खेलकुद

पीपीएल नखेल्ने नेपाली खेलाडी

काठमाडौं – दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सबै तयारी सकिएको छ । आइतबार सुरु हुने पीपीएलमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र एक्स्पर्ट धनगढी ब्लुज गरि ६ शहरका ६ टोलीबीच प्रतिस्पर्धा हुने छ ।

लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा पछि शीर्ष टोली फाइनलमा पुग्ने छ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटर खेल्नुपर्ने समिकरण छ । पीपीएलको विजेताले २७ लाख र उप विजेताले १० लाख प्राप्त गर्ने छन् । समर्थक पनि पीपीएल हेर्न आतुर छन् । सिनियर टोलीका खेलाडी र अन्तर्राष्ट्रिय स्तरका टेलिभिजनमा देखिने खेलाडीको प्रर्दशन हेर्न समर्थक आतुर छन् ।

युवा खेलाडीलाई पीपीएल सिनियर टोलीसम्म पुग्ने राम्रो आधार बन्न सक्छ । लय बाहिर रहेका खेलाडीलाई आफुलाई प्रमाणित गर्दै सिनियर टोलीमा पुनरागमन गर्ने राम्रो अवसर हो । आफुलाई मन पर्ने खेलाडी रहेको टोलीलाई समर्थक र शुभचिन्तकले समर्थन गर्ने गर्दछन् । त्यस्तै पीपीएलमा केहि नेपाली खेलाडी खेल्ने छैनन् । पीपीएल नखेल्ने नेपाली खेलाडी यस प्रकार छन् ।

३. योगेन्द्र सिंह कार्की (अलराउन्डर)

राष्ट्रिय यू१९ टाली हुँदै घरेलु क्रिकेटमा छाएका अलराउन्डर योगेन्द्र सिंह कार्की पीपीएलमा देखिने छैनन् । सन् २०१६ मा यू१९ विश्वकप खेलेका योगेन्द्रले त्यस यता घरेलु फ्रेन्चाइज लिगमा निरन्तर अलराउन्डर प्रर्दशन गर्दै आएका थिए । तल्लोक्रममा ठूला सट खेल्न सक्ने योगेन्द्रले मध्यगतिमा बलिङ गर्ने गर्दछन् । पीपीएलमा एक्स्पर्ट धनगढी ब्लुजबाट २ खेलमात्रै मौका पाएका उनले १ विकेट लिनुको साथै २३ रन बनाएका थिए ।

योगेन्द्रले गत वर्ष इपीएलमा ललितपुरबाट ६ खेलमा ९ विकेट लिएका थिए । योगेन्द्रले इपीएलमा काठमाडौंले प्रस्तुत गरेका १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा ११ ओभरमा ५४–६ को अवस्थाबाट पुगेको ललितपुरलाई अविजित २८ रन जोड्दै हार टारेका थिए । बलिङतर्फ उनले २.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिदै म्यान अफ म्याच चुनिएका थिए । योगेन्द्रलाई एक्स्पर्ट धनजढी ब्लुजले फुकुवा गरेको थियो । तर अन्य टोलीले अनुबन्ध नगर्दा उनी पीपीएल बाहिर रहेका हुन् ।

२. सागर पुन (अलराउन्डर)

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सागर पुनले पनि पीपीएल खेल्ने छैनन् । गत पुषमा इपीएलमा काठमाडौं किंग्स इलाभेनबाट ललितपुरविरुद्ध बलिङ गर्ने क्रममा खुट्टामा समस्या देखिएपछि मैदान छाडेका सागरले डाक्टरको सल्लाह अनुसार दाइने खुट्टाको एंकलको शल्यक्रिया गरेका थिए ।

त्यसयता सागर मैदान बाहिर रहेका छन् । लामो समय देखी मैदान बाहिर रहेका सागरलाई बुटवल ब्लास्टर्सले फुकुवा गरेको थियो । सागरले गत पीपीएलमा बुटवलबाट ५ खेलमा २ विकेट लिनुको साथै ७९ रन बनाएका थिए । सागर नेटमा फर्किएपनि मैदान अझै फर्किएका छैनन् ।

१. सन्दीप लामिछाने (लेगस्पिनर)

लेग स्पिनर सन्दीप लामिछाने पनि पीपीएल खेल्ने छैनन् । गत वर्ष विराटनगरको कप्तानी गर्दै ५ खेलमा १० विकेट लिएका सन्दीपले पीपीएल नखेल्ने जनाएका छन् । दुइ साता अघि सन्दीपले आँखाको शल्यक्रिया गरेका थिए । सन्दीप अर्को साता देखी अष्ट्रेलियामा सुरु हुने बिग ब्यासको कारण पीपीएल नखेल्ने भएका हुन् । सन्दीप मेलबर्न स्टार्सबाट खेल्ने छन् । सन्दीपले नखेल्ने भएपछि विराटनगरले प्रदीप ऐरीलाई कप्तानको जिम्मेवारी दिएको छ । (हाम्रो खेलकुद)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button