
डम्बर बराल
धुलाबारी / सरकारले स्वास्थ्य सेवालाई सर्वसुलभ र भरपर्दो बनाउन नीतिगत रुपमा निर्णय गरेर प्रचार–प्रसार तीब्र बनाएपनि आम सर्वसाधारण भने सहज सेवाबाट बञ्चित छन् ।
राज्यले स्वास्थ्य सेवाको नाममा प्रत्येक वर्ष ठूलो धनराशी खर्चिएको छ । तर, जसका लागि लक्षित गरी नीतिगत निर्णय गरिएको हो उनीहरु भने ती सेवाबाट बञ्चित हुनुपरेको छ ।
त्यसको उदाहरण बनेका छन् मेचीनगर–९ का राजेश राजवंशी ।
उनी बुधबार उपचार गराउन धुलाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुगे । सामान्य उपचार र स्वास्थ्य परीक्षण गराउन उनले घण्टौं पर्खिनुपर्र्यो। उनले बल्लतल्ल बिरामीको पूर्जा काटे र, डाक्टरलाई देखाए ।
डाक्टरको परामर्शपछि राजवंशी सरकारले निःशुल्क प्रदान गर्ने औषधि लिन औषधि कक्षतिर गए र, जुकाको औषधि मागे । तर, स्वास्थ्य केन्द्रको स्टोर नभएको थाहा पाएपछि उनले भने–‘सरकारले जुकाको औषधि सित्तैमा दिन्छ भनेको सुनेको थिएँ, तर पाईन् ।’
राजेश एक प्रतिनिधि पात्र मात्र हुन् । उपचार गर्न अस्पताल पुग्ने अधिकाँश सेवाग्राहीले सरकारले निःशुल्क प्रदान गर्ने औषधि पाउन सकिरहेका छैनन् । प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी तथा सरकारी अस्पताल स्थानीय तहको मातहतमा आएसँगै स्वास्थ्य क्षेत्र प्रभावित बन्न पुगेको बताइएको छ ।
सरकारले निःशुल्क रुपमा ७८ प्रकारका औषधि उपलब्ध गराइएको दाबी गरिरहँदा प्राथमिक स्वास्थ्य केन्द्र धुलाबारीमा भने हाल ५÷६ प्रकारका औषधि मात्र उपलब्ध छन् ।
पछिल्लोसमय स्थानीय तहले स्वास्थ्य क्षेत्रको सम्पूर्ण जिम्मेवारी प्राप्त गरेपछि व्यवस्थापनमा समस्या मात्र भएको छैन, आवश्यक कर्मचारीको अभाव र औषधि, उपकरणलगायतका गम्भीर विषयमा ध्यान पुर्याउन नसक्दा आम सर्वसाधारण मारमा परेका स्थानीय प्रकाश खड्का बताउँछन् ।
स्वास्थ्य केन्द्रमा दिनहुँजसो बिरामीको चाप बढिरहँदा उनीहरु औषधि लिनबाट बञ्चित भएका छन् । २ जना डाक्टरसहित १२ जनाको दरवन्दी रहेको उक्त स्वास्थ्य केन्द्रमा ७ महिनायता डाक्टर. छैनन् । अहिले हेल्थ असिस्टेन्ट टेकेन्द्रप्रसाद कोईरालाले सेवा प्रदान गर्दै आएका छन् ।
केन्द्रकी मेडिकल अधिकृत एलिजा गौतम ७ महिना अघिदेखि अध्ययनका क्रममा बिदामा छिन् । सरकारले स्वास्थ्य बिमा लागू गरेपछि उपचार गराउन दैनिक करिब अढाई सयबढी सेवाग्राहीहरु आउने गरेका एच.ए. कोईरालाले बताए ।
‘बिरामीलाई सहज रुपमा सेवा दिन पाइयोस् भन्ने सोचले आएँ’ उनले भने–‘तर, समस्या भने ज्यूँका त्यूँ छन् ।’ स्वास्थ्य क्षेत्रका विभिन्न पक्षको सुधार आवश्यक रहेको कोईराला बताउँछन् । पर्याप्त डांक्टर र भरपर्दो सेवा नपाउँदा अधिकाँश बिरामी उपचार नगराई फर्किन बाध्य छन् भने कतिपय बिरामी पूर्जा नलिई पनि अस्पतालबाट बाहिरीने गरेका छन् ।
उक्त स्वास्थ्य केन्द्रमा अहिले ३ जना एच.ए. छन् । हेल्थ असिस्टेन्ट युवराज काफ्ले असोज १६ गतेदेखि कार्यरत छन् भने अर्का एच.ए. सुरजकुमार भट्ट कात्तिक ३ गते पाँचथरबाट सरुवा भई आएका छन् ।
अस्पताल व्यवस्थापन समितिका अनुसार केन्द्रमा हाल ४ जना अनमी छन् । प्रवाह गरिँदै आएको सेवालाई थप प्रभावकारी बनाउने उद्देश्यले थप ८ जना कर्मचारी नियुक्ती गरिएको छ ।
उनीहरुले न्यून पारिश्रमिकमा सेवा दिँदै आएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवँ मेचीनगर १० का अध्यक्ष सुदय पनेरुले बताए ।
उनले भने–‘आम नागरिक स्वास्थ्य सेवाबाट बञ्चित नहुन् भन्ने उद्देश्यले समितिले सम्बन्धित निकायमा पटक–पटक लिखित र मौखिक आग्रह गरेको छ, तरपनि उपलब्धिमूलक परिणाम आउन सकेको छैन ।’
स्वास्थ्य केन्द्रले ल्याव सेवा र भिडियो एक्सरे सेवा भने नियमित रुपमा सञ्चालन गर्दै आएको छ । मेचीनगरको एकमात्र प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावकारी नबन्दा विपन्न परिवारका सेवाग्राहीले उपचारबाट बञ्चित हुनुपरेको छ । जसका कारण अधिकाँश सेवाग्राही नगर र बाहिरका निजी स्वास्थ्य संस्थामा महँगो शुल्क तिरेर उपचार गराउन बाध्य छन् ।janasamsadonline



