एक समयकी नेपाली फिल्मकी ‘नम्वर वान’ अभिनेत्री रेखा थापाको स्टारडम अहिले भुत्ते भएको छ । कुनै समय उनको अनुहार पोस्टरमा राखेको भरमा फिल्म हेर्न हलमा दर्शकको थामिनसक्नु भीड लाग्थ्यो । तर, अहिले उनको अनुहार विक्न छाडेको छ । ‘तथास्तु’, ‘जाउँ हिँड पोखरा’, ‘मालिका’, ‘रुद्रप्रिया’, ‘डायरी’, ‘पलाँस’ बक्सअफिसमा असफल हुनु यसको प्रमाण हो ।
फिल्मको पर्दामा हिरो अवतारमा प्रस्तुत हुँदा ताली र सिठ्ठी खाँदै एक समय नेपाली फिल्ममा बलियो साम्राज्य बनाएकी उनी अब आफ्नो मुठीबाट उम्किँदै गएको स्टारडम जोगाउने धाउन्नमा छिन् । आफ्नो स्टारडमले हलमा दर्शक तान्न छाडेपछि उनी राजनीतिमा पनि होमिइन् । तर, उनलाई राजनीतिमा आफलाई स्थापित गर्न निकै सकस भइरहेको छ ।
पार्टी परित्याग गर्दागर्दै थाकिसकेकी उनी यस वर्ष नयाँ फिल्म बनाउँदैछिन् । जसको निर्देशन निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राईले गर्दैछिन् । फिल्मको नाम तय भइसके पनि गोप्य राखिएको छ । सम्भवतः मंसिरपछि फिल्मको छायांकन सुरु हुनेछ । फिल्ममा रेखाकै प्रमुख भूमिका रहने चर्चा छ । तर, निर्माण टिमबाट आधिकारिक जानकारी प्राप्त भएको छैन ।
अब चुरो कुरोतिर लागौं । अभिनेत्री रेखा थापाले वर्ष २०७३/७४ मा केही फिल्ममा काम गर्ने निधो गरेकी थिइन् । जुन फिल्मको टाइटल समेत घोषणा गरिएको थियो । वर्ष २०७५ को दशैंमा रिलिज गर्ने गरि उनले फिल्म ‘रत्ना’ को घोषणा गरिन् । जसलाई निर्देशक सबिर श्रेष्ठले निर्देशन गर्ने कन्फर्म भएको थियो । तर, अब यो फिल्म घोषणामै सीमित हुने देखिएको छ ।
वर्ष २०७३ मा उनले ‘कसले चोर्यो मेरो मन’ को सिक्वेल ‘कसले चोर्यो मेरो मन फेरि’ नामक फिल्मको पनि घोषणा गरेकी थिइन् । सबिर नै निर्देशनमा फाइनल भएका थिए । तर, यो फिल्म पनि अहिलेसम्म निर्माण हुन सकेको छैन । किन बनेन ? यसको जवाफ त रेखासँगै होला । तर, फिल्म घोषणा गर्दै थन्काउँदा अहिले उनको बोलीमाथिको विश्वासनियतामा औंला उठेको छ ।
आशा गरौं, रेखाको निर्माणमा रेनशाले निर्देशन गर्ने फिल्म भने घोषणामै सीमित हुनेछैन ।फिल्मीखबर



