नेपाली फिल्म क्षेत्रमा आ आफ्नो विधामा सफल मानिएका थुुप्रै कलाकार, निर्माता, निर्देशक तथा गायक गायिकाको दाम्पत्य जीवन खासै सफल देखिएको छैन । ‘रोमान्स किङ’ को रुपमा चिनिने अभिनेता भुवन केसीको दाम्पत्य जीवन दुवै श्रीमतीसँग टिक्न सकेन । पहिलो श्रीमती विजयासँग छुट्टिएका भुवन दोस्रो श्रीमती सुस्मितासँग पनि छुट्टिए ।
भुवनसँग पहिलो र दोस्रो दुवै श्रीमतीतर्फका सन्तान छन् । केही वर्षयता उनी नेपाली फिल्मकी ‘हट एण्ड बोल्ड’ हिरोइन जिया केसीसँग लिभिङ टूगेदरमा छन् । एक समय नेपाली फिल्ममा बलियो साम्राज्य बनाएकी अभिनेत्री रेखा थापाको दाम्पत्य जीवन पनि सफल बन्न सकेन । उनले निर्माता छवि ओझासँगको १० वर्षे वैवाहिक सम्बन्ध टुंग्याइन् ।
रेखासँग डिभोर्स भएपछि निर्माता ओझाले अभिनेत्री शिल्पा पोखरेलसँग चौथो विवाह गरे । तर, चौथो बैबाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन । अहिले उनीहरु छुट्टा छुट्टै बस्दै आएका छन् । त्यस्तै, एक्सन किङ भनिने अभिनेता शिव श्रेष्ठको पहिलो दाम्पत्य जीवन पनि असफल बन्यो । दोस्रो विवाह गरेर उनी एक सन्तानको पिता समेत भइसकेका छन् ।
दाम्पत्य जीवन असफल हुने कलाकारको सूचीमा अभिनेत्री संचिता लुइँटेल पनि पर्छिन् । पहिलो श्रीमान् आकाश विक्रम शाहसँग छुट्टिएको केही वर्षमै उनले अभिनेता निखिल उप्रेतीसँग दोस्रो विवाह गरिन् । जेठी श्रीमती कोपिलासँग डिभोर्स नभई निखिलले संचितलाई घर भित्राएका थिए ।
अर्की अभिनेत्री रञ्जना शर्माको पनि बैबाहिक जीवन लामो समय टिक्न सकेन । निर्देशक श्याम भट्टराईलाई डिभोर्स दिएर अमेरिका हानिएकी उनले दोस्रो विवाह गरेकी छैनन् । निर्देशक भट्टराईले भने यसै वर्षको दशैंमा दोस्रो विवाह गरेका छन् । एक समयका चर्चित अभिनेत्रीहरु मौसमी मल्ल, गौरी मल्ल, सृजना बस्नेत, पूजा चन्द, सारङ्गा श्रेष्ठको पहिलो दाम्पत्य जीवन पनि असफल बनेको थियो ।
सौजन्य सुब्बा, पूजा लामा, झरना बज्रचार्य, कृति भट्टराईजस्ता अभिनेत्रीको पनि वैवाहिक जीवन सफल हुन सकेन । त्यस्तै, चर्चित पाश्र्व गायकी अञ्जु पन्तले पनि गायक श्रीमान मनोज सेवालाई डिभोर्स दिइन् । गायक यम बरालको बैबाहिक जीवन सफल हुन सकेन ।फिल्मीखबर



