मूल खबर

भारतीय साम्राज्यवादी अतिक्रमण तथा हस्तक्षेपको सशक्त विरोध गरौं – थपलिया

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघले भारतद्वारा भर्खरै सार्वजनिक गरिएको नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रलाई भारतीय भूमिको रूपमा चित्रण गरिएको दुष्कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको र भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि गरिएको नाङ्गो, भद्दा र निकृष्ट अतिक्रमणको तीव्र विरोध एवम् भत्र्सना गरेको छ । अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले बुधबार वक्तव्य निकाली सार्वभौमिकताभित्र पर्ने कालापानी, लिपु र लिम्पियाधुरा क्षेत्रको सार्वभौमिकता चीनले स्वीकार गरेको सन्दर्भमा सोही विषयमा भारतसँग विवाद कायम रहेको अवस्थामा नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकता विपरीत फेरि सोही भूमि अतिक्रमण हुनु पञ्चशीलको सिद्धान्त विपरीत कार्य पनि हो । भारतीय साम्राज्यवादद्वारा नेपाली भूमिको अतिक्रमणको सन्दर्भमा यथाशीघ्र वास्तविकतालाई जनसमक्ष ल्याउन सम्बन्धित पक्षसित जोडदार माग गर्दै यसप्रकारको भारतीय साम्राज्यवादी अतिक्रमण तथा हस्तक्षेपको सशक्त विरोध गर्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी र बौद्धिक–प्राज्ञिक क्षेत्रका सबै समुदायसित हार्दिक अपीलसमेत गरेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियालले वक्तव्यमा भनेका छन्, ‘दक्षिणी छिमेक भारतद्वारा भर्खरै सार्वजनिक गरिएको उसको नयाँ नक्सामा नेपालको लिम्पियाधुरादेखि लिपुलेकसम्मको समग्र कालापानी क्षेत्रलाई भारतीय भूमिको रूपमा चित्रण गरिएको दुष्कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यो भारतीय साम्राज्यवादद्वारा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतामाथि गरिएको नाङ्गो, भद्दा र निकृष्ट अतिक्रमण हो । हाम्रो सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ भारतीय साम्राज्यवादद्वारा लिपुलेकलगायतका भू–भागमा गरिएको अतिक्रमणको तीव्र विरोध एवम् भत्र्सना गर्दछ ।’

महासंघका महासचिव थपलियाले वक्तव्यमा अगाडि भनेका छन्, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका बेला भारत र चीनबिच भएको ४१ बुँदे सम्झौताको २८ औँ बुँदामा ‘भारत र चीन लिपुलेक नाकाबाट सीमा व्यापार बढोत्तरीका लागि काम कुरो गर्न मञ्जुर भएका छन्’ भनिएको सन्दर्भमा पनि हामीले त्यतिबेला नै नेपाली भूमिमा भारतीय अर्धसैनिक दस्ता रहेको कालापानी–लिम्पियाधुराको त्रिदेशीय क्षेत्रमा पर्ने भारत–नेपालबिच विवादित लिपुलेकलाई व्यापारिक नाकाको रूपमा विकास गर्ने भन्ने कुरा नेपालको लागि निकै संवेदनशील विषय भएको कुरा स्मरण गराएका थियौँ । पछि नेपालको सार्वभौमिकताभित्र पर्ने कालापानी, लिपु र लिम्पियाधुरा क्षेत्रको सार्वभौमिकता चीनले स्वीकार गरेको सन्दर्भमा सोही विषयमा भारतसँग विवाद कायम रहेको अवस्थामा नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकता विपरीत फेरि सोही भूमि अतिक्रमण हुनु पञ्चशीलको सिद्धान्त विपरीत कार्य पनि हो ।’

महासचिव थपलियाले वक्तव्यमा अगाडि भनेका छन्, ‘नेपाल आज घरेलु राजनीतिका साथै बाह्य राजनीतिको पनि गम्भीर चपेटामा परिरहेको छ । नेपाल शासकहरू देशभक्त तथा क्रान्तिकारीहरूलाई जेल–हिरासतमा कोच्न व्यस्त छन् । एउटा ‘कम्युनिस्ट’ पार्टीले अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउनेजस्तो अनौठो र अनैतिक कार्य पनि नेपालमै भइरहेको छ । नेपालको फासिवादी तथा दलाल संसदीय राजनीति असफलताको डिलमा पुग्नै लागेको यतिबेला, नेपाली ‘मूलधार’ का राजनीतिज्ञहरूको असफलता र अविश्वास उत्कर्षतिर पुग्नै लागेको यतिबेला भारतीय पक्षबाट नेपाली भूमिमाथिको अतिक्रमणले एकैपटक धेरै प्रश्न उब्जाइदिएको छ । अमेरिकी र भारतीय साम्राज्यवादद्वारा भर्खरै सम्पन्न चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको सन्दर्भमा अनेक बखेडा निकाल्नुले यो क्षेत्रको भावी राजनीतिक सम्भावनालाई नै इङ्गित गर्दछ।’

महासचिव थपलियाले वक्तव्यको अन्त्यमा भनेका छन्, ‘तसर्थ, भारतीय साम्राज्यवादद्वारा नेपाली भूमिको अतिक्रमणको सन्दर्भमा यथाशीघ्र वास्तविकतालाई जनसमक्ष ल्याउन पनि हामी सम्बन्धित पक्षसित जोडदार माग गर्दछौँ । साथै, हाम्रो सङ्गठन यसप्रकारको भारतीय साम्राज्यवादी अतिक्रमण तथा हस्तक्षेपको सशक्त विरोध गर्न सम्पूर्ण देशभक्त, क्रान्तिकारी र बौद्धिक–प्राज्ञिक क्षेत्रका सबै समुदायसित हार्दिक अपील पनि गर्दछ ।’२०७६, २१ कार्तिक बिहीबार ०८:५५ ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button