पूर्व ‘श्री ५’ ज्ञानेन्द्र शाहले राष्ट्रका यावत् विधिविधान, व्यवस्था र बन्दोबस्त सर्वहितकारी र सर्वग्राह्य हुनुपर्ने बताउनुभएको छ । विजया दशमी २०७६ को अवसरमा शुभकामना सन्देश दिँदै पूर्व श्री ५ ले पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा हाम्रो कदापि भलो नहुने धारणा राख्नुभएको हो ।
एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ–आफ्नो कमी–कमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन भन्दै उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ– ‘हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको उन्नतिबाहेक अरु केही हुनुहुँदैन ।’

पूर्व श्री ५ ज्ञानेन्द्रको सन्देश जस्ताको तस्तै-
प्यारा नेपाली दिदी–बहिनी तथा दाजुभाइहरू
‘राष्ट्रिय सांस्कृतिक पर्व’ बडादशैँ नेपाली घर–आँगनमा छाएको छ । विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशवाहिर रहे–बसेका समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछौँ ।
राष्ट्रका यावत् विधिविधान, व्यवस्था र बन्दोबस्त सर्वहितकारी हुनुपर्दछ, अनि त्यो सर्वग्राह्य पनि बन्नुपर्दछ । पुर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि हाम्रो भलो हुँदैन । एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्याउने र आ–आफ्नो कमी–कमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रक्रिया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।
हाम्रो उद्देश्य हाम्रो देश, हाम्रो पूरै देशको उन्नतिबाहेक अरु केही हुनुहुँदैन । भगवानको आशीर्वादले यो देश आफैं उत्पीडन र आतंकको नभई बुद्धि र भाइचाराको स्मारक बन्नु पर्दछ । तर, राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन । त्यसकारण प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि भन्दा सम्याउने, सच्याउने र आफ्नै ‘राष्ट्रिय आदर्श’ बमोजिम समझदारीका साथ अघि बढ्ने अटुट् प्रयत्न हुनुपर्दछ । नेपाल हाम्रो हो, हामी नेपाली हौँ र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नैपर्ने हुन्छ ।
श्री नवदुर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनास गरी हामीलाई हाम्रो ‘सनातनिक सत्य पथतर्फ’ अभिप्रेरित गरुन् । जय नेपाल।घटना र विचारonline



