खबर

दक्षिण नियाल्दै सी

झापा / चिनियाँ राष्ट्रपति सी जिनफिङ नेपालको दुईदिने भ्रमणका लागि काठमाण्डौँ आएका छन् ।
राष्ट्रपति सी जिनफिङ भारतको चेन्नईबाट एयर चाईनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाण्डौ आएका हुन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यसैगरी राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले फुलको माला दिएर स्वागत गरेका थिए । राष्ट्रपति सीलाई विमानस्थलमा नै नेपाली सेनाले सम्मानगारथ अर्पण गरेको थियो भने सो अवसरमा दुवै देशको राष्ट्रिय धुन पनि बजाईएको थियो ।
सम्मानगारथपछि राष्ट्रपति सीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा मन्त्रीहरु र उच्च पदस्थ अधिकारीहरुले विमानस्थलमा सम्मान गरेका थिए ।
राष्ट्रपति सीको स्वागतका लागि विमानस्थलमा नै विभिन्न जातजाति , समुदायको संस्कृति झल्किने झाँकी पनि प्रस्तुत गरिएको थियो । राष्ट्रपति सी जिनफिङको यो भ्रमण उत्तरी छिमेकी राष्ट्र चिनको २३ बर्ष पछिको उच्चस्तरीय नेपाल भ्रमण हो ।
राष्ट्रपति सीको स्वागतका लागि राजधानीका सडकलाई विशेष साज सज्जाका साथ सजाईएको थियो । विशेष गरेर त्रिभुव अन्तराष्ट्रिय विमानस्थलदेखि होटल सोल्टी सम्मको सडक विशेष रुपमा सजाइएको थियो । सीको आगमनको समयमा राजधानीका सडकमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाईएको थियो । यद्यपि सीको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि सोल्टीमोडस्थित होटल सोल्टी सम्मको सडकखण्डका विभिन्न स्थानमा बाजागाजा सहित विभिन्न जातजातीको सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएको छ । तीनकुने, बानेश्वर, माईतीघर मण्डला, त्रिपुरेश्वर लगायतका चोक चोकमा बाजागाजा सहित र राष्ट्रपति सीलाई भव्य स्वागत गरिएको थियो ।
विमानस्थलबाट होटल सम्म जाने सडकका छेउ छेउमा रहेका विद्युतका पोलहरुमा दुवै देशका राष्ट्रपतिको तस्वीर राखिएको छ । त्यसैगरी ठाउँ ठाउँमा स्वागतद्धारहरु बनाउनुको साथै गमलामा फुलहरु सजाईएको थियो ।
राष्ट्रपति सी आउनु केही दिन अघिबाट ब्रुमरले सी हिड्ने सडक सफा गरेर पानीले पखालिएको थियो । सवारीको समयमा विमानस्थल देखि होटल सोल्टी सम्मको सडकमा सवारी आवागमनमा रोक लगाई सडक पुरै खाली गराईएको थियो ।
सी आउने समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले साढे २ घण्टा सम्मका लागि सम्पुर्ण उडान र अवतरण बन्द गरेको थियो । विमानस्थलले शुक्रबार सुचना नै जारी गरेर अपरान्ह २ बजेर ५५ मिनेट देखि ५ बजेर २५ मिनेट सम्म सबै उडान र अवतरण रोकिएको थियो । राष्ट्रपति सीको भ्रमणलाई मध्यनजर गरी राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति सी विमानस्थलमा अवतरणका क्रममा सबै उडान रोक्नुको साथै सडकमा पनि सवारी साधन सञ्चालनमा रोक लगाउदै सडक पुरै खाली गराईएको थियो । सर्वसाधारणलाई सडकमा हिँडडुल गर्न तथा उभिएर हेर्न समेत रोक लगाईएको थियो । सडकमा बाक्लोगरी सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
पुराना सम्झौताको अवस्था
विभिन्न समयमा गरी नेपाल चीन विच विभिन्न सम्झौता भएका छन तर कार्यन्वयनको पाटो फितलो देखिएको छ । यसअघिका दुईपक्षीय भेट र भ्रमणका क्रममा भएका धेरै सहमति अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको पाइएको हो ।
बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) विश्वका ६५ प्रतिशत जनसंख्यालाई समेट्ने भनिएको चीनको महत्वाकांक्षी परियोजना बीआरआईमा ०७४ बैशाख २९ गते नेपाल औपचारिक रुपमा प्रवेश ग¥यो । त्यसको सम्झौता अवधी सकिन लागिसक्दा पनि कुनै पनि परियोजनाअघि बढ्न सकेको छैन । केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेर चीन भ्रमणमा गएका बेला नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौता भएको थियो । विनासकारी भूकम्प र दक्षिण छिमेकीको नाकाबन्दीले थिलथिलो भएको नेपालसँग ०७२ चैत पहिलो साता भएको सम्झौताको पनि कार्यान्वयन पक्ष फितलो रहेको छ । तर, नयाँ परियोजनामा हस्ताक्षर हुँदै गर्दा नेपाल र चीनबीच विगतमा भएका सम्झौता र समझदारीको कार्यान्वयन अवस्था भने सुखद छैन । नेपालले छनोट गरेका ९ परियोजनाअन्तर्गत गल्छी–रसुवागढी–केरुङ ४ सय केभी ट्रान्समिसन लाइन, तमोर जलविद्युत ७ सय ६२ मेगावाट आयोजना, फुकोट कर्णाली जलविद्युत ४ सय ६२ मेगावाट आयोजना, केरुङ–काठमाडौं रेल, मदन भण्डारी टेक्निकल इन्स्टिच्युट लगायत छन् । तर, सम्झौता कार्यान्वयनमा जाने गरी ठोस काम भने भएको देखिँदैन । जब कि सम्झौता यतिबेलासम्म ति योजनाहरु कार्यदेश र कार्ययोजना बनेर कार्यान्वयनमा गइसक्नुपर्ने थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी दोस्रो बीआरआई अन्तराष्ट्रिय शिखर मञ्चको ३८ बुँदे घोषणा पत्रमा ‘नेपाल–चीन सीमापार रेलमार्गसहित नेपाल–चीन हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल’ विस्तारबारे उल्लेख थियो । तर, बहुचर्चित काठमाडौं–केरुङ रेलमार्गको विषयमा सम्भाव्यता अध्ययनसम्म अहिलेसम्म टुंगिन सकेको छैन । चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ आफैं रेलमार्गको पहुँचमा छैन । सन् २०१४ मा रेलमार्गमा जोडिएको सिगात्सेबाट केरुङ ५४० किलोमिटर टाढा छ । सन् २०२० भित्र केरुङसम्म रेल ल्याइपु¥याउने चीनको प्रतिवद्धता पनि समयमा पूरा हुने संकेत देखिएको छैन । युरेसिया क्षेत्र, दक्षिणपूर्व, दक्षिण तथा पश्चिम एसिया, अफ्रिका र ल्याटिन अमेरिकालाई समुद्री तथा सडक सञ्जालमा जोड्ने बीआरआईबाट लाभ लिने गरी नेपालले काम गर्न सकेको छैन । प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमणका क्रममा नेपाल र चीनबीच १० वटा सम्झौता भएका छन् नेपाल र चीनवीच सम्पन्न १० वटा समझदारी पनि अगाडी बढन सकेका छैनन ।
त्यतिवेला भएको पारवहन सम्झौता, चीनले नेपालमा ३२ हजार घरधुरीलाई सोलार प्लान्ट जडान गर्ने, पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौता, २५ प्रतिशत विना ब्याजको अनुदान, एक्जिम बैंकको ऋण, ट्रेडमार्क दर्तासम्वन्धी सम्झौता, नेपालमा ग्यास तथा पेट्रोलियम अन्वेषण सम्वन्धी समझदारी, स्वतन्त्र व्यापारसम्वन्धी सम्झौता, बैंकिङ रेगुलेशनसम्वन्धी सम्झौताको कार्यान्वयन प्रक्रिया पनि सुस्त छ ।
भ्रमणबाट नागरिकको अपेक्षा
चिनिया राष्ट्रपति सी जिनपिङको दुई दिने नेपाल भ्रमण आम नेपालीको चासोको विषय बनेको छ । नेपाली नागरिकले सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षा गरेका छन् ।
नेपालको दुई दिने राजकीय भ्रमणमा चीनका राष्ट्रपति सी जिनपिङ आएपछि नेपालको आर्थिक विकासमा चिनियाँ सहयोग बढने अपेक्षा नागरिकले पनि गर्न थालेका छन् । मुलुकमा स्थायी सरकार बनेको सन्दर्भमा चीनवाट तेइसबर्षपछि उच्चस्तरीय भ्रमण भएपछि नेपाली नागरिकको अपेक्षा पनि बढेको छ । आम नागरीकले सीको राजकीय भ्रमण सामाजिक, सांस्कृतिक, आर्थिक र आपसी सम्बन्ध अभिवृद्धिका हिसाबले ऐतिहासिक हुने अपेक्षा गरेका छन् ।
विगतमा भारतले नाकाबन्दी लगाएको समयमा चीनले इन्धन र अत्यावश्यक सामाग्री तत्काल उपलब्ध गराएर गुण लगाएको नेपालीले अझै स्मरण गरिरहेका छन् । पछिल्लो समय जनस्तरमा समेत चिनिया सहयोगमा केरुङदेखि काठमाडौंसम्म रेलमार्ग बन्ने आशा पलाएको छ ।
त्यस्तै नेपालमा जलविद्युत, सडक लगायतका ठुला आयोजनामा चिनिया लगानीको वाटो समेत सी को भ्रमणले खोल्ने अपेक्षा पनि गरिएको छ । नेपालले आफुले गर्न नसक्ने देखिएका सुरुङमार्ग, मेट्रो रेल, ठुला विद्युत आयोजनामा सरकारीस्तरवाटै चिनिया लगानी अपेक्षित गरिएको छ । विकास र प्रविधि क्षेत्रमा चीनले फड्को मारेकाले चिनिया राष्ट्रपतिको आगमनले नेपालमा पनि त्यसका लागि आधार निर्माणको अपेक्षा गर्नेहरु पनि छन् । दुई देशको सम्बन्ध युगौँ पुरानो रहेको र चीनका सामु सम्भावनै सम्भावना भएकाले चीनले जुन आर्थिक प्रगति गरिरहेको छ, त्यसबाट नेपालले लाभ लिन सक्ने आशापनि गरिएको छ । राजनीतिक दलका नेताले झै जनताले पनि सीको भ्रमणलाई ऐतिहासिकको संज्ञा दिएका छन । नेपाली नागरिकले चिनबाट दीर्घकालीन साथ, सहयोग र विश्वासको समेत अपेक्षा गरेका छन् ।

चिनियाँ पर्यटक
चीनका राष्ट्रपति सी जिनपिङको नेपालको राजकीय भ्रमणले नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा र उत्साह थपिएको छ । राष्ट्रपति सीको भ्रमणले चीनबाट मात्र नभई विश्वका विभिन्न मुलुकबाट समेत नेपालमा पर्यटक आगमन बढने अपेक्षा गरिएको छ ।
राष्ट्रपति सीको नेपाल भ्रमणको सन्देश विश्वभर पुग्ने भएकाले विभिन्न मुलुकबाट पनि नेपाल आउने पर्यटक बढ्ने अनुमान गरिएको छ । चीन विश्वभर धेरै पर्यटक पठाउने मुलुकमा पर्छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २

०१८ मा १ सय ४९ मिलियन चिनियाँ पर्यटक विश्व भ्रमणमा निस्किएका छन् । चीनबाट मात्रै विश्व भ्रमणमा निस्कने पर्यटकको संख्या वार्षिक १५ प्रतिशतले बढेको सन्दर्भमा ति पर्यटकलाई नेपालमा आकर्षित गर्न सकिने पर्यटन ब्यवसायीहरु बताउछन् । पर्याप्त प्रचारप्रसारको अभावमा पनि चीनबाट नेपाल आउने पर्यटक बढिरहेका छन् । नेपालमा सर्वाधिक पर्यटक आउने मुलुकमा चीन भारतपछि दोस्रो स्थानमा पर्छ ।
पछिल्लो पाँच वर्षको आँकडालाई हेर्दा नेपालमा निरन्तर रुपमा चिनियाँ पर्यटक बढेको देखिन्छ । बोर्डका अनुसार सन् २०१९ को आठ महीना ९ जनवरीदेखि अक्टोबरसम्मको अवधिमा सात लाख ८२ हजार ६ सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा राष्ट्रपति सी नेपाल आएकाले यसले भ्रमण बर्षको प्रचारमै सहयोग गर्ने पनि देखिएको छ । चिनियाँ पर्यटक भित्राउन भिसा प्रक्रिया सरल, पूर्वाधार विकास, सिधा हवाइ सम्पर्क जस्ता पूर्वाधार भने बनाउनुपर्ने देखिन्छ ।janasamsadonline/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button