कला

सन्तोष पन्तको ‘हिजो आजका कुरा’ मा ऋचा, केकी र रिमा

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको चर्चित हास्यटेलिसिरियल ‘हिजो आजका कुरा’ नाममा फिल्म निर्माण हुने भएको छ । यो सिरियलका प्रमुख कलाकार तथा निर्देशक सन्तोष पन्तका छोरा साकार पन्तले फिल्मको निर्देशन गर्नेछन् । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच यस फिल्मको औपचारिक निर्माण घोषणा गरियो । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

कुनै न कुनै तरिकाले विदेशसँग सरोकार राखेका वा राख्न इच्छुक काठमाडौंका चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेश जाने सपना पूरा गर्न केही न केही गुमाउनु पर्ने विषयवस्तुमा फिल्म निर्माण हुने निर्देशक पन्तले जानकारी दिए । सन्तोष सन्त र साकार पन्तको कथालाई सन्दीप किस्नाले पटकथामा ढालेका छन् । रवि सायमीले फिल्म खिच्नेछन् । भने, हर्कुलस बस्नेतको संगीत रहनेछ ।

‘हिजो आजका कुरा’ सिरियलका प्रमुख कलाकार सन्तोष पन्त र रमा थपलियाकै प्रमुख भूमिका रहने फिल्ममा केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, सविन शाक्यसँगै नव-कलाकार द्वय विनायक कुइकेल, अनुष्का घिमिरेलगायतकोे अभिनय रहनेछ । पन्त फिल्म प्रोडक्ससनकोे ब्यानरमा फिल्म बन्न लागेको हो । सिरियल पनि यही कम्पनीबाट निर्माण भएको थियो ।

चर्चित सिरियलको नाम सापटी लिएर फिल्म निर्माण गर्नु आफ्नो लागि चुनौतीपूर्ण रहेको निर्देशनमा डेब्यू गर्न लागेका साकारले बताए । ब्रान्ड बेच्नका लागि सिरियलको नाममा फिल्म बनाउन लाग्नुभएको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘ब्रान्ड बेच्नका लागि फिल्म बनाउन लागेको चाहिँ होइन । ‘हिजो आजका कुरा’ पन्त फिल्म प्रोडसक्नको पहिचान हो । यो नाम फिल्मको कथाको माग हो ।’

फिल्मको घोषणा सभामा बोल्दै अभिनेत्री ऋचाले ‘हिजो आजका कुरा’ बाल्यकालमा आफ्नो सबैभन्दा मनपर्ने सिरियल रहेको बताइन् । उनले भनिन्, ‘यो नामसँग मेरो ‘इमोसनल अट्याचमेन्ट’ छ । सानोमा हरेक शुक्रबार यो सिरियल कहिल्यै छुटाउँदिन थिएँ । मेरो बुबाको पनि निकै मनपर्ने सिरियल थियो । अहिले यही नाममा बन्न लागेको फिल्मसँग जोडिन पाउँदा एकदमै खुसी छु । आफूलाई भाग्यमानी महशुस गरेको छु ।’

उनले धेरैपछि राम्रो कथा भएको फिल्ममा काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरिन् । अर्की अभिनेत्री रिमाले फिल्मको कथावस्तु राम्रो लागेर काम गर्न लागेको बताइन् । कलाकार द्वय सन्तोष पन्त र रमा थपलियासँग स्क्रिन साझेदारी गर्न पाउनु आफ्नो ठूलो उपलब्धि रहेको पनि उनको भनाई छ । उपत्यका बाहिर भएकाले फिल्मको घोषणा सभामा अभिनेत्री केकी भने उपस्थित हुन सकिनन् ।फिल्मीखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button