
एजेन्सी – कप्तान लियोनेल मेस्सी र फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन र लुइस सुआरेजको गोलसँगै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले इवरलाई उसकै मैदानमा ३–० को सहज जित निकाल्दै ला लिगाको शीर्षस्थानमा उक्लिएको हो । बार्सिलोनाले एक खेल कम खेलेको स्पेनिस महारथी रियाल म्याड्रिडलाई १ अंकले पछि पारेको हो ।
बार्सिलोनाको ९ खेलबाट १९ अंक पुगेको छ । रियालको ८ खेलबाट १८ अंक रहेको छ । पराजित इवर ९ अंकसहित १४औं स्थानमा छ । आजै राति रियालले ग्रानडासँग खेल्दैछ । यो खेलमा जित हात पारे रियाल पुनः शीर्षस्थानमा फर्किनेछ ।

म्युनिसिपल डि इपुरुवामा शनिबार साँझ बार्सिलोनाले खेलको १३औं मिनेटमा ग्रिजमनको गोलबाट पहिलो हाफमा १–० को अग्रता लिएको थियो । ग्रिजमनले क्लेमेन्ट लेङ्लेटको पासमा गोल गरेका थिए ।
घरेलु टोलीलाई दवावमा राख्दै दोस्रो हाफमा दुई गोल गर्न सफल भएको थियो । ५८औं मिनेटमा कप्तान मेस्सीले ग्रजमनको पासमा गोल गर्दै बार्सिलोनालाई २–० को अग्रता दिलाए । ६७औं मिनेटमा लुइस सुआरेजले कप्तान मेस्सीको पासमा गोल गर्दै बार्सलोनाको ३–० को जित पक्का गरे ।hamrokhelkudonline



