खबर

इरान युद्धमा अमेरिकाको अठ्तिस अर्ब डलर खर्च

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प

काठमाडौँ, असोज १ गते । इरानविरुद्ध अमेरिकाले सञ्चालन गरिरहेको युद्धमा अमेरिकी रक्षा विभागको खर्च अगस्त १ सम्ममा ३८ अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ । अमेरिकी संसद्को गैरदलीय बजेट कार्यालयले सार्वजनिक गरेको मूल्याङ्कन अनुसार युद्धको तीव्रता अनुसार आगामी दिनमा अमेरिकाको सैन्य खर्च प्रतिमहिना तीन अर्ब डलर वा त्यसभन्दा बढी हुन सक्ने अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।

संसद्को बजेट कार्यालयले तयार पारेको उक्त मूल्याङ्कन अमेरिकी प्रतिनिधि सभाको बजेट समितिका शीर्ष डेमोक्रेट सांसद ब्रेन्डन बोयलको सूचनाको अनुरोधपछि तयार गरिएको हो ।

युद्धका कारण मुद्रास्फीति बढ्ने

बजेट कार्यालयका अनुसार इरान युद्धले अमेरिकी अर्थतन्त्रमा पनि असर पार्ने छ । युद्धका कारण सन् २०२७ को पहिलो त्रैमासिकसम्म मुद्रास्फीतिमा वृद्धि हुने अनुमान गरिएको छ । कार्यालयले यसअघि गरेको अनुमानको तुलनामा मुद्रास्फीति करिब ०.५ प्रतिशत बिन्दुले बढी हुने जनाएको छ । यसको प्रमुख कारणमध्ये इरानसँग सम्बन्धित द्वन्द्वका कारण हर्मुज जलमार्गबाट तेल तथा प्राकृतिक ग्यासको ढुवानीमा आएको कमी र लाल सागरबाट हुने समुद्री ढुवानीमा परेको अवरोधलाई उल्लेख गरिएको छ । हर्मुज जलमार्ग विश्वको महìवपूर्ण ऊर्जा तथा समुद्री व्यापारिक मार्गमध्ये एक हो । त्यहाँबाट हुने तेल तथा ग्यासको आपूर्तिमा अवरोध आउँदा अन्तर्राष्ट्रिय बजारमा ऊर्जा मूल्य तथा ढुवानी लागतमा दबाब पर्न सक्छ ।

सैन्य सामग्री पूर्ति गर्न ठुलो खर्च

बजेट कार्यालयका अनुसार युद्धमा भएको अमेरिकी खर्चको ठुलो हिस्सा युद्धमा प्रयोग भएर नष्ट वा क्षति भएका हतियार तथा सैन्य उपकरण पुनः पूर्ति गर्न खर्च भइरहेको छ तर ३८ अर्ब डलरभन्दा बढीको यो अनुमानमा युद्धका क्रममा मारिएका वा घाइते भएका अमेरिकी सैनिकसँग सम्बन्धित खर्च समावेश गरिएको छैन । त्यस्तै पूर्वसैनिकका लागि भविष्यमा आवश्यक पर्न सक्ने स्वास्थ्य उपचार, अपाङ्गता क्षतिपूर्ति तथा अन्य दीर्घकालीन सुविधाको खर्च पनि यसमा समावेश छैन ।

अनुमानसँग मिल्दोजुल्दो

बजेट कार्यालयको नयाँ अनुमान अमेरिकी रक्षा सचिव पिट हेगसेथले यसअघि दिनुभएको अनुमानसँग पनि धेरै हदसम्म मिल्छ । हेगसेथले अमेरिकी संसद्को माथिल्लो सदनमा दिएको बयानका क्रममा इरान युद्धको अमेरिकी सैन्य खर्च करिब ३७.५ अर्ब डलर पुगेको बताउनुभएको थियो । नयाँ मूल्याङ्कनले अगस्त १ सम्ममा रक्षा विभागको खर्च ३८ अर्ब डलर नाघिसकेको देखाएको छ ।

करदातामाथि आर्थिक भार

प्रतिनिधि सभाका बजेट समितिका शीर्ष डेमोक्रेट सांसद ब्रेन्डन बोयलले युद्धको मानवीय क्षतिसँगै यसको आर्थिक प्रभावबारे पनि चिन्ता व्यक्त गर्नुभएको छ ।

गोरखापत्र अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button