मूल खबर

बारुदजन्य पदार्थ भित्रिने क्रम घट्दै

डम्बर बराल

काँकरभिट्टा / चाड पर्वमा हुनसक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै प्रहरीले पूर्वी सीमा नाका काँकरभिट्टामा सुरक्षा व्यवस्था कसिलो बनाउँदै लगेको जनाएको छ ।

प्रहरीले निगरानी बढाएसँगै यसवर्ष भारतीय बजारबाट बारुदजन्य पदार्थ भित्रिने क्रममा कमी आएको छ । ५ दिनअघि सशस्त्र प्रहरी बल काँकरभिट्टाको गस्ती टोलीले करिब १ लाख रुपैयाँ मूल्य बारबरका ३ कार्टुन बारुदजन्य पदार्थ पटका सतिघट्टा र जोरसिमल क्षेत्रबाट बरामद गरेको थियो । बरामद गरिएका उक्त पटका, झिरझिरे र खुर्सानी खालका साना पटकामात्र फेला पारिएको सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेलले बताए ।

‘विगतमाभन्दा यसवर्ष पटका भित्रिने क्रममा कमि आएको छ, हामीले नियमित गस्ती र भन्सारमा जाँचलाई कडाई गरेका छौं ।’ उनले भने–‘तर, सामान्य रुपमा थोरै–थोेरै मात्रामा चिनी, दाल, आँटालगायतका खाद्य सामाग्रीमा लुकाएर ल्याउने गरिएको पाएका छौं ।’

सशस्त्र प्रहरीले मेचीपुल क्षेत्रमा ७ जना र जोरसिमल क्षेत्रमा ११ जनाको टोली परिचालन गरेर जाँचमा कडाई गरिएको डिएसपी पौडेलको भनाई छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले समेत चाडपर्वकाबेला नाकामा निगरानी बढाएको छ । मोवाईल गस्ती टोली र सादा पोशाकका प्रहरी समेत परिचालन गरेर निगरानी भईरहेको प्रहरीको दाबी छ ।

‘सीमाको निगरानीमा कडाई गरिएपछि आपराधिक घटनामा समेत कमी आएको छ ।’ उनले भने–‘चाडपर्वको समयमा पटकासँगै अन्य विस्फोटक पदार्थ समेत भित्रिनसक्ने भएकाले जाँचमा कडाई गरेका छौं ।’

जाँचका क्रममा प्रहरीले बिहीबार १ कार्टुन पटका नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाउँदै लगेपछि यसवर्ष अघिल्लो वर्षको तुलनामा पटका भित्रिने क्रममा कमि आएको प्रहरीले जनाएको छ ।

कार्की भन्छन्–‘पछिल्लोसमय नागरिक समेत सचेत हँुदै गएकाले पटका ल्याउने र पड्काउने घटनामा कमी आएको छ ।’ पटका पड्काएर एकजनाले गर्ने रमाईलोले अरुलाई पर्नसक्ने असरप्रति नागरिक सचेत भएका कारण पटका भित्रिने क्रम घटेको प्रहरीको भनाई छ ।

पटका नियन्त्रणका लागि नेपाल प्रहरीले यसवर्ष सीमावर्ती भारतीय प्रहरीसँग समेत समन्वय गरेको जनाएको छ । प्रहरीले जुवा तासलाई समेत नियन्त्रण गर्न दिवा र रात्री गस्तीका लागि प्रहरी परिचालन गरेको बताएको छ ।

चाडपर्वकाबेला आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ उच्च सुरक्षासतकर्ता अपनाउँदै प्रहरीले सचेतनामूलक अभियान समेत सञ्चालन गर्दै आएको छ ।janasamsadonline

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button