
भक्तपुर । गुरुकुल मार्फत वैदीक ज्ञान दिँदै आएको भक्तपुरको छालिङस्थित श्रीपन्चमहालक्ष्मी श्रीपीठ, श्रीधाममा योग, ध्यान तथा साउन्ड हिलिङसम्बन्धी विशेष प्रशिक्षण शिविर सम्पन्न भएको छ ।
अनन्त श्री विभुषित कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को संरक्षकत्वमा रहेको उक्त पीठमा रहेको गुरुकुलमा अध्ययनरत बटुक ब्राह्मण गुरु, , पीठका आचार्य गुरु तथा सेवकहरु लक्षित जीवनोपयोगी अभ्यास शिविर गरिएको आयोजकले जनाएको छ ।
श्रीपीठका मठाधीश स्वामी वासुदेव प्रपन्नाचार्यको मार्गदर्शनमा आयोजित कार्यक्रममा योग, ध्यान, प्राणायाम तथा ध्वनि चिकित्सा (साउन्ड हिलिङ) आधारित अभ्यासमार्फत शारीरिक, मानसिक र आध्यात्मिक सन्तुलनको महत्वबारे व्यावहारिक प्रशिक्षण दिइएको थियो ।
वैदिक जीवनपद्धतिमा योग, ध्यान, अनुशासन, गुरुसेवा तथा आध्यात्मिक साधनाको महत्वलाई केवल सैद्धान्तिक रूपमा नभई व्यवहारिक अभ्यासमार्फत बुझाउन यस्ता कार्यक्रम प्रभावकारी हुने स्वामी वासुदेवको भनाई छ ।
‘सनातन वैदिक परम्परामा योगलाई केवल शारीरिक व्यायामका रूपमा बुझ्नु हुँदैन । योगले शरीर, मन, प्राण र चेतनाबीच समन्वय स्थापित गर्दै मानिसलाई आन्तरिक शान्ति र आत्मबोधतर्फ अघि बढाउँछ । तसर्थ नयाँ पुस्तामा यसको व्यवहारीक शिक्षा दिनुपर्ने आवश्यकता महसुश गर्दै यस कार्यक्रम गरेका हौँ’, उनले भने ।
धार्मिक तथा आध्यात्मिक स्थलहरूलाई केवल कर्मकाण्डमा मात्र सीमित नराखी वैदीक सनातन परम्परा अनुरुप गुरुकुल शिक्षासँगै व्यवहारीक रुपमा योग, ध्यान, संस्कार, शारीरीक सँगै आत्मिक स्वास्थ्य, चेतना जागरण र मानव कल्याणका केन्द्रका रूपमा विकास गर्नका लागि आफुहरु मुक्तिनाथ बाबाको मार्गनिर्देशनमा निरन्तर लागिरहेको उनले बताए ।
कार्यक्रममा हिमालयन वेलनेस फाउन्डेसन, नेचुरल साउन्ड हिलिङ इन्टरनेसनल स्कुल तथा न्यू भिजन नेपालको सहकार्य तथा सहभागिता रहेको थियो । योग तथा साउन्ड हिलिङ प्रशिक्षक योगाचार्य अशोक शर्मा भट्ट, सबनम खड्गी, रानु फुयेल र रूपक अर्यालले सहभागीहरूलाई योगासन, प्राणायम, ध्यान तथा साउन्ड हिलिङका विभिन्न अभ्यास गराएका थिए ।
आधुनिक जीवनशैलीका कारण मानिसमा बढ्दै गएको मानसिक तनाव, असन्तुलन र अशान्तिका बीच योग, ध्यान तथा आध्यात्मिक साधनाको आवश्यकता अझ बढ्दै गएको योगाचार्य भट्टले बताए ।
विशेषगरी नयाँ पुस्तालाई योग, ध्यान, संस्कार र आध्यात्मिक जीवनपद्धतिसँग जोड्दै स्वस्थ तथा सन्तुलित जीवनशैलीतर्फ प्रेरित गर्न यस्ता कार्यक्रम उपयोगी हुने उनको धारणा छ ।
यस्ता कार्यक्रममार्फत शारीरिक स्वास्थ्यसँगै मानसिक शान्ति, आध्यात्मिक जागरण, आत्मअनुशासन र समग्र जीवनशैली सुधारमा योगदान पुग्ने भएकाले आगामी दिनमा पनि यस्ता खालको कार्यक्रम निरन्तरता दिने आयोजकले जनाएको छ ।



