काठमाडौं
अभिनेत्री रेखा थापाको एकछत्र राज तोड्दै नेपाली फिल्ममा जबरजस्त रुपमा प्रवेश गरेकी प्रियंका कार्कीलाई केही वर्ष अगाडिसम्म ‘नम्बर वान अभिनेत्री’ भन्ने गरिन्थ्यो । मेकरहरु उनलाई फिल्ममा लिन हानाथाप गर्थे । आफ्नो राम्रो क्रेज भएको बेला उनले थुप्रै फिल्ममा अभिनय गरिन् । तर, गुणस्तरिय फिल्ममा ध्यान नदिँदा उनले आफ्नो क्रेज लामो समय बचाइराख्न सकिनन् ।
केही वर्ष अगाडिसम्म प्रियंका विना फिल्म नबनाउने भन्दै हिँड्ने निर्माताहरु अहिले नयाँ अभिनेत्री लिएर जोखिम उठाउन तयार हुन्छन् । तर, उनलाई लिने हिम्मत गर्दैन । कतिपय उनको करिअर ओरालो लाग्नुमा अभिनेता आयुष्मान देशराज जोशीसँगको प्रेम सम्बन्धलाई प्रमुख कारण मान्छन् । हुन पनि आयुष्मानसँग प्रेममा पर्नुभन्दा अगाडि उनको नेपाली फिल्ममा राम्रो बोलबाल थियो ।
‘नाईं नभन्नू ल’ र ‘छक्का पञ्जा’ सिरिजले उनको डुब्न लागेको करिअर जेनतेन बचाइराखेको छ । तर, यी फिल्मका सिरिजमा पनि उनको भूमिका क्रमशः छोटिँदै गएको छ । निर्माणको तयारीमा रहेका ‘नाईं नभन्नू ल ६’ र ‘छक्का पञ्जा ४’ मा अभिनेत्री प्रियंकाको अभिनय रहने सम्भावना न्यून रहेको स्रोत बताउँछ । फिल्ममा अरुलाई नै अभिनेत्रीको रुपमा लिने सोचमा निर्माता छन् ।
अभिनेत्री प्रियंका पछिल्लो पटक फिल्म ‘प्रेम दिवस’ मा देखिएकी थिइन् । यसमा उनको प्रेमी आयुष्मान देशराज जोशीसँग जोडी बाँधिएको थियो । तर, यो फिल्म हलमा लागेको र उत्रिएकै दर्शकलाई थाहा भएन । तर, प्रियंका यो फिल्म पत्तासाफ हुँदा निराश भइनन् । किनकि, यो पहिलो पटक थिएन । उनी सोलो अभिनेत्री रहेका प्रायः सबै फिल्म बक्सअफिसमा पछारिएका छन् ।
अहिले उनको हातमा कुनै पनि फिल्म नभएको फिल्मवृतमा चर्चा छ । ‘हेल्लो जिन्दगी’ पछि उनले अरु फिल्ममा काम गरेकी छैनन् । यो फिल्मको छायांकन सकिएको पनि करीब ६ महिनाभन्दा बढी भइसकेको छ । केही वर्ष अघिसम्म दिन-रात फिल्मको छायांकनमा व्यस्त हुने प्रियंका आजभोली म्यूजिक भिडियो गरेर चित्त बुझाइरहेकी छन् । प्रियंकालाई कति छटपटि हुँदो हो !
फिल्मीखबर,



