खबर

काठमाडौँ–तराई द्रुतमार्ग : पुल र टनेलको काम यसै वर्षबाट

काठमाडौँ–तराई जोड्ने निर्माणाधीन द्रुतमार्गमा पर्ने पुल तथा टनेलको निर्माण कार्य यसै आर्थिक वर्षदेखि सुरु हुने भएको छ ।

यस द्रुतमार्गमा निर्माण गरिने विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र गरिने भएको छ । साधारण प्रकृतिका पुल निर्माणका लागि भने स्वदेशी कम्पनी चयन गर्न यसै साताभित्र बोलपत्र आह्वान गरिने उक्त दु्रतमार्ग निर्माणको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले विशेष प्रकृतिका पुल तथा टनेलका लागि अन्तर्राष्ट्रिय निर्माण कम्पनी चयन गर्न मङ्सिर १ गते ‘प्रिक्वालिफिकेसन’ बोलपत्र आह्वान भई पुस १६ गते ‘सर्ट लिस्टिङ’ गरिने स्पष्ट पारे ।

“सबभन्दा पहिले ‘प्रिक्वालिफिकेसन’का लागि बोलपत्र आह्वान गरिनेछ र रुचि देखाएका विदेशी कम्पनीहरूलाई सूचीकृत गरिनेछ,” उनले कार्यविधि स्पष्ट पार्दै भने, “प्रिक्वालिफाइड भएका कम्पनीहरूमध्ये ‘सर्ट लिस्टिङ’मा परेका कम्पनीहरूले माघभित्र आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गर्नेछन् र यस आर्थिक वर्षको असारसम्म निर्माण कम्पनीसँग सम्झौता गरी काम पनि सुरु गर्नेछन् ।”

त्यसैगरी साधारण पुल निर्माणका लागि यो वर्षको फागुनसम्म स्वदेशी निर्माण कम्पनी चयन भई सम्झौता भई काम सुरु भइसक्ने जानकारी सैनिक प्रवक्ता पाण्डेले दिए । द्रुतमार्गमा परेका कुल ८७ वटा पुलमध्ये अन्तर्राष्ट्रिय कम्पनीले विशेष प्रकृतिका १६ वटा पुल र तीनवटा टनेल निर्माण गर्नेछन् भने बाँकी पुलको निर्माण स्वदेशी कम्पनीले गर्नेछन् ।

साधारण प्रकृतिका पुलहरू निर्माणका लागि बोलपत्र आह्वान गर्न ‘डकुमेन्ट’ तयारीको काम भइरहेको छ । स्वीकृत विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार द्रुतमार्गमा जम्मा ८७ वटा पुल प्रस्ताव गरिएकोमा १६ वटा विशेष प्रकृतिका रहेका छन् । त्यसैगरी तीनवटा टनेल प्रस्ताव गरिएको छ । विशेष प्रकारका पुल र टनेल निर्माणको जिम्मा विदेशी कम्पनीलाई मात्र दिनसक्ने नेपाली सेनाले स्पष्ट पारेको छ । आजको गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button