मूल खबरहेड लाइन

सुरुङभित्र जीवनको खोजी

इश्वरचन्द्र झा

काठमाडौँ, भदौ २२ गते । भोटेकोशी नदीमा बाढी गएको १० औँ र ११ औँ दिनमा गरी चार जनाको उद्धार भएपछि प्रभावित क्षेत्रमा सम्पर्कविहीन व्यक्तिको उद्धारको आशालाई अझै जीवित राखेको छ । नेपाल सरकारले उपलब्ध सबै संयन्त्रलाई परिचालन गरी उद्धारलाई निरन्तरता दिएको छ । खोज तथा उद्धारमा विदेशका सुरुङविज्ञसमेत सहभागी छन् ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उद्धार तथा खोज कार्यको संयोजन गर्नुभएका उपसचिव रामबहादुर केसीका अनुसार भारत, चीन र दक्षिण कोरियाका विज्ञ सम्मिलित टोलीले नेपाली सेनाको नेतृत्वमा खोज तथा उद्धारलाई निरन्तरता दिएको छ । जलविद्युत् आयोजनाको सुरुङ र घरबस्ती तथा बजार क्षेत्रमा गरी दुई तहमा उद्धार तथा खोजी भइरहेको छ । हेलिकोप्टरबाट नेपाली सेना, स्थलमार्गबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा सुरुङभित्र सेनाको नेतृत्वमा विदेशी विज्ञ टोलीले उद्धार गर्दै छन् । भदौ १० गते बिहान ८:३७ बजे आएको भोटेकोशी बाढीबाट तीन जिल्लाका १५ वटा पालिका प्रभावित छन् । नुवाकोट र रसुवामा भोटेकोशी र त्रिशूली नदी वरिपरिका बस्ती तथा पूर्वाधार बाढीले अति प्रभावित छन् ।

दुई जिल्लाका ११ वटा जलविद्युत् आयोजनामा कार्यरत व्यक्तिको खोजी तथा उद्धार जटिल बनेको छ । जलविद्युत्का ११ आयोजनामध्ये नौ वटाको सुरुङमा खोजी कार्य भइरहेको छ । जलविद्युत् आयोजनामा फँसेका तीन जनाको हालसम्म जीवितै उद्धार गरिएपछि सुरुङ र आयोजनास्थलमा अझै जीवित व्यक्ति रहने सम्भावनाले खोजी कार्य तीव्र बनाइएको विपत् प्राधिकरणका उपसचिव केसीले बताउनुभयो।

त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कामदारको उद्धारमा संलग्न प्रतिनिधि सभाका सदस्य श्रीराम न्यौपानेले जलविद्युत् आयोजनाको सुरुङ र पावरहाउसमा पानी चुहिएको र अक्सिजनको न्यून आपूर्ति छ भने जीवितै उद्धारको सम्भावना अझै कायम रहेको बताउनुभयो । बाढी गएको चौथो दिन भदौ १३ गते त्रिशूली थ्री ‘ए’ पुग्नुभएका न्यौपाने भदौ २० गते शनिबार काठमाडौँ फर्किनुभएको छ । सो आयोजनाबाट सञ्जय साह र कविर महर्जन दुई जनाको भदौ १९ गते उद्धार गरियो । माथिल्लो त्रिशूली–१ बाट भदौ २० गते शनिबार चिनियाँ नागरिक र वेत्रावतीबाट चण्डिका श्रेष्ठलाई उद्धार गरिएको छ ।

उद्धारपछि अस्पतालमा नेपाली सेनाका अधिकारीहरूसँग कुराकानीका क्रममा साहले कार्यरत अन्य कामदारलाई बाहिर पठाउँदा पठाउँदै आफैँ थुनिएको बताउनुभयो । सुरुङभित्र करिब २१७ घण्टा बिताएका साहले “आज कति गते हो ? म १० गते बिहान करिब १० बजे त्रिशूली थ्री ‘ए’ मा फसेको थिएँ,” बताउँदा सुरुङभित्र बिताएको समयको कहालीलाग्दो अवस्था दर्साउँछ । सो जलविद्युत् आयोजनाको उद्धार समन्वयमा संलग्न न्यौपानेका अनुसार भूमिगत पावरहाउसको पाँच तलासम्म पानी र लेदो भरिएको थियो ।

प्राधिकरणका उपसचिव केसीका अनुसार बाढी जाँदा ११ जलविद्युत् आयोजनामा करिब ९३३ जना कार्यरत थिए । त्रिशूली थ्री ‘ए’ आयोजनामा ७५ जना कार्यरत रहेकोमा करिब ४० जना अझै सम्पर्कविहीन छन् । मिनी एक्साभेटर, बाढीले ल्याएको लेदो हटाउने उपकरण तथा ड्रोनको प्रयोग गरी खोजी कार्य हुँदै छ । सुरुङभित्र मान्छे छन् वा छैनन्, पहिल्याउने प्रविधि नहुँदा जलविद्युत् आयोजनामा फसेकाको खोजीमा कठिनाइ भएको केसीले बताउनुभयो ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक धीरेन्द्र चौधरीले उद्धारमा भइरहेका चुनौतीबारे भन्नुभयो, “विद्युत् आयोजनास्थलको क्षेत्रफल ठुलो रहेको, कुन व्यक्ति कुन क्षेत्रमा रहेको, बाढी आउँदा को कता गए, यकिन नभएको तथा आयोजना प्रवेशमार्ग (सुरुङ) भित्र लेदो र त्यसमाथि पानी तथा ठुलठुला ढुङ्गा र चट्टान छन् ।”

निर्देशक चौधरी प्रभावित जलविद्युत् आयोजनामा फसेका कर्मचारीको खोज तथा उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणको प्रतिनिधित्व गरी संयोजन गर्नुभएको छ । नेपाली सेनाले विभिन्न राष्ट्रका विज्ञहरूसँगको समन्वयमा सुरुङबाट लेदो हटाएर प्रवेशमार्ग भएर आयोजनाभित्रको पावरहाउसलगायत क्षेत्रमा पहुँच बनाउँदै छ । त्रिशूली थ्री ‘ए’ मा पावरहाउससम्म पुग्न प्रयोग हुने तीन वटा प्रवेश मार्गमध्ये सबैभन्दा छोटो १६० मिटरको विकल्प रोजेर अवरोध पन्छाउँदै गएपछि सञ्जय र कविरको उद्धार भएको न्यौपानेले बताउनुभयो।

‘एघारौँ दिनको जीवित उद्धारले आशा गर्न सकिन्छ’

डा. रमेशकुमार महर्जन

आकस्मिक चिकित्सा विभाग

त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

मानिस कति दिनसम्म बाँच्न सक्छ भने विषय ऊ बसिरहेको वरिपरिको वातावरणले निर्धारण गर्छ । बाँच्ने न्यूनतम आधार अक्सिजनको आपूर्ति हो । ठ्याक्कै यति दिन भन्ने अवस्था नरहे पनि बाहिरी अक्सिजनसँगै शरीरभित्र सञ्चित रहेको ऊर्जाको उपयोग गरी मानिस लामो समय बाँच्न सक्छ । बाहिरबाट ऊर्जा प्राप्त नहुँदा शरीरभित्रको ग्लुकोज, लिभरको ग्लाइकोज, मांसपेशीको प्रोटिन र बोसोबाट प्राप्त हुने किटोनले ऊर्जाको काम गर्छ । काम गर्ने अवस्था नरहेपछि ऊर्जा खपत कम हुने भयो ।

शरीरभित्रको पानी ‘पुनप्र्योग’ भइरहन्छ । अर्को प्रमुख तत्व भनेको इच्छाशक्ति हो । इच्छाशक्तिले हर्मोन उत्पादन हुने र भित्री ऊर्जाले मस्तिष्कलाई बाँच्ने क्षमता प्रदान गर्छ । शरीरको तापक्रम सन्तुलित रहनु पर्‍यो । अनुकूल वातावरणमा मस्तिष्कको थैलमसले शरीरको तापक्रमलाई नियन्त्रणमा राख्छ । १० औँ र ११ औँ दिनमा उद्धार गरिएकाहरूबाट हामीले के हेर्न सक्छौँ भने उहाँहरू बसेको ठाउँमा अक्सिजनको आपूर्ति थियो । यसले अरू पनि जीवित रहेको सम्भावनालाई नकार्न सकिन्न ।

उद्धारको अन्तर्राष्ट्रिय अभ्यास

सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य सधैँ कठिन हुन्छ । नेपालमा भोटेकोशी बाढीले बगाएर ल्याएको लेदो, ढुङ्गा तथा बालुवाले जलविद्युत् आयोजनाको मुख्य स्थलसम्म प्रवेशमार्गका लागि तयार गरिएको सुरुङ थुनिएपछि खोज तथा उद्धार जटिल भएको हो ।

सुरुङमा फसेकाको उद्धार तथा खोजी कार्य अत्यन्तै कठिन मानिए पनि नेपालको भोटेकोशी बाढीले क्षति पुर्‍याएको आयोजनाको भौगोलिक अवस्थिति, सुरुङमा भरिएको लेदो र पानी तथा ढुङ्गाले उद्धार कार्य अरूभन्दा पृथक् बनाएको सुरुङविद्समेत रहेका अस्ट्रेलियाका प्राध्यापक डा. आर्नोल्ड डिक्सले सार्वजनिक रूपमा उल्लेख गर्नुभएको छ ।

प्राध्यापक डिक्स यसअघि भारतको सिल्कायरा सुरुङमा थुनिएकाहरूको उद्धारमा संलग्न हुनुहुन्थ्यो । सुरुङभित्रको वातावरणबारे उहाँ ‘बाहिरको अवस्था हेरेर अनुमान गरिएभन्दा मानिस सुरुङभित्र लामो समयसम्म जीवित रहनसक्ने’ बताउनुहुन्छ । उद्धारको लामो अनुभव रहेका डिक्स शनिबार नेपाल आएपछि हाल नुवाकोट र रसुवाको जलविद्युत् आयोजनामा फसेकाहरूको खोजी तथा उद्धारमा संलग्न हुनुहुन्छ । सिल्कायरामा ४१ जना कामदारलाई १७ दिनसम्मको प्रतीक्षापछि सफल उद्धार गरियो ।आजको गोरखापत्र दैनिकमा खबर छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button