार र आसपास बस्तीका बासिन्दा अझै भयरहित बाँच्न सकेका छैनन् । डरलाग्दो बाढीको विपत्बाट उठ्न खोज्दै गर्दा हरेक वर्ष मनसुनी बाढीले उनीहरूलाई तर्साइरहन्छ ।

बाढीले कुरूप पारेको नदी किनारको सुन्दर मेलम्ची बजार अहिले पनि छिन्नभिन्न छ । तथापि नबगेका घरभित्र पसेको बाढी र बालुवाका थुप्रा पन्छाएरै फेरि जिउन थालेको स्थानीय दुग्ध व्यवसायी भीमप्रसाद दुलाल बताउनुहुन्छ । दुध सङ्कलन केन्द्रका सामान बाढीले डुबाएको र गेग्य्रानमाथि उक्लेर टुलु टुलु हेर्नु परेको उहाँ सम्झनुहुन्छ । उहाँले भन्नुभयो, “मेरो त एकदुई वटा सामान निकाल्न सकेँ, अझ परतिर धेरैका घर बालुवामा पुरिए, कसैका बगे, कसैका खण्डहर बने ।”

उहाँले भन्नुभए जस्तै अझै पनि धेरै घर खोलाभित्र धसिएको देख्न सकिन्छ । खोलाको बिच धारमा परेका घरका भग्नावशेषहरूमा अहिले पनि बाढी छिरेर बगिरहेको छ । गुफाडाँडा र अर्को गाउँ जाने एउटा झोलुङ्गे पुल बनेको छ तर अति प्रभावित हेलम्बु र अरू गाउँ जोड्ने हेलम्बु वारपारका पुल बनेका छैनन् ।

अहिले बर्सातका बेला बढेको बाढी वारि मेलम्ची बजारकाले वारिबाटै र पारि हेलम्बुवासीले पारिबाटै एकअर्कालाई देखादेख गरेर चित्त बुझाउने गरेका छन् । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले वारिबाट पारि हेर्दै भन्नुभयो, “ल हेर्नुस् त हामी चार वर्ष भयो यसरी वारिपारि हेराहेर गर्दै दिन बिताएको, कहिले पुल बन्ला र वर्षामा यता र उताको मिठोमसिनो साटौँला भनेर कुरिरहेका छौँ ।” वारि आउनै परे आधा घण्टाभन्दा बढी हिँडेर माथि उक्लेर गुफाडाँडातर्फको पुलबाट स्थानीयले आवतजावत गर्ने गरेका छन् ।

नदीले दुई धार बनाएपछि बजारको आधा जसो भाग खोलामा हेलिएको छ । पहिलेको बाटो र पुलका केही हिस्सा अहिले पनि बाढीको बिचमा तैरिरहेका छन् । विपत्पछिको आपत्कालीन राहतमा सबैको ध्यान केन्द्रित भए पनि मेलम्चीलाई उकास्ने बाटोमा ढिलासुस्ती भएको अनुभूति स्थानीयले गरेका छन् । पारि बनेका पक्की घरहरू पनि खोलाको बिचमा बाढीसँगै पौँठेजोरी खेलिरहेका देखिन्छन् ।

सिन्धुपाल्चोकको मेलम्ची बजारदेखि ५४ किलोमिटरमाथि गुफाडाँडाबाट लहरै सुन्दर हिमशृङ्खलाहरू देखिन्छन् । त्यहीँबाट पारिपट्टि रहेको सेमेसिदाङ हिमालमा २०७८ जेठ अन्तिम साता भीषण हिमपात भयो । त्यहीबेला काठमाडौँ आसपास बढेको तापक्रमको असर पनि उस्तै गरी हिमालमा पर्दै थियो । उक्त असरकै कारण हिमपातलगत्तै खसेको हिमपहिरोका कारण मेलम्चीमा २०७८ असार १ गते साँझ भीषण बाढी पस्यो ।

विज्ञहरूले तयार पारेको प्रतिवेदन अनुसार हेलम्बु गाउँपालिका–१, सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा ठुलो हिमपहिरो गएको थियो । चौरको चार भागमध्येको एक भाग हिमपहिरोसहित खसेर हिमबाढीमा परिणत हुँदै मेलम्ची र इन्द्रवती नदीमा मिसिँदा उग्र रूपमा मानव बस्ती पुगेको थियो । सार्वजनिक सरकारी प्रतिवेदन अनुसार बाढीले बगाएका २५ मध्ये पाँच जनाको शव फेला परे पनि अन्य बेपत्ता रहे ।

स्थानीय मेलम्ची र इन्द्रवती खोला लेदो बाढीले भरिँदा मेलम्ची बजार र आसपासका बस्ती धेरै पुरिए अनि बगे । हेलम्बु जाने पुल, मेलम्ची खानेपानीको पूर्वाधार सबै ध्वस्त बन्यो ।

स्थानीय भीमप्रसाद दुलाल थप्नुहुन्छ, “हामी फेरि उठेर हिँड्न खोजिरहेका छौँ तर हरेक वर्ष आउने बाढीले उठ्न खोजेका खुट्टालाई झस्काइरहन्छ, फेरि पनि बगायो भने के गर्ने भन्ने त्रास बढिरहन्छ ।” बाढीले डुबेका केही होटल तथा रिसोर्टले पुरिएका संरचना उधिनेरै सेवाग्राहीलाई सेवा दिन थालेका छन् । सबैभन्दा बढी मानवीय क्षति हेलम्बु गाउँमा भयो । मेलम्ची बजारमा अत्यधिक भौतिक पूर्वाधारको क्षति भयो । त्यस्तै इन्द्रावती गाउँपालिका र पाँचपोखरीसम्म क्षति पु¥याएको नगरप्रमुख आइतमान तामाङ सुनाउनुहुन्छ ।

जलवायुजन्य विपत् कसरी न्यूनीकरण गर्ने भनेर त्यसपछि चेत पलाएको छ । बारम्बार जलवायु परिवर्तन र यसको असरका बारेमा विज्ञसहितको अन्तर्क्रिया गरेर नागरिकलाई सचेत बनाउँदै पूर्वसूचना प्रणाली बलियो बनाउन लागिपरेको जानकारी उहाँले दिनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button