
मेचीनगर ।
जंगली हात्तीबाट प्रभावित मेचीनगरका बासिन्दाहरूले प्रस्तावित हात्ती कोरिडोर योजनाविरुद्ध संगठित अभियान सुरु गरेका छन्। मेचीनगर नगरपालिका वडा नं. १, २, ३ र ४ का जंगली हात्ती प्रभावित बासिन्दाहरूको प्रतिनिधिमूलक भेलाले ‘कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान’ गठन गरेको हो।
भदौ १४ गते सम्पन्न भेलाले नागरिक अगुवा तथा साविक बाहुनडाँगी गाविसका पूर्व अध्यक्ष नीलकण्ठ तिवारीको संयोजकत्वमा १०५ सदस्यीय अभियान समिति गठन गरेको जनाइएको छ।
अभियानले नेपाल सरकारले हात्ती संरक्षण योजनाअन्तर्गत कोशीटप्पुदेखि मेची नदी किनारसम्म जैविक मार्ग अर्थात् हात्ती कोरिडोर निर्माण गर्न लागेको भन्ने सार्वजनिक भएको सूचनाप्रति गम्भीर चासो व्यक्त गरेको छ।
अभियानका अनुसार संरक्षणवादी भनिने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको प्रभावमा अघि बढाउन खोजिएको भनिएको प्रस्तावित कोरिडोर योजनाले यस क्षेत्रमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको इतिहास, सभ्यता, कृषि भूमि तथा सुरक्षित मानव बसोबासमा प्रतिकूल असर पार्न सक्ने अवस्था रहेको दाबी गरिएको छ।
अभियानले प्रस्तावित योजनाबारे प्रभावित क्षेत्रका नागरिकसँग पर्याप्त छलफल र समन्वय हुनुपर्ने मागसमेत अघि सारेको छ।
सरकारलाई योजना फिर्ता लिन दबाब दिने तयारी
अभियानको मुख्य उद्देश्य मेचीनगरदेखि कोशीटप्पुसम्मका जंगली हात्ती प्रभावित क्षेत्रका बासिन्दासँग सम्पर्क, समन्वय र सहकार्य गरी प्रस्तावित हात्ती कोरिडोर योजनाबाट स्थानीय क्षेत्रमा पर्न सक्ने प्रभावबारे तथ्य सार्वजनिक गर्नु रहेको बताइएको छ।
त्यसैगरी, प्रस्तावित कोरिडोर योजना यस क्षेत्रको इतिहास, सभ्यता, कृषि भूमि र सुरक्षित मानव बसोबासका दृष्टिले प्रतिकूल रहेको तथ्य उजागर गर्दै सरकारलाई उक्त योजना फिर्ता लिन जनदबाब सिर्जना गर्ने अभियानको लक्ष्य रहेको जनाइएको छ।
अभियानले हात्ती संरक्षण र मानव बस्तीको सुरक्षाबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएको छ। जंगली हात्तीका कारण वर्षौंदेखि जनधनको क्षति बेहोर्दै आएका स्थानीय बासिन्दाको समस्या समाधान नगरी नयाँ संरचनात्मक योजना अघि बढाउन नहुने अभियानको धारणा छ।
२५ सदस्यीय सचिवालय गठन
अभियानको कामलाई थप प्रभावकारी, तदारुक र व्यवस्थित रूपमा अघि बढाउन २५ सदस्यीय सचिवालयसमेत गठन गरिएको छ।
सचिवालयको संयोजकमा नीलकण्ठ तिवारी (मेचीनगर–४), सहसंयोजकमा गोपीकृष्ण रिजाल (मेचीनगर–२) र सन्तोष सुवेदी (मेचीनगर–४) रहेका छन्।
त्यस्तै, सचिवमा रमेश दाहाल (मेचीनगर–४) र विशालकृष्ण बाँस्तोला (मेचीनगर–२), कोषाध्यक्षमा पार्वता न्यौपाने (मेचीनगर–२) तथा सहसचिवमा कोषराज भट्टराई (मेचीनगर–३) र देवेन्द्र थापा (मेचीनगर–१) रहेका छन्।
सचिवालय सदस्यहरूमा बृहस्पति खतिवडा (मेचीनगर–३), गोविन्द न्यौपाने (मेचीनगर–४), निरज घिमिरे (मेचीनगर–४), हेमलाल गुरागाईं (मेचीनगर–१), पासाङ तामाङ (मेचीनगर–१), सूर्यबहादुर राई (मेचीनगर–१), हरिप्रसाद चम्लागाईं (मेचीनगर–२), मेघराज खड्का (मेचीनगर–४), पुष्प गुरागाईं (मेचीनगर–३), रत्न के.शी. (कार्की) (मेचीनगर–१), लीला न्यौपाने (मेचीनगर–१), गंगा कार्की (मेचीनगर–२), इन्दिरा पोखरेल (मेचीनगर–२), पवन बराइली (मेचीनगर–४), तीर्थराज नेपाल (मेचीनगर–४), सागर कार्की (मेचीनगर–४) र लीला ढकाल (मेचीनगर–२) रहेका छन्।
साविक शान्तिनगरमा पनि समन्वय समिति
यसैबीच अभियानले मेचीनगरबाहेक अन्य हात्ती प्रभावित क्षेत्रमा समेत संगठन विस्तार गर्न थालेको छ।
भदौ १६ गते कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियानको आह्वान तथा बुद्धशान्ति गाउँपालिका वडा नं. ५ को सहजीकरणमा साविक शान्तिनगर क्षेत्रमा बसोबास गर्ने जंगली हात्ती प्रभावित बासिन्दाहरूको प्रतिनिधिमूलक भेला सम्पन्न भएको जनाइएको छ।
भेलामा बुद्धशान्ति गाउँपालिका वडा नं. ४, ५, ६ र ७ का वडा अध्यक्ष, गाउँपालिका सदस्य तथा वडा समिति सदस्यहरूको समेत उपस्थिति रहेको थियो।
भेलाले अभियानमा सक्रिय सहयोग तथा समन्वय गर्न तीरप्रसाद खतिवडाको संयोजकत्वमा ‘कृषि भूमि तथा सुरक्षित मानव बसोबास क्षेत्र बचाउ अभियान–साविक शान्तिनगर समन्वय समिति’ गठन गरेको छ।
समितिमा नारायण दाहाल (वडा नं. ५), श्याम धिमाल (वडा नं. ५), विरेन शेर्मा (वडा नं. ४), वुमन खालिङ राई (वडा नं. ४), आयुष निरौला (वडा नं. ६), खगेन्द्रप्रसाद गड्तौला (वडा नं. ७), चन्द्रकला भट्टराई (वडा नं. ५) र कविता दाहाल (वडा नं. ५) रहेका छन्।
कोशीटप्पुसम्म अभियान विस्तार गरिने
अभियानले अब मेचीनगरदेखि कोशीटप्पुसम्मका जंगली हात्ती प्रभावित क्षेत्रलाई समेटेर अभियान विस्तार गर्ने तयारी गरेको छ।
यसका लागि उक्त क्षेत्रका विभिन्न स्थानीय तहसँग सम्पर्क, छलफल, समन्वय र सहकार्य गर्दै क्रमशः समन्वय समिति गठन गर्ने कार्यक्रम तय गरिएको अभियानले जनाएको छ।
अभियानले प्रभावित क्षेत्रका नागरिकको सहभागिता र सहमतिबिना हात्ती कोरिडोरसम्बन्धी कुनै पनि योजना अघि बढाउन नहुने धारणा राखेको छ। स्थानीय नागरिकको जमिन, बसोबास, जीविकोपार्जन र सुरक्षालाई प्राथमिकतामा राखेर मात्रै हात्ती संरक्षणसम्बन्धी नीति तथा योजना निर्माण गर्नुपर्ने अभियानको भनाइ छ।
मेचीनगरबाट सुरु भएको अभियानलाई कोशीटप्पुसम्म विस्तार गरी प्रभावित क्षेत्रका नागरिकलाई एउटै अभियानमा जोड्ने र प्रस्तावित हात्ती कोरिडोर योजनाबारे व्यापक बहस तथा जनदबाब सिर्जना गर्ने तयारी गरिएको छ।
यससँगै हात्ती संरक्षण र मानव बस्तीको सुरक्षा विषयमा सरकार, स्थानीय तह, संरक्षण क्षेत्रसँग सम्बन्धित निकाय तथा प्रभावित नागरिकबीच गम्भीर संवाद आवश्यक देखिएको छ। अभियानले भने आफ्नो मुख्य सरोकारका रूपमा ‘कृषि भूमि र सुरक्षित मानव बसोबासको संरक्षण’लाई अघि सारेको छ।



