
अभिनेत्री सुरक्षा पन्त र अभिनेता स्वरुप पुरुष ढकालको डेब्यू फिल्म हो, ‘सुस्केरा’ । यो फिल्मको निर्माण भएको तीन वर्ष अगाडि नै हो । तर, विभिन्न कारणले प्रदर्शनमा आउन सकेन । साम्तेन भुटिया निर्देशित फिल्म अब भने प्रदर्शनका लागि तयार भएको छ । निर्माण टिम र वितरकबीच फिल्मलाई आउँदो पौष १८ गतेबाट फिल्म प्रदर्शनमा आउने सहमति भएको छ ।
प्रदर्शनमा ढिलाई भए पनि फिल्मले उठाएको विषयवस्तुमा असर नपर्ने निर्देशक भुटिया बताउँछन् । फिल्म प्रेमकथामा निर्माण भएको उनले बताए । तर, बनिरहेका लभस्टोरी फिल्मभन्दा ‘सुस्केरा’ अलग रहेको उनको दाबी छ । फिल्ममा सुरक्षा र स्वरूपका अलावा मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि मुख्य भूमिका छ ।
फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । अभिनेता ढकालकै संगीत रहेको फिल्ममा पार्श्व संगीत सुजिल कर्माचार्यको छ । एसपी ढकाल र सिके ढकालको निर्माण रहेको फिल्म प्रेम प्राप्तिको लागि युवा युवतीले गर्ने संघर्षको कथामा आधारित छ । यो फिल्मलाई लिएर अभिनेता स्वरुप निकै उत्साहित छन् । दर्शकलाई फिल्म मनपर्ने उनको विश्वास छ ।
यसअघि उनले फिल्म ‘छक्का पञ्जा २’ मा अभिनय गरेका थिए । तर, यो फिल्म सफल भए पनि उनले क्रेडिट पाएनन् । हिन्दी सिरियल ‘गुमराह’ मा समेत अभिनय गरेका उनले फिल्म खेल्न अफर आएपछि ‘सुस्केरा’ अस्वीकार गर्न नसकेको बताउँछन् । अभिनेत्री सुरक्षा पनि तीन वर्षपछि डेब्यू फिल्म प्रदर्शन हुन लाग्दा आफू निकै उत्साहित भएको बताउँछिन् ।फिल्मीखबर



