
झापा / सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रण र सीमा स्तम्भको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले कार्यसम्पादनलाई चुस्तदुरुत र प्रभावकारी बनाएको छ ।
पूर्वी सीमावर्ती क्षेत्रबाट हुने अवैध चोरी पैठारी, सीमा स्तम्भ, हातहतियार, लागुऔषधलगायतका जघन्य प्रकृतिका गतिविधि नियन्त्रणमा उच्च सुरक्षा सर्तकता अपनाइएको सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर, राजश्व तथा भन्सार गस्ती सुरक्षा ८ नम्बर गुल्मका प्रमुख ज्ञानमणि पौडेलले बताए ।
‘शान्ति सुरक्षासँगै सीमा स्तम्भ, मानवीय विपत्तिलगायत संवेदनशील विषयमा उच्च सर्तकताका साथ काम गर्र्नु हाम्रो जिम्मेवारी हो’ उनले भने–‘त्यसलाई संयोजन र सहकार्यका लागि भारतीय समकक्षीहरु, नेपाल प्रहरी, स्थानीय तह, नागरिक समाजसँग समन्वय र सहकार्य गरेका छौं ।’
सीमा क्षेत्र भन्ने बित्तिकै आपराधिक गतिविधि र संगठित अपराधिहरुको स्थान हो भन्ने लाग्नु स्वभाविक छ तर, पछिल्लो परिस्थितिलाई नियाल्दा सुरक्षाकर्मीको जिम्मेवारीसँगै स्थानीय नागरिकको सहयोगबाट शान्तिपूर्ण समाजको निर्माण सम्भव भएको उनको बुझाई छ ।
उत्तरी सीमा पाटापुरदेखि दक्षिणी केचनासम्मको करिब १४४.०२ किमी भू–भाग भारतसँग सीमा जोडिएको छ । त्यसमध्ये करिब १४ किमी सीमा क्षेत्रको निगरानी सशस्त्र प्रहरीको ८ नम्बर सुरक्षा गुल्मले गर्दै आएको छ । उत्तरी सीमाको निगरानी सशस्त्र प्रहरीको बाहुनडाँगीस्थित बोर्डर आउट पोस्टले गर्दै आएको छ । दक्षिणी सीमावर्ती क्षेत्रको निगरानी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाले गर्दै आएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वाटर झापाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले सीमा क्षेत्रमा हुने कानुन विपरीतका कार्यलाई निरुत्साहित गर्दै त्यस्ता संगठित समूहलाई कानुनी दायरामा ल्याउन संगठन सफल भएको दाबी गरे ।
उनका अनुसार मुख्य चाड पर्वहरुमा आम नागरिकहरुले दुःख नपाउन भन्ने उद्देश्यले भारतीय समकक्षीहरुसँगको समन्वयमा जिल्लाका सीमा क्षेत्रहरु काँकरभिट्टा, भद्रपुर, केचना, टाघनडुब्बा, गौरीगञ्जलगायतका स्थानमा सहायता कक्ष स्थापना गरिएको छ ।
एसपी थक्सुले भने–‘त्यहाँबाट कुनैपनि नागरिकले भाषाको समस्या, लुटिने, ठगिनेजस्ता गतिविधिबाट पीडित हुनु नपरोस् भन्ने उद्देश्यले भारतीय समकक्षी समेतको सहकार्यमा सहायता कक्ष सञ्चालनमा ल्याएका छौं ।’
उनले भने–‘संगठनको मुख्य उद्देश्य अपराधमा शून्य सहनशीलताको अवधारणालाई अक्षरस कार्यसम्पादन गर्नु हो, त्यसैले मातहतका सबै कार्यालय प्रमुखलाई त्यस अनुरुप कार्यसम्पादन गर्न निर्देशन दिइएको छ, संगठनको उद्देश्य विपरीत प्रहरी कर्मचारीले गतिविधि गरे दण्डित गर्ने र इमान्दारिता प्रस्तुत गर्ने कर्मचारीलाई पुरस्कृत गर्ने गरेका छौं ।’
‘झापामा सातवटा बोर्डर आउट पोस्ट छन्’ उनले भने–‘पूर्वी सीमावर्ती क्षेत्रका सीमा स्तम्भ र सीमा क्षेत्रका नागरिकहरुको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीले भारतीय समकक्षीहरुसँगको समन्वयमा संयुक्त रुपमा सुरक्षा निरगानी बढाएका छौं, सीमा क्षेत्रमा नियमित संयुक्त गस्ती गरेर दुवै देशका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाएका छौं ।’
सीमामा सशस्त्र प्रहरीको गस्ती प्रभावकारी बनेसँगै अवैध सामानको ओसारपसार र आपराधिक गतिविधिमा पछिल्लोसमय तुलनात्मक रुपमा कमी आएको उनको भनाई छ ।
अवैध र प्रतिबन्धित सामान भन्सार दाखिला
काँकरभिट्टा, १ कात्तिक÷ सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्र्याइएका अवैध र प्रतिबन्धित सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर, राजश्व तथा भन्सार गस्ती सुरक्षा ८ नम्बर गुल्म काँकरभिट्टाले ती सामान बरामद गरी शुक्रबार मेची भन्सार कार्यालय काँकरभिट्टामा दाखिला गरेको हो ।
गुल्मपति ज्ञानमणि पौडेलले मेची भन्सार प्रवेशद्धार, जोरसिमललगायतका चेक पोइन्ट र विभिन्न नाकामा जाँचका क्रममा करिब ५ लाख ७७ हजार ५ सय रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरिएको बताए ।
ती स्थानमा जाँचका लागि खटिएको सशस्त्र प्रहरी टोलीले गत बिहीबार र शुक्रबार सीमावर्ती भारतीय बजारबाट ल्याएर नेपाल भित्र्याउन लागिएको अवस्थामा लत्ताकपडा, खाद्यान्न, किराना सामग्री र प्रतिबन्धित खानेतेल, बारुदजन्य पदार्थ र पेय पदार्थ बरामद गरेको थियो ।
यसैबीच, सशस्त्र प्रहरी नायव उपरीक्षक पौडेलले २ महिनाअघि गुल्मको नेतृत्व सम्हालेयता करिब ३३ लाख रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरिएको गुल्मले जनाएको छ ।
सीमा नाकाबाट हुने चोरी निकासी र आपराधिक गतिविधि नियन्त्रणमा शून्य सहनशीलतको सिद्धान्त बमोजिम कार्यसम्पादन भइरहेको डिएसपी पौडेल बताउँछन् ।
प्रतिबन्धित र भन्सार नतिरि लुकाई छिपाई नेपाल भित्र्याइएका सामान नियन्त्रणमा कडाई गरिएको बताउँदै उनले त्यसका लागि चौविसै घण्टा निगरानी बढाइएको दाबी गरे ।janasamsadonline



