
एजेन्सी – ब्राजिली फरवार्ड ग्याब्रियल जेससको दुई गोल सहयोगले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा एभर्टनलाई पराजित गरेको छ । सिटीले एभर्टनलाई २–१ ले पराजित गरेको हो ।

इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा सबै तीन गोल दोस्रो हाफमा सम्भव हुदा अर्काे ब्राजिली रिचार्लीसनले गोल गरेपनि एभर्टनलाई हारबाट जोगाउन सकेन । प्रतिस्पर्धात्मक बनेको पहिलो हाफमा सिटीले खेलको १३औं मिनेटमा गोल गरेपनि भिएआरले मान्यता पाएन । फिल फोडेनको गोल गरेपनि उनी अफसाइड ठहरिए ।

खेलमा लगातार एभर्टनलाई दवावमा राखेपनि गोलको लागि ५१औं मिनेट कुर्नुपरेको थियो । इकेए गुन्डोगानको पासमा जेसलले गोल गर्दै सिटीलाई १–० ले अघि बढाए । ५८औं मिनेटमा रियाद महारेजको पासमा जेससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

७१औं मिनेटमा रिचार्लीसनले गोल गर्दै एभर्टनलाई खेलमा फर्काउने संकेत दिए । तर, त्यसपछि थप गोल निस्कन नसक्दा सिटीले २–१ को जित निकाल्यो ।

जितपछि सिटी ४४ अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा एभर्टन २५ अंकसहित ११औं स्थानमा रहेको छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा ११ अंकले तथा दोस्रो स्थानको लेस्टर सिटीसँग १ अंकले पछि छ । यद्दपि लिभरपुलले दुई खेल कम खेलेको छ ।hamrokhelkud



