
एटलान्टा, असार ४ गते । विश्वकप फुटबल २०२६ मा प्रयोग गरिएको ‘हाइड्रेसन ब्रेक’ प्रतियोगिता सुरु भएको एक हप्ता नबित्दै आलोचित हुन थालेको छ ।
विश्वकपमा फिफाले प्रत्येक हाफको २२ औँ मिनेटतिर तीन/तीन मिनेटको हाइड्रेसन ब्रेक दिने व्यवस्था गरेको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने अत्यधिक गर्मीको सामना गर्न खेलाडीलाई सहयोग होस् भन्ने हेतुले हाइड्रेसन ब्रेक लागु गरिएको हो तर आलोचकहरू भन्छन्– यसले खेलको गतिलाई रोकेको छ । खेलको बिचमै प्रशिक्षकलाई रणनीति परिवर्तन गर्ने मौका दिइरहेको छ ।
उनीहरूले जर्मनी र कुरासाओबिचको खेलको उदाहरण दिएका छन् । जनसङ्ख्याको हिसाबले विश्वकपमा खेल्ने सबभन्दा सानो राष्ट्र कुरासाओ चार पटकको च्याम्पियन जर्मनीविरुद्ध एक समय १–१ ले बराबरीको स्थितिमा थियो । विश्वकपमा एउटा स्तब्धकारी नतिजा सम्भव थियो । त्यसपछि आयो, हाइड्रेसन ब्रेक । ब्रेकपछि जर्मनीको तुलनामा निकै कम अनुभव भएको कुरासाओले लय गुमायो र जर्मनीसँग ७–१ ले पराजित भयो ।
इङ्ग्ल्यानडका पूर्वस्ट्राइकर एलन सियररले भन्नुभयो, “मलाई वास्तवमै कुरासाओप्रति दुःख लाग्यो, उनीहरूले गोल फर्काएको सायद ३० सेकेन्डपछि खेल रोकियो । जसले उनीहरूको लय बिग्रियो ।” हुन त विश्वकप हुने सहरहरूमा तापक्रम ३२ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अपेक्षा गरिएको हुँदा खेलाडीको स्वास्थ्य चिन्ताको विषय हो तर आलोचकको भनाइ छ– हाइड्रेसन ब्रेकहरू प्रसारकहरूका लागि खेलको बिचमा विज्ञापनमा जाने बहाना मात्र हुन् ।
आयरल्यान्डका पूर्वअन्तर्राष्ट्रिय रोय केनले पनि भन्नुभएको छ, “हामीलाई खेलको गतिको कारण फुटबल मन पर्छ तर हाइड्रेसन ब्रेकले खेलको प्रवाह, गतिलाई रोकिरहेको छ ।” फिफाले मौसम जस्तोसुकै भए पनि ब्रेक हुने व्यवस्था लागु गरेको छ । गत सोमबार एटलान्टामा स्पेन र केप भर्डेको खेल छानामुनि र वातानुकूलित रङ्गशालामा भएको थियो तर सो खेलमा पनि हाइड्रेसन ब्रेक लिइयो ।
स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेले अत्याधिक गर्मीका अवस्थामा ब्रेक अर्थपूर्ण हुने तर प्रत्येक खेलमा यो आवश्यक नहुने बताउनुभयो । नर्वेका प्रशिक्षक स्टाल सोल्बाकेनले पनि उहाँको भनाइमा सहमति जनाउनुभएको छ ।
हाइड्रेसन ब्रेक खेलाडीलाई चिसो पेय पदार्थ पिउनका लागि भने पनि यो समय प्रशिक्षकले रणनीति परिवर्तन गर्ने अवसरका रूपमा लिएका छन् । नेदरल्यान्ड्सका प्रशिक्षक रोनाल्ड कोम्यानले यो ब्रेकले खेलाडीलाई रणनीति बताउन सहज भएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “यसलाई आफ्नो फाइदाको लागि विभिन्न तरिकाले प्रयोग गर्न सक्नुहुन्छ, जुन हामी गर्ने छौँ ।”
यस विश्वकपमा सुरुका १६ खेलमध्ये आठमा हाइड्रेसन ब्रेकको १० मिनेटभित्र गोलहरू भए । मोरक्कोले न्यु जर्सीमा ब्राजिलविरुद्ध मूल्य चुकायो । सुरुदेखि नै खेलमा प्रभुत्व जमाएर मोरोक्कोले पहिलो ब्रेकभन्दा ठिक अगाडि गोल ग¥यो । हाइड्रेसन ब्रेकपछि खेल पुनः सुरु भएको १० मिनेटभन्दा कम समयमा भिनिसियस जुनियरले गोल फर्काएपछि खेल बराबरीमा आयो र मोरोक्को स्तब्धकारी नतिजा निकाल्नबाट वञ्चित भयो । क्यानडा, अमेरिका, अस्ट्रेलिया, स्कटल्यान्ड, स्विडेन र इरान सबैले ब्रेकपछि तुरुन्तै गोल गरेर फाइदा उठाएका छन् । एपी
गोरखापत्र अनलाइन



