
-देवेन्द्रकिशोर ढुङगाना
भोकले तर्सिएको शहर,
रातभर इन्टरनेटमा नारा खोज्दै
मान्छेले आफ्नो आत्मा बेच्दछ,
र भोलि बिहान पुनः “लाईक” र “फोलो” खोज्दै उठ्दछ
तर भोक मेटिँदैन —
न पेटको,
न स्वतन्त्रताको।
भोक —
यो शब्द केवल अन्नको अभाव होइन,
यो त न्यायको
हूँकार हो,
यो त
आवाजबिहीन हरुको
मौन चिच्याहट हो,
यो त मर्न नचाहेर पनि मर्न बाध्य
जनताको गहिरो करुणा हो।
हामी —
जेन जेडका सन्तान,
कफी र क्रान्तिबीच जन्मिएका विद्रोहीहरू हौ,
मोबाइलमा
क्रान्ति लेख्ने
तर सडकमा पनि टेकेका,
भर्चुअल आँधी र वास्तविक आँसुबीच बाँच्ने पुस्ता हौ।
हामीले देखेका छौँ
राजनीतिक नाटकहरू,
कुरा मात्र समाजवादका,
तर
पेटमा भात होइन,
विज्ञापन मात्र।
हामीले सुनेका छौँ
संविधानका मीठा शब्द,
तर गाउका बुढी आमा अझै भोकमा सुतेकी छिन।
भोक —
यो केवल नुन र चामलको कुरा होइन,
यो समानताको लड़ाई हो,
यो शिक्षा बिना सपनाको अधुरो चित्र हो।
मान्छे —
जुन नामले हामी गर्व गर्छौं,
तर कहिले कति पशुजस्तो बनाइन्छ,
कहिले कति मेशिनजस्तो।
हामीले प्रश्न गरेका छौँ —
किन सत्ता सधैं त्यहीँ मान्छेका हातमा पर्छ?
किन गाउँलेको आवाज शहरमा हराउँछ?
किन हाम्रो भविष्य पुराना किताबमा बाँधिएको छ?
हामी नयाँ पाना लेख्न चाहन्छौं,
जहा
भोकको नाममा कोही अपमानित नहोस्,
जहाँ मान्छेले मान्छे भएर बाँचोस्,
जहाँ ‘क्रान्ति’ केवल नारा होइन,
एक बाँच्ने शैली बनोस्।
हामी तिनीहरू हौं,
जसले टिकटोकमा गीत पनि गाउछौं,
र त्यही गीतमा भोकको व्यथा पनि पोख्छौं,
जसले ह्याशट्यागमा न्याय खोज्छौं,
र सडकमा हात पनि उठाउँछौं।
हाम्रो भोक —
पेट भन्दा ठूलो छ,
यो त स्वतन्त्र सोचको भोक हो,
यो त नयाँ युगीन सपना हो,
यो त पुरानो भ्रष्ट ढाँचा भत्काउने साहस हो।
मान्छे —
यो शब्द अब पुनः लेख्नुपर्छ,
किनकि मान्छेले मान्छे खान सिकिसक्यो,
र हामी त्यो चक्र तोड्न चाहन्छौं।
हामी भन्न चाहन्छौं
“हामीलाई
दया होइन
अवसर देऊ,
हामीलाई
दान होइन,
निर्णय देऊ,
हामीलाई
भाषण होइन,
न्याय देऊ।”
भोकको आवाज अब डिजिटल छैन,
यो सडकमा बज्ने ड्रम हो,
यो युवाको शिरमा उठेको आँधी हो।
जब सरकारले देख्दैन,
हामी पोस्ट गर्छौं — “देश जल्दैछ।”
तर त्यो पोस्टमात्र होइन,
त्यो एक उद्घोष हो
“अब हामी
चुप रहने छैनौं!”
हामी सहरका छतमा गीत गाउने युवाहरू,
र गाउँका बाटामा बिद्रोह लेख्ने किशोरहरू,
हामी ‘भोक’ लाई कवितामा बदल्छौं,
र ‘मान्छे’ लाई आत्मामा जागाउँछौं।
हाम्रो आन्दोलन रंगीन छैन,
तर हरेक हृदयको रंग उठेको छ —
लाल, निलो, हरियो र कालो —
सबै एक आवाजमा भन्छन् —
“हामी नयाँ देश चाहन्छौं।”
पुराना दलका झण्डा झर्छन्,
हामी डिजिटल झण्डा उचाल्छौं,
जहाँ कोड र कविता मिलेर भन्छन् —
“समानता केवल सपना होइन।”
भोकको देशमा,
मान्छेले अब बिक्नु बन्द गर्छ,
किनभने हामीले साँचो मूल्
बुझेका छौं —
अस्तित्वको, स्वाभिमानको, र स्वतन्त्रताको।
हामीले कसम खाएका छौं —
कि अब हरेक युवाको आँखा
एउटा बम बन्नेछ,
हरेक पेट
एक आवाज बन्नेछ।
भोक र मान्छेबीच अब द्वन्द्व छैन,
संबन्ध छ —
सचेतताको, सहअस्तित्वको, सृजनाको
रुप रंग छ।
जब युवा
‘कसरी बाँच्ने?’ भन्दछ,
हामी जवाफ दिन्छौं
“सपना देखेर, विद्रोह गरेर।”
जब जनता भन्छन् — “राजनीति गण्डागोल छ,”
हामी भन्छौं — “हामी सफा गर्न आएका छौं।”
जब नेता भन्छ — “देश चल्दैछ,”
हामी भन्छौं —
“देश जल्दैछ।”
किनकि हामीले देखेका छौं
भोकका आँखामा जल्दै गरेको भविष्य,
मान्छेका हातमा बाँधिएको वर्तमान।
तर अब ती हत्कडी फुट्ने छन्,
हामी गीत गाउनेछौं
“यो भोक अब हतियार हो,
यो मान्छे अब आन्दोलन हो।”
र हामी उभिनेछौं —
सहरका ढोकामा, गाउँका खेतमा,
डिजिटल पर्दा र सडकका ढुंगाबीच,
नारा लगाउनेछौं —
“भोकलाई अवसर, मान्छेलाई सम्मान!”
“पुरानो शासन,
नयाँ सोच!”
“हामी नै भविष्य हौं!”
भोक मर्ने छैन,
तर अब
झुक्ने पनि छैन।
मान्छे डराउने छैन,
तर अब
बेचिने पनि छैन।
र जब सूर्य पुनः उदाउँछ,
यो नयाँ युगको बिहान हुनेछ —
जेन जेडको क्रान्ति,
जहाँ पेट पनि तृप्त,
मन पनि स्वतन्त्र,
र मान्छे —
अधिकार सम्पन्न मान्छे हुनेछ।
भद्रपुर, झापा

