मूल खबर

महराविरुद्ध अभियोगपत्र दायर

रोशनी शाहीमाथि यौन दुर्व्यवहारको आरोप लागेर पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबर्जस्ती करणी उद्योगमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर भएको छ ।

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा नेपाल प्रहरीका दुई असई, एक जना नेपाली सेनाका जमदार, एक प्रहरी हवल्दार र एक सशस्त्र जवानसहित महरा रोशनीको तीनकुनेस्थित सुविधानगर कोठामा पुगेको उल्लेख छ । महरा स्वयमले मदिराको बोतलसमेत लगेको पनि प्रहरी प्रतिवेदनमा खुलाइएको छ ।

अनुसन्धान सकिएपछि प्रहरीले बुझाएको प्रतिवेदनअनुसार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेको हो । अभियोगपत्रमा महरालाई पाँच वर्षसम्म कैदको माग गरिएको छ। साथै, पदीय मर्यादाविपरीत कार्य गरेकाले महरालाई थप सजायको माग भएको छ । उनलाई सरकारी उच्च पदाधिकारी भएकाले थप सजाय हुनुपर्ने अभियोगपत्रमा उल्लेख गरिएको छ।

संसद सचिवालयमा काम गर्ने एक कर्मचारीले महरामाथि जबर्जस्ती करणी प्रयासको आरोप लगाएपछि उनले पदबाट राजिनामा दिएका थिए। त्यसको केही दिनपछि प्रहरीले महरालाई सरकारी निवासबाटै पक्राउ गरेको थियो। अदालतमा अभियोगपत्र दायर भएपछि महरालाई प्रहरीले फेरि थुनामा लगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button