
मित्र भण्डारी
काठमाडौँ, भदौ २३ गते । भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार ‘ब्रेक थ्रु’ नभएसम्म जारी राखिने भएको छ । नेपाली सेनाले क्षतिग्रस्त जलविद्युत् आयोजनाका सुरुङमा करिब १२१ जना फसेको आशङ्का गर्दै ‘ब्रेक थ्रु’ नहुन्जेल तथा सरकारले खोजी रोक्न निर्देशन नदिएसम्म सुरुङभित्र खोज उद्धार जारी रहने जनाएको हो ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सहायक रथी सुवासजङ्ग थापाले सरकारले काम रोक्ने निर्णय नगरेसम्म सुरुङमा खोजी जारी रहने स्पष्ट पार्नुभयो । थापाले भन्नुभयो, “‘ब्रेक थ्रु’ नभएसम्म खोज तथा उद्धारको काम रोकिँदैन । हामी तीव्रताका साथ निरन्तर खोजी तथा उद्धारमा परिचालन भइरहने छौँ ।” उहाँले बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका हुन सक्ने व्यक्तिको अवस्थाबारे यकिन गर्न सम्भावित सबै स्थानमा खोजी अघि बढाएको र सुरुङभित्र पुग्ने बाटोमा रहेका अवरोध हटाउँदै उद्धार टोलीले सम्भावित जीवनको सङ्केत खोजिरहेको पनि बताउनुभयो ।
खोजी चुनौतीपूर्ण
रसुवागढी जलविद्युत् आयोजनामा सेनाको खोज तथा उद्धार टोली आयोजनाका प्रतिनिधिसहित ‘पावरहाउस’ र ‘कन्ट्रोल प्वाइन्ट’ सम्म पुगेको पनि सहायक रथी थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएपछि सुरुङभित्रको खोजी चुनौतीपूर्ण बनेको छ तर सम्भावित मानवीय क्षति यकिन नभएसम्म खोजीलाई निरन्तरता दिने सेनाको तयारी छ ।
सुरुङभित्रको खोजी अहिले उद्धार अभियानको सबैभन्दा संवेदनशील चरणमा पुगेको जनाइएको छ । बाहिरबाट देखिने क्षतिको आकलनले मात्र भित्रको वास्तविक अवस्था पत्ता नलाग्ने भएकाले उद्धार टोलीले सुरुङका विभिन्न भागमा चरणबद्ध रूपमा खोजी गरिरहेको छ । सेनाले विपत् प्रभावित क्षेत्रमा सञ्चालन गरेको खोज तथा उद्धार अभियानलाई हवाई, जमिन र सुरुङ गरी तीन क्षेत्रमा विभाजन गरेको छ । नेपाली सेनाले तीन वटै मोर्चामा जनशक्ति र स्रोतसाधन परिचालन गरी खोज तथा उद्धार अगाडि बढाइएको जनाएको छ ।
सैनिक प्रवक्ता, सहायक रथी राजाराम बस्नेतले नेपाल सरकारको निर्देशनबमोजिम विपत्मा सहयोग गर्ने सम्बद्ध सबै निकायसँग समन्वय र सहकार्य गरेर खोज तथा उद्धारको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीग्रस्त क्षेत्रको खोज तथा उद्धारसँगै पुनस्र्थापनाका लागि हवाई, जमिन र टनेल खोज तथा उद्धार गरी तीन वटा क्षेत्रमा बाँडेर काम भइरहेको छ । अन्तिम परिणाम नआउन्जेल हामी यसलाई जारी राख्छौँ ।”
उहाँले सुरुङभित्रको खोजीमा नेपाल आएका विदेशी उद्धारकर्मीसँग समेत सहकार्य गरिएको बताउँदै कठिन भौगोलिक अवस्था, बाढीले क्षतिग्रस्त संरचना र सुरुङभित्रको जोखिमबिच स्वदेशी तथा विदेशी उद्धारकर्मीको प्राविधिक सहयोग उपयोग गरिएको बताउनुभयो ।
विपत्को उद्धारमा खटिएको नेपाली सेनाले आफ्नै ४५ जना सैनिकसमेत बेपत्ता रहेको जनाएको छ । सहायक रथी बस्नेतका अनुसार विपत्का क्रममा बेपत्ता भएका सैनिकको खोजीसमेत निरन्तर भइरहेको छ ।
उद्धार र राहतमा वैकल्पिक मार्ग
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले बाढी प्रभावित अधिकांश क्षेत्रमा राहत सामग्री पुगिसकेको बताउनुभयो । उहाँले अहिले हेलिकोप्टरलाई खोज तथा उद्धारमा प्राथमिकता दिइएकाले हवाई पहुँच आवश्यक पर्ने केही स्थानमा राहत पुर्याउन कठिनाइ भएको पनि बताउनुभयो । हेलिकोप्टर पुग्न सक्ने त्रिशूली, रसुवालगायत नजिकका स्थानलाई आधार बनाएर त्यहाँबाट प्रभावित क्षेत्रमा खाद्यसामग्री पुर्याउने प्रयास भइरहेको डा. उप्रेतीले जानकारी दिनुभयो ।
उहाँले स्थानीय तहसँग निरन्तर समन्वय गरी राहत वितरणको व्यवस्था मिलाइएको र विपत् प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियान निरन्तर चलिरहेको जानकारी दिँदै छिमेकी मुलुकसँग समेत समन्वय गरी आवश्यक सहयोग लिइरहेको बताउनुभयो । प्राधिकरणले खोज तथा उद्धार र राहतका लागि राज्यका सबै उपलब्ध संयन्त्र परिचालन गरिएको र सुरक्षा निकायलाई चौबिसै घण्टा परिचालन गरी प्रभावित क्षेत्रमा उद्धार, राहत र व्यवस्थापनको काम निरन्तर चलिरहेको पनि जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।



