स्वास्थ्य

नेपालमा भिटामिन ‘ए’ कार्यक्रमको सान्दर्भिकता

बसुन्धरा शर्मा

राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम भर्खरै सम्पन्न भयो। यस अभियानमा ६ देखि ५९ महिनासम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइयो।

सन् १९९६ देखि केही जिल्लाबाट सुरु गरी सन् २००२ देखि सम्पूर्ण जिल्लामा लागू भई हालसम्म पनि निरन्तरता पाइरहेको एक महत्वपूर्ण जनस्वास्थ्य कार्यक्रम हो यो अभियान। यो कार्यक्रम हालसम्म पनि विगत वर्ष जस्तै प्रत्येक कात्तिक र वैशाखमा वर्षको दुई पटक सञ्चालन भइरहेको छ। यस कार्यक्रमलाई सफल रुपमा सम्पन्न गराउन महिला स्वास्थ्य स्वयंसेविकाहरुको ठूलो भूमिका रहँदै आएको छ।

मानव शरीरलाई अत्यावश्यक पर्ने सूक्ष्म पोषक तत्व हो भिटामिन ए। यसले आँखाको दृष्टि राम्रो राख्न सहयोग गर्नुका साथै शरीरको वृद्धि विकास गर्ने, शरीरमा प्रतिरक्षात्मक शक्ति प्रदान गरी विभिन्न रोगबाट बचाउने तथा छाला, आन्द्राको भित्री भाग समेत स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ।

संसारका अन्य गरिब मुलुकमा जस्तै हाम्रो देशमा पनि रोकथाम गर्न सकिने अन्धोपना गराउने कारणहरुमध्ये भिटामिन एको कमी हुनु एक प्रमुख कारण हो। जन्मेदेखि ६ महिनासम्म आमाको शरीरबाट प्राप्त भिटामिन एको मात्राले पुग्ने हुन्छ भने त्यसपछि विस्तारै शरीरमा भिटामिन एको मात्रा कमी हुँदै जाने हुँदा शरीरलाई आवश्यक पर्ने भिटामिन ए खानाबाट प्राप्त गर्न आवश्यक पर्छ।

हामीले खाने दैनिक खाना जस्तैः मेवा, गाँजर, फर्सी, गाढा हरिया सागपात, दुग्ध पदार्र्थ, कलेजो आदिमा प्रशस्त मात्रामा भिटामिन ए पाइन्छ। साथै भिटामिन ए क्याप्सुलको सेवनबाट पनि प्राप्त गर्न सकिन्छ। यस्ता खानेकुराको अभाव, खानाको महत्व बारेमा जानकारी नहुनु तथा हेलचेक्र्याईं गर्ने जस्ता विभिन्न कारणले शिशु तथा बाल्याकालीन पोषण अवस्था राम्रो नभएको देखिन्छ। यसै कारणले मानवजाति विषेशगरी बालबालिका तथा गर्भवतीमा भिटामिन ए कमी हुन सक्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार यदि २४ देखि ५९ महिनासम्मका एक प्रतिशत वा बढी बालबालिकाहरुमा रतन्धोको समस्या छ भने यस्तो अवस्थालाई जनस्वास्थ्य समस्याको रुपमा रहेको मानिन्छ र उच्च मात्राको भिटामिन ए क्याप्सुल (२००००० आइयु) खुवाउन सिफारिस गरिएको छ।

भिटामिन ए क्याप्सुल खुवाएपछि ६–५९ महिनासम्मका बालबालिकामा हुने मृत्युदर २५ प्रतिशतसम्म कम गराएको तथा झाडापखालाबाट मात्र हुने मृत्युदर ३० प्रतिशतसम्म घटाएको विभिन्न अध्ययनले देखाएका छन्। सन् २०१६ मा गरिएको नेपाल सूक्ष्म पोषक तत्व सर्भेक्षणले ४ प्रतिशत मात्र ६ देखि ५९ महिनासम्मका बालबालिकामा भिटामिन एको कमी छ भन्ने देखाएको छ, जुन जनस्वास्थ्य समस्या नरहेको अवस्था हो।

अन्त्यमा, खाद्य विविधतामा आधारित पद्धतिलाई बढावा दिंदै सकेसम्म आफ्नै गाउँघरमा पाइने रैथाने खानकुराहरु मिलाएर खाने तथा खुवाउने गर्नुपर्छ र यस्ता क्याप्सुलको परनिर्भातामा कमी ल्याउनु हामी सबैको कर्तव्य तथा जिम्मेवारी हुन आउँछ।

नेपाल सूक्ष्म पोषक तत्व सर्वेक्षण २०१६ को प्राप्त नतिजाको आधारमा सम्पूर्ण नेपाली नागरिकको पोषण अवस्था सुदृढ गरी स्वास्थ्य नीति २०७५ को भावी सोचअनुसार स्वस्थ तथा सुखी जीवन लक्षित सजग र सचेत नागरिक बनाउने लक्ष्य बमोजिम पनि सन् २००४ देखि लागू गरिएको पोषण नीति तथा रणनीति यथासक्य छिटो परिमार्जन गरी यस्ता कार्यक्रमहरुको लागि मार्गनिर्देशिन गर्नु अत्यावश्यक देखिन्छ। यस्ता कार्यक्रमहरु लागू गरेपश्चात् केही छोटो समयको अन्तरालपछि अध्ययन–अनुसन्धानका नतिजाको आधारमा बन्द गर्नुपर्छ।

(शर्मा वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन्)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button