कृषि र किसानखबरहेड लाइन

चिया निर्यातमा अवरोध हटाउन कूटनीतिक पहल

इलाममा विरोध र्‍यालीमा कृषक (बायाँ), प्रतिनिधि सभामा जवाफ दिनुहुँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी (दायाँ) ।

काठमाडौँ/इलाम/बिर्तामोड, असार ४ गते । भारतमा चिया निकासीमा उत्पन्न समस्या देखाउँदै चिया उद्योग बन्द भएको विषयमा नेपाल सरकारले कूटनीतिक समाधान खोज्न पहल थालेको छ ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले इलाम तथा झापामा उत्पादित चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक प्रयास भइरहेको बताउनुभएको हो ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले चिया तथा अलैँचीलगायत कृषि उपजको भण्डारण र बजारीकरणमा विशेष योजना बनाइएको बताउनुभएको हो । गत मे १ देखि २०२६ मा भारतीय टी बोर्डले भारत आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिड्युअर (एसओपी) लागु गरेको थियो । चिया आयातमा भारतले कडाइ गरेसँगै सहज रूपमा चिया पठाउन नसकेका इलामका चिया उद्योगी र किसान प्रदर्शनमा उत्रिएका छन् ।

मे १ देखि नै नेपाली चिया भारत निर्यातमा प्रयोगशाला परीक्षण प्रमाणीकरणको विषयले अवरोध भएकामा हाल भारत पुगिसकेको चियासमेत गोदाममा नै नष्ट गर्नुपर्ने अवस्था उत्पन्न भएपछि इलाम र झापाका चिया उद्योग बन्द छन् । सङ्घीय संसद्का बैठकमा सांसदले यो समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको छ । प्रतिनिधि सभा सदस्य निस्कल राईले बुधबारको बैठकमा समस्याको निराकरणका लागि आग्रह गर्नुभयो ।

भारतले पटक पटक यसरी अवरोध गर्ने गरेको भन्दै उद्यमी व्यवसायीले पनि तेस्रो मुलुकको बजारका लागि पहल गरिदिन सरकारसमक्ष आग्रह गर्दै आएका छन् ।

पटक पटक भारतसँग कूटनीतिक पहलको आग्रह गरेका चिया व्यवसायीको समस्याप्रति सरकारले चासो नदिएपछि उद्योग नै बन्द गर्न बाध्य भएको चिया व्यवसायीको भनाइ छ ।

इलाम नगरपालिकाले बुधबार प्रेस विज्ञप्ति जारी गरी किसान, श्रमिक, उद्योगी र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको चियाको उत्पन्न समस्यालाई तत्काल कूटनीतिक पहलमार्फत समाधान खोज्न सरकारलाई आग्रह गरिएको छ ।

पटक पटक भारतसँग कूटनीतिक पहल गर्न नेपाल सरकारलाई आग्रह गर्दा पनि सरकारले चासो नदिएको भन्दै चिया व्यवसायीले बुधबार इलामको सूर्योदय नगरपालिकामा प्लेकार्डसहित प्रदर्शन गरेका छन् । सूर्योदय नगरपालिकाका फिक्कल बजारस्थित गुम्बापथबाट निस्किएको विरोध ¥यालीले बजार परिक्रमा गरी सूर्योदय नगरपालिकाअगाडि कोणसभा गरिएको छ । कोणसभालाई नगरका कार्यवाहक प्रमुख दुर्गाकुमार बरालले सम्बोधन गर्नुभएको थियो । नगरपालिकाले यसअघि पनि सरकारलाई चियाको कूटनीतिक पहलबाट समस्या समाधान गर्न पत्राचार गरेको थियो ।

किसानबाट चिया खरिद गरेर पनि किसानको पैसा तिर्न नसकिने र चिया खरिद गरे पनि प्रशोधन गरेर भण्डारण गर्ने स्थान अभाव हुने हुँदा बाध्य भएर उद्योग बन्द गर्नु परेको सूर्योदय अर्थाेडक्स टी प्रोड्युसर्स एसोसिएनले जनाएको छ । एसोसिएसनले बिहीबारदेखि किसान र श्रमिकसहित चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको समेत बताइएको छ ।

दैनिक एघार लाख किलो हरियो पत्ती नष्ट

असार १ देखि इलामका ५३ वटा चिया उद्योग बन्द भएपछि चिया टिपाइको मुख्य सिजनमा अहिले दैनिक ११ लाख किलो चिया नष्ट हुन थालेको छ । सरदर प्रतिकिलो ५० रुपियाँका दरले पनि उक्त चियाको मूल्य पाँच करोड ५० लाख रुपियाँ हुन्छ । यो मूल्य किसानको हरियो पत्तीको मात्र हो ।

टिप्न ठिक्क भएको चिया बगानमै छोड्नुपर्दा किसान र दैनिक ज्यालामा काम गर्ने श्रमिकको रोजीरोटी नै गुम्न थालेको छ । त्यसै पनि दुई पात एक सुइरो चिया हुर्किएर गएपछि त्यसलाई गुणस्तरको मानिँदैन । चिया टिप्न एक/दुई दिन ढिलो हुँदा पनि धेरै नै हुर्किने र त्यसको मूल्य पनि कम पाइने गरेको किसान बताउँछन् ।

सूर्योदय नगरपालिका–५ की किसान चन्द्रकला पोख्रेलले चिया टिप्न नपाउँदा धेरै नै नोक्सान भएको बताउनुभयो । “दैनिक एक हजार पाँच सय किलो पत्ती आउँछ, हाम्रो चामल खाने, लुगा लगाउने, छोराछोरी पढाउने सबै काम चियाबाटै हुन्थ्यो । अब कसरी खर्च धान्ने होला ।” पोख्रेलले भन्नुभयो, “यो क्षेत्रमा बाँदर धेरै लाग्छ । धान, मकैलगायतका अन्न र तरकारी बाली बाँदरले नष्ट गरेपछि हैरान भएर चिया लगाएका थियौँ, त्यो पनि बिक्न छाड्यो, सरकारले हामी जस्ता किसानको पीडा किन बुझ्दैनन् ?” पोख्रेल जस्ता हजारौँ किसानको घरव्यवहार चियाको आम्दानीबाटै चलेको छ ।

टी एलाइन्स अफ नेपालले प्रेस विज्ञप्ति प्रकाशित गरेर वर्तमान परिस्थितिमा चिया निर्यात नहुँदा किसानको भुक्तानी दिन नसकेको भन्दै बिहीबारदेखि एलाइन्स आबद्ध सबै उद्योग बन्द हुने जनाएको छ ।

झापाका पनि बगान र उद्योग बन्द

इलामका चिया उद्योग बन्द गरेको तीन दिनपछि सोही समस्या देखाउँदै झापाका चिया उद्योगीले समेत बिहीबारदेखि आफ्ना सबै उद्योग बन्द हुने घोषणा गरेका छन् ।

नेपाल चिया उत्पादक सङ्घले बुधबार भद्रपुरमा पत्रकार सम्मेलनमा झापाका सानाठुला गरी ३० वटा उद्योग र दुई दर्जन चिया बगान बन्दको घोषणा गरेको हो । उद्योग र बगान बन्द हुँदा झापामा मात्रै ६० हजार श्रमिक बेरोजगार बनेका छन् । झापामा मात्रै १० हजारभन्दा बढी क्षेत्रमा व्यावसायिक चिया खेती हुँदै आएको छ ।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा ४५ दिनदेखि लगाएको अवरोध हटाउन राज्य र भारतपक्षबाट पहल नभएको भन्दै उद्योग र बगानसमेत बन्द गर्नुको विकल्प नरहेको बताउनुभयो ।

भारतपछि बङ्गलादेशमा समेत नेपाली चियाको माग भए पनि बङ्गलादेशले नेपालमा उत्पादन भएको चियामा भन्सार छुट नदिँदा उता निर्यात गर्न नसकिएको उद्योगीको भनाइ छ । भारतले भने चियामा पाँच प्रतिशत मात्र वस्तु तथा सेवाको शुल्क (गुड्स एन्ड सर्भिस ट्याक्स) लगाउँछ । चियाको करमा भने छुट दिएको छ । महँगो भन्सार शुल्ककै कारण बङ्गलादेशमा चिया निर्यात गर्न नसकिएको व्यावसायीको भनाइ छ ।

यसैबिच सङ्घले झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत नेपाल सरकारलाई यो समस्या समाधानको पहलका लागि ज्ञापनपत्र बुझाएको छ ।

(इलामबाट कोकिला ढकाल र बिर्तामोडबाट लीलाराज खड्काका साथमा)

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button