
न्युयोर्क । उत्तर अमेरिकी महादेशका तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा विश्व फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता फिफा विश्वकप फुटबलको २३ औँ संस्करण हुँदै छ । जुन ११ तारिखमा सुरु हुने विश्वकपमा पहिलो पटक ४८ टिमले प्रतिस्पर्धा गर्ने छन् । विगतमा ३२ टिमबिच विश्वकपमा भिडन्त हुने गर्दथ्यो ।
विश्वकपमा सहभागी राष्ट्रलाई चार/चार टिमको १२ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उपविजेता नकआउट चरणमा पुग्ने प्रावधान रहेको छ । विश्वकप फुटबल प्रतियोगिता–२०२६ को पहिलो खेल समूह ‘ए’ मा रहेका मेक्सिको र दक्षिण अफ्रिकाबिच मेक्सिको सिटीमा हुने छ । मेक्सिको विश्वकपको सहआयोजक हो । यस समूहमा चेक गणतन्त्र र दक्षिण कोरिया पनि रहेका छन् । चारै टिमको स्तर बराबर भएकाले यस समूहबाट नकआउट चरणमा पुग्ने टिमको अनुमान गर्न कठिन छ ।
मेक्सिको
४० वर्षपछि विश्वकप आयोजना गर्ने मौका पाएको मेक्सिको लामो समयदेखि कन्केकाफ क्षेत्रमा धाक जमाएको र विश्वकपमा प्रायः देखिने टिम हो । विश्वकपमा मेक्सिकोले १८ औँ पटक उपस्थिति जनाउँदै छ । ब्राजिल जस्तै मेक्सिकोको पनि फुटबल खेल्ने आफ्नै मौलिक शैली छ । यद्यपि मेक्सिकोले चार वर्षअघि कतारमा भएको विश्वकपमा समूह चरण पार गर्न सकेको थिएन । मेक्सिकोले यस पटक घरेलु मैदानमा सोही पीडा भुलाउने प्रयास गर्ने छ ।
यसअघि सन् १९९४ देखि २०१८ सम्म लगातार सात संस्करणमा मेक्सिकोको यात्रा प्रिक्वाटरफाइनलमा समाप्त भएको थियो । सन् १९७० र १९८६ मा आफैँले विश्वकपको आयोजना गर्दा भने मेक्सिकोले अन्तिम आठसम्मको यात्रा तय गरेको थियो । यसपालि मेक्सिकोले घरेलु मैदानमा अझ लामो यात्रा गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि मेक्सिकोले आफ्नो १७ वर्षीय गिल्बर्टो मोरामा धेरै आशा राखेको छ । गत वर्ष १६ वर्षकै उमेरमा राष्ट्रिय टिममा स्थान बनाएर उहाँ मेक्सिकोका सबभन्दा कान्छा अन्तर्राष्ट्रिय फुटबलर बन्नुभएको थियो ।
दक्षिण अफ्रिका
दक्षिण अफ्रिकाले सन् २०१० मा विश्वकप फुटबल प्रतियोगिताको आयोजना गर्ने गौरव प्राप्त गरेको थियो । यद्यपि दक्षिण अफ्रिकाले घरेलु मैदान र समर्थकको फाइदा उठाउन सकेन । फ्रान्सलाई २–१ ले स्तब्ध पारे पनि दक्षिण अफ्रिका समूह चरणबाट बिदा हुने विश्वकपकै पहिलो आयोजक राष्ट्र बनेको थियो । त्यसपछि दक्षिण अफ्रिकाले पहिलो पटक विश्वकप फुटबल खेल्दै छ । दक्षिण अफ्रिकाले कुल तीन पटक विश्वकप खेलेको छ । सन् १९९८ र २००२ को विश्वकपमा पनि दक्षिण अफ्रिकाको उपस्थिति रहेको थियो । दक्षिण अफ्रिकाले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन ।
यसपालि छनोट चरणमा अफ्रिकाको पावरहाउस नाइजेरियालाई पनि पछाडि पार्दै विश्वकपमा पुगेकाले दक्षिण अफ्रिकाले समूह चरण पार गरेमा आश्चर्य मान्नुपर्ने अवस्था छैन । प्रशिक्षक ह्युगो बु्रसले विश्वकपका लागि प्रायः घरेलु क्लबबाटै खेल्ने खेलाडीलाई विश्वास गर्नुभएको छ ।
दक्षिण कोरिया
दक्षिण कोरिया एसियाको पावरहाउस हो । एसियाका सबभन्दा बढी विश्वकप खेल्ने राष्ट्र हो दक्षिण कोरिया । दक्षिण कोरियाले १२ औँ पटक विश्वकपमा सहभागिता जनाउँदै छ । दक्षिण कोरिया विश्वकप फुटबलको सेमिफाइनल खेलिसकेको टिम हो । सन् २००२ मा जापानसँग संयुक्त रूपमा विश्वकपको आयोजना गर्दा दक्षिण कोरियाले पोर्चुगल, स्पेन र इटालीलाई हराएर तय गरेको अन्तिम चारसम्मको यात्रालाई अहिलेसम्म कसैले भुलेका छैनन् । यद्यपि सो विश्वकपपछि दक्षिण कोरियाले प्रिक्वाटरफाइनलमाथिको यात्रा गरेको छैन । चार वर्षअघि उरुग्वे र घाना जस्ता टिमलाई पछाडि पार्दै दक्षिण कोरियाले पोर्चुगलसँगै नकआउट चरणमा स्थान बनाएको थियो ।
यसपालि विश्वकप छनोटमा दक्षिण कोरिया अपराजित रह्यो । यसै गरी विश्वकपअगाडि भएका मैत्री खेलमा पनि आइभरिकोस्टलाई ४–० र अस्ट्रियालाई १–० ले हराएर दक्षिण कोरियाले आफू सानदार लयमा रहेको देखाइसकेको छ । दक्षिण कोरियाका प्रायः खेलाडी युरोपेली लिगमा खेल्छन् । सन हियुङ मिन विश्वका चर्चित फुटबलर हुनुहुन्छ । टोटेनहाममा लामो समय आबद्ध भएका मिन अहिले मेजर लिग सकरमा लस एन्जल्स एफसीका लागि खेल्नुहुन्छ । यसै गरी च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मनबाट खेल्ने मिडफिल्डर ली काङ इन र बायर्न म्युनिखका डिफेन्डर किम मिन जाइ पनि सो टिमका हेर्नलायक खेलाडी हुनुहुन्छ ।
चेक गणतन्त्र
चेक गणतन्त्रले युरोपेली प्लेअफमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराएर बल्लतल्ल अमेरिका/क्यानडा/मेक्सिकोको टिकट काटेको हो । चेक गणतन्त्र सन् २००६ पछि पहिलो पटक विश्वकपमा खेल्दै छ । सो विश्वकपमा चेक गणतन्त्र उच्च वरीयताका टिममध्ये एक थियो तर सो समय उसले समूह चरण पनि पार्न गर्न सकेन । ३५ वर्षीय पूर्वकप्तान भ्लाडिमिर डारिडाले सन्न्यास फिर्ता लिएर चेक गणतन्त्रलाई विश्वकपमा चयन हुन महत्वपूर्ण योगदान दिनुभएको छ । चेक गणतन्त्रले स्वतन्त्र हुनुअघि चेकोस्लोभाकियाको नाममा विश्वकप खेलेको इतिहास छ । चेकोस्लोभाकिया दुई पटक विश्वकप उपविजेता पनि बनेको थियो । एपी
गोरखापत्र अनलाइन



