■ सुरेश परियार, रुपन्देही
रुपन्देहीको सैनामैना सोरौलीबाट १० लाख युरोको एउटा नोटसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अहिलेसम्म नोट सक्कली हो या नक्कली भन्ने यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
नोटबारे यकिन जानकारीका लागि उक्त नोटलाई नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय काठमाडौं पठाइएको प्रहरीको भनाई छ ।
प्रारम्भिक अनुसन्धानबाट उक्त नोट सटही नहुने र मौद्रिक मूल्य नभएको केवल शो केसमा सजाएर राख्ने प्रयोजनको भएको बुझिएको प्रहरी उपरीक्षक हेम थापाले बताए । ‘हामी अनुसन्धानमै छौँ, अहिलेसम्मको बुझाइमा यो नोट सटही गर्न वा प्रयोगमा ल्याउन मिल्ने खालको होइन भन्ने छ, नोटबारे यकिन गर्न राष्ट्र बैंकलाई लेखेर पठाएका छौ’, थापाले खुलस्त गरे ।

उक्त नोट सटही भएको खण्डमा १२ करोड ८० लाख नेपाली रुपैयाँ हुन आउँछ ।
यस प्रकरणमा पक्राउ पर्नेमा सैनामैना २ की मीना सुनार, रमेश सुनार, गुल्मी धुर्कोटका राजु सुनार, नवलपरासी बर्दघाटका कमल सुनार र स्याङ्जा गल्याङका गणेश सुनार रहेका छन् । उनीहरुबाट ६ थान मोबाइल पनि बरामद भएको छ ।घटना र विचार अनलाइनबाट ।



